काठमाडौँ : तत्कालिन नेकपा माओवादीले जनयुद्धको बेला धेरै क्रान्तिकारी कदमको सुरुवात गरेको थियो । सार्वजनिक विद्यालयमा नैतिक शिक्षाको पठनपाठन बन्द गराएको माओवादीले जनवादी शिक्षा सुरुवात गरेको थियो ।
त्यतिबेला उसले देशमा बुर्जुवा शिक्षा खारेज गरेर वैज्ञानिक शिक्षा लागू गर्ने उद्घोष पनि गरेको थियो । कर्णालीमा अझ यो नारा चर्कोसँग उठ्यो । धेरैले माओवादीको यी नारा पत्याएरै पढाई छाडेर जनयुद्धमा लागेका थिए ।
तर अहिले अवस्था भने ठीक उल्टो छ । माओवादीले जनवादी शिक्षा लागू गरेको स्कुलले अहिले बुर्जुवा शिक्षा नै पढाईरहेका छन् । अनि उनीहरुले खोलेका विद्यालय अलपत्र परेका छन् । केही ठाउँमा जनवादी शिक्षा लागू गरेका विद्यालय अलपत्र पर्दा केही स्तरान्नोती पनि भएका छन् ।
खासगरी यी काम नेताहरुमा भर परेका छन् । जाजरकोटबाट जनयुद्धको बलिदानमा उदायका नेता शक्ति बस्नेत तीन पटक मन्त्री भए । गृहमन्त्रीसहित उनी तीनपटक मन्त्री भए । जाजरकोट लगायत कर्णालीको विकासमा उनको ठूलो योगदान रहेको चर्चा सुनिन्छ । खासगरी उनका कार्यकर्ता यो दाबी गर्छन् ।
तर एउटा पुरानो प्रसंग कोट्याउने चर्चा पनि सुरु भएको छ । शक्तिले कुनै बेला जाजरकोटमा जनवादी शिक्षा लागू गर्ने भनेर खोलेको विद्यालय अहिले जीर्ण र भत्किएको अवस्थामा छ । न त त्यो विद्यालय बनेको छ ।
न त त्यो विद्यालयमा पठनपाठन भएको छ । बरु खोलिएको विद्यालय नै बन्द भएको छ । जुनी मावि सिर्केमा रहेको यो विद्यालय त्यतिबेला व्यक्तिको जग्गा कब्जा गरेर बनाइएको थियो । तर अहिले यो विद्यालयमा व्यक्तिको खेतीपाती छ । विद्यालय गायब छ । यो जीर्ण भवनमा एक समय निजी स्कुल समेत खोलिएको थियो ।
त्यही ठाउँमा अहिले जुनी बालसंरक्षण मावि विद्यालय खोलिएको छ । नलगाँड नगरपालिका ५ सिर्केमा यो विद्यालय अवस्थित छ । तर त्यतिबेला शक्ति बस्नेतले खोलेको जनवादी स्कुलको भग्नावशेष राखेर जुनी माविको नयाँ विद्यालय खोलिएको हो ।
ठीक त्यतिबेला कर्णालीका टावर लिडर मानिने कालिकोटका खड्ग विश्वकर्मा प्रकाण्डले पनि स्कुलमा जनवादी शिक्षा पढाउन लगाएका थिए । कालिकोटको नरहरिनाथ २ मा रहेको नन्दादेवी माध्यामिक विद्यालयमा प्रकाण्डले सुरु गरेको जनवादी शिक्षा पनि त्यति सफल भएन । तर उनले त्यो स्कूललाई अगाडि बढाउन भने सहयोगी भूमिका खेले ।
त्यही नन्दादेवी मावि भने यतिबेला मायामिक विद्यालय बन्यो । कक्षा १२ सम्म पढाई भइरहेको छ । यो स्कुलको विकास हुनुमा प्रकाण्डकै हात छ । कालिकोटका एक शिक्षाप्रेमी जीपी भट्टराईका अनुसार संसदीय व्यवस्था विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीमा लागेका प्रकाण्ड यदि साच्चै फेरि मन्त्री बनेको भए यो स्कुलको सुधार झन धेरै गर्न सक्ने थिए ।
तर तीनपटक मन्त्री बनेका शक्ति बस्नेतले भने यो विद्यालय बनाउन नसकेको चर्चा छ । भट्टराई सामाजिक सञ्जालमा लेख्छन्, 'तत्कालिन माओवादीले जनवादी शिक्षा पढाउने भनेर जाजरकोटमा खोलेको स्कुल हाल जीर्ण अवस्थामा छ । त्यहॉका नेता शक्ति बस्नेत तीन पटक मन्न्री भएर पनि यो स्कूल तिरस्कृत छ। सायद औचित्य रहेन अहिले।'
उनले थप अगाडि लेखेका छन्, 'अर्को कालिकोटको नरहरिनाथ गाउपालिका ६ मा रहेको नन्दादेवी मावि हो । जहाँ तत्कालीन जनयुद्ध तथा आन्दोलनको बेला जनवादी शिक्षा पढाई हुन्थ्यो । एक पटक मात्र मन्त्री बनेका खडक विश्वकर्मा प्रकाण्ड अहिले १२ सम्म पढने बनाए । अहिले उनी यो राजनीति व्यवस्थाका विरोधी हुन् । यदि उनी शक्ति बस्नेतले जस्तो शक्ति पाएको भय एक नमूना विद्यालय पक्कै बनाउथे होला ।'