काठमाडौँ : माओवादीले केन्द्रले बाँडफाँट गरेको नयाँ जिम्मेवारीमा कर्णाली प्रदेशमा एकल जातीय नेतृत्व रहेको पाइएको छ । जहाँ बाहुन र क्षेत्री समूदाय हावी हुँदा दलित, जनजाती र अल्पसंख्यक शून्य जस्तै देखिएको छ ।
कर्णालीमा शक्ति बस्नेतलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । जनार्दन शर्मा अर्थमन्त्री बनेपछि प्रचण्डले शक्तिलाई कर्णाली प्रदेशको इन्चार्ज बनाएका हुन् । यस्तै जाजरकोटकै कालीबहादुर मल्ल सहइन्चार्ज बनेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सहइन्चार्ज छन् भने अर्का सहइन्चार्ज टेकबहादुर बस्नेत छन् । तीन जना सहइन्चार्जमा एक जना पनि महिला र दलित समूदायका छैनन् । यस्तै जनजाती पनि माओवादीको कर्णाली प्रदेशको नेतृत्वमा देखिएका छैनन । अर्थात दलित, महिला र जनजातीलाई माओवादीले कर्णालीको नेतृत्वमा निषेध गरेको देखिन्छ ।
यस्तै कर्णालीको अध्यक्षमा राजकुमार शर्मा छन् । सचिवको जिम्मेवारी भने रामदिप आचार्यलाई दिइएको छ । इन्चार्ज र अध्यक्षको जिम्मेवारी उनीहरुको क्षमताअनुसार दिइएपनि सहइन्चार्ज र सचिवको जिम्मेवारी बाँडफाँट गर्दा अलिकति पनि सोचिएको छैन ।
जहाँ, कर्णाली प्रदेशको सम्पर्क समितिको इन्चार्जमा शक्ति बस्नेत पत्नी सत्य पहाडीलाई जिम्मेवारी दिइएको छ । जनयुद्धदेखि संविधान र अहिलेको संघीय संसदमा पनि सत्य पहाडीको भूमिका कम महत्वपूर्ण छैन । उनलाई इन्चार्ज दिनु उनको क्षमताको विषय हो । यसमा शंका छैन ।
तर, पद बाँडफाँट गर्दा प्रचण्डले आफन्त र उनीहरुकै परिवारवाद हावी गराएको देखिन्छ । श्रीमान शक्ति बस्नेत कर्णालीको इन्चार्ज बन्दा उनकी श्रीमति सत्य कर्णाली प्रदेश सम्पर्क समिति इन्चार्ज बनेकी छन् । नेतृत्व लिँदा अलिकति पनि जनयुद्धमा बलिदान, क्षेत्रीयता, लैंगिक समानता र आरक्षणलाई महत्व दिइएको पाइँदैन ।
माओवादी नेताहरुकै दाबीमा प्रचण्डकै कारण नेपालमा समानुपातिक पद्धति लागू भयो । उनले दलित, महिला र अल्पसंख्यकलाई राज्यको शासकीय नेतृत्वमा ल्याए । देशमा संघीयता ल्याए । संविधान पनि लेखे । गणतन्त्र ल्याउनुमा प्रचण्डले नै नेतृत्व गरेको माओवादीको प्रमुख हात छ ।
तर, उनै प्रचण्डले जनयुद्धको जग कर्णालीको नेतृत्वमा जिम्मेवारी बाँडफाँट गर्दा समानुपातिक, समावेशी र आरक्षणलाई पूर्ण रुपमा बेवास्ता गरेको देखिन्छ । संविधानमा राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ । नेतृत्वमा झन् यो विषय महत्वपूर्ण हो ।
तर, नयाँ संविधानमा यति राम्रो व्यवस्था गरेका प्रचण्ड स्वयंमले भने कर्णालीमा संविधान उल्लंघन गरेका छन् । त्यसरी संविधान उल्लंघन गर्ने प्रचण्ड मात्रै थिए वा त्यो जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डलाई संविधान उल्लंघन गर्न बाध्य पार्ने एकल जातीय स्वभाव भएका नेता ? हिजो क्रान्ति र परिवर्तनका लागि रगत पसिना बगाएका आम जनता, नेता र कार्यकर्ताको यही प्रश्न छ ।