काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको चौकुने गाउँ कमीटिले विपन्न परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरेको छ । चौकुने गाउँ कमीटिका १० वटै वडामा मंगलबार एकैसाथ बसेको गाउँ कमीटिको बैठकले विपन्न परिवारको एकिन तथ्यांक संकलन गरी तत्काल राहत उपलब्ध गराउन चौकुने गाउँपालिकालाई आग्रह गरेको हो ।
चौकुने गरीब, दलित र विपन्न घर परिवारको बाहुल्यता रहेको पालिका भएकाले लकडाउनले गर्दा उनीहरु समस्यामा परेका र तत्कालै तथ्यांक संकलन गरेर राहत दिनुपर्ने आवश्यक भएको गाउँ कमीटिको निष्कर्ष छ । पालिकाले अहिलेसम्म जनचेतना फैलाउने, साबुन र मास्क बाडेर पर्याप्त काम गरेपनि अब आधारभुत आवश्यककै परिपूर्ति गर्ने बेला आएको गाउँ कमीटिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गाउँ कमीटिका सचिव हरि अधिकारीका अनुसार चौकुनेबाट बाहिर रहेका मानिसको पनि अवस्था हेरेर उद्धार गर्न पालिकालाई आग्रह गरिएको छ । साथै चौकुने कोरोना राहत कोषमा १० वटा वडाका सदस्यले एक हजार रुपैयाँका दरले सहयोग गर्ने पनि बैठकले निर्णय गरेको सचिव अधिकारीले बताए ।
अहिलेसम्म गाउँपालिकाले गरेका राम्रा कामका लागि धन्यवाद व्यक्त गर्दै बैठकले अबका दिनमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय नेता, नागरिक समाज सबैको सहयोग लिएर कोरोनाविरुद्धको लडाईमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ ।
साथै अहिले लकडाउनका बेला घरमै बसेर आफु बच्न र अरुलाई बचाउन सहयाग गर्न पनि गाउँ कमीटिले सबैलाई आह्वान गरेको छ ।
चौकुने गाउँ कमीटिले जारी गरेको विज्ञप्ती