काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसका मातहतका निकायहरूको वित्तीय र भौतिक लक्ष्यलाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज मन्त्रालय बसेको बैठकमा मातहतका अधिकांश निकायका प्रगति विवरण सन्तोषजनक रहेको भए पनि आगामी दिनमा वित्तीय र भौतिक लक्ष्यबीचको सन्तुलनलाई कायम गरी लक्षित योजना र कार्यक्रमलाई कार्यान्वयनमा लैजान आ–आफ्ना निकायहरूबाट भए गरका कार्यहरूबारे सम्बन्धित निकायका प्रमुखहरूले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थाले लक्ष्यअनुसार नै मुनाफा आर्जन गर्न सक्नुपर्नेमा जोड दिए ।
उनले ‘सरकारी सञ्चार माध्यमहरू जनतालाई सरकारले गरेका कामहरूको बारेमा सुसूचित गर्नुसँगै आर्थिक रूपमा पनि सबल रहनुपर्छ । उनले पहिलो चरणमा मुख्य आर्थिक क्रियाकलाप हुने शहरी एवं व्यापारिक क्षेत्रमा इ–कमर्शलाई कार्यान्वयनमा ल्याउन पर्ने र क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लैजान सकिने धारणा राखे । मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले समीक्षा अवधिमा मन्त्रालय र मातहतका अधिकांश निकायको वित्तीय र भौतिक प्रगतिबीच सन्तुलन कायम हुन नसकेको उल्लेख गर्दै बेरुजु फस्र्योटलाई उच्च दरमा वृद्धि गरी आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । सरकारी सञ्चार माध्यमहरूले छिटो, तथ्यपरक र वस्तुनिष्ठ ढङ्गबाट सूचना सम्प्रेषण गरी सरकार र जनताबीच समन्वयकारी भूमिका निर्वाह गर्न पर्दछ ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव कृष्णबहादुर राउतले इन्टरनेटको सेवा प्रदायकहरूको गुणस्तर बढाउनुपर्ने, चलचित्रमार्फत देशको सांस्कृतिक सम्पदालाई अन्तरराष्ट्रिय स्तरमा बिक्री गर्नुपर्ने, डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने र सरकारी खरीद प्रक्रियालाई सरलीकृत गराउँदै लैजानुपर्ने सुझाव दिए । राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेतीले सरकारका सम्पूर्ण गतिविधिहरूलाई जनतासम्पक्ष पुर्याउने आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि र चलचित्र क्षेत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग रहेकाले सरकारको सफलता यस मन्त्रालयसँग जोडिएको उल्लेख गर्दै डिजिटल नेपाललाई कार्यान्वयन गर्न अन्य मन्त्रालयहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
अर्थ मन्त्रालयका उपसचिव विश्ववन्धु पौडेलले चालु आव १५औँ योजनाको अन्तिम वर्षसमेत भएकाले योजनामा उल्लेखित लक्ष्य हासिल हुने गरी योजना र कार्यक्रमको तर्जुमा र त्यसको पूर्ण कार्यान्वयन गर्न ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव मुकुन्द शर्माले मन्त्रालय र मातहतका निकायहरूको वार्षिक प्रगति समीक्षा तथा तेस्रो चौमासिकको विनियोजन र प्रगतिलगायत विषयमा प्रस्तुतीकरण गरे ।
उनले पहिलो प्राथमिकतामा परेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको प्रगति, डिजिटल नेपालको प्रगति स्थिति, नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित कार्यक्रमहरूको वार्षिक प्रगति विवरण, आव २०७७/७८ को मुख्य उपलब्धिहरू, राजस्व र आम्दानी तथा बेरुजु फछ्र्योटको अवस्थाबारे जानकारी दिए । विगतमा चौमासिक रूपमा समीक्षा गरिँदै आएकामा यसै आवदेखि त्रैमासिक रूपमा प्रगति समीक्षा गरिने जनाइएको छ । रासस