काठमाडौ । वैदेशिक रोजगारीका लागि कोरियामा रहेका सुर्खेत घाटगाउँका युवाले राहतस्वरुप एक घर, एक आयो नुन वितरण गर्ने भएका छन । कोरोना महामारीका कारण लकडाउनमा बसेका गाउँका मानिसहरुका लागि युवाहरुले सहयोग रकम उठाएर राहत स्वरुप नुन वितरण गर्न लागेका हुन ।
कोरियामा रहेका १० जना युवाको समुह घाटगाउँ कोरियन ग्रुपले लकडाउनमा ढुवानी बन्द हुँदा नुनसम्म नपाइने र बजारमा महंगो हुने भएकाले आयोडिन नुन वितरण गर्न लागेको हो । यसका लागि रकम नेपाल पठाइसकिएको र केही दिनमै साबिकको घाटगाउँ गाविसका १४ सय घरधुरीलाई वितरण गरिने ग्रुपका सक्रिय सदस्य प्रवीण शाहीेले बताए ।
यो राहत चौकुने गाउँपालिकामार्फत वडा नम्बर ९ र १० को समन्वयमा वितरण गरिनेछ । राहत रकम स्थानीय सरकारमार्फत मात्रै वितरण गर्न पाइने भएकाले गाउँपालिका अध्यक्ष धीरबहादुर शाही, वडाध्यक्ष नवराज आचार्य र शंकर टमाट्टामार्फत वितरण गरिनेछ ।
आयो नुन नै किन ?
लकडाउनका बेला घाटगाउँमा भोकमरी निम्तिन सक्ने खतरा छ । भारत लगायतका देशमा रोजगारीका लागि पुगेका युवाहरुले पनि लकडाउनका कारण घरमा पैसा पठाउन नसकिरहेका बेला खाद्यान्नको अभाव हुन सक्ने अनुमान छ ।
अहिलेसम्म स्थानीय सरकारले पनि राहतको कुनै पहल र कार्यक्रम ल्याएको छैन । दैनिक भारत लगायतका देशमा मजदुरी गरेर घरमा परिवार पालेकाहरुका लागि झन खानेकुरा अभाव बढ्दै जाने समस्या ज्यु का त्यु छ । यस्तो बेलामा कोरियामा रहेका युवाहरुले गाउँमा घर घरै कम्तीमा पनि आयोडिन नुन वितरण गर्ने योजना अघि सारेका हुन । लकडाउनले गाउँ नै ठप्प भएका बेला नुन मात्रै किन ?
कोरियाबाट सहयोग रकम संकलन गरेर नुन वितरणको योजना बनाएका घाटगाउँका युवा प्रवीण शाही भन्छन, "अहिले पनि गाउँका धेरै जना ढिके नुनमा निर्भर छन । यस्तो बेला आयोडिन नुनको मुल्य बढ्न सक्छ । त्यसमाथि गाउँमा ढुवानी नहुँदा सबैभन्दा ठूलो समस्या भनेकै नुन र तेलको हुने गर्दछ । त्यसैले यो शुरुवाती काम भएकाले आयोडिन नुन वितरण गर्न लागेका हौ ।"
रोजगारीका लागि कोरिया पुगेका युवाहरुले आफु टाढा भएपनि गाउँका लागि केही न केही काम गर्न चाहन्छन । यसको शरुवात सानैबाट गरौ भनेर आयोडिन नुनको प्याकेट वितरण गर्न लागिएको युवाहरुको भनाई छ ।
यसरी सहयोग गर्नेमा सुर्खेत घाटगाउँ घर भएका आशाराम ढुंगाना, प्रशान्त शाही, भक्त खनाल, प्रवीण शाही, टेकेश थापा, जनक थापा, महेन्द्र ढुंगाना, पदम बुढाथोकी, शिव शाही र कमल राना रहेका छन ।
दाने सुजीलाई राहत रकम सहयोग
यसैबीच कोरियामा रहेका ५ जना युवाहरुले भारतमा रोजगारीका क्रममा हात गुमाएका दाने सुजीलाई आर्थिक सहयोग पनि गर्ने भएका छन । उनीहरुले यसका लागि केही रकम नेपाल पठाइसकेको र केही दिनमा हस्तान्तरण गर्ने पनि बताएका छन ।
लामो समयदेखि भारतमा काम गरिरहेका सुजीको दुई महिनाअघि कामको क्रममा दुर्घटना हुँदा हात गुमेको थियो । हात नै नभएपछि उनी गाउँठाउँकै आफन्तको सहयोगमा घर फर्किएका छन । घरमा पनि हात नहुँदा रोजगारी नभएकाले समस्यामा परेका उनलाई आर्थिक सहयोग दिन लागिएको युवाहरुको भनाई छ ।
घाटगाउँकै युवा आशाराम ढुंगाना, प्रवीण शाही, प्रशान्त शाही, भक्त खनाल र शिव शाहीले सहयोग रकम पठाएका हुन । सुजीलाई कति रकम दिने भनेर खुलाइएको छैन । यसअघि गाउँमै आगलागी पीडितलाई पनि कोरियामा रहेका युवाहरुले सहयोग गरेका थिए ।