काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमीटि बैठक बोलाउन नेताहरुले माग गरेका छन । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र लेख्दै तत्काल स्थायी र केन्द्रिय समिति बैठक बोलाउन नेताहरुले माग गरेका हुन । बैठकको मुख्य एजेन्डा कोरोना संक्रमण र सरकारले ल्याएको अध्यादेशको विषय हुनुपर्ने पनि उनीहरुको माग छ ।
बुधबार अध्यक्षद्धयलाई पठाइएको पत्रमा २० जना स्थायी समिति सदस्यको नाम छ । पत्रमा हस्ताक्षर गर्नेमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन ।
अध्यादेशको चौतर्फी विरोध र कोरोना संक्रमणको चिन्ता भइरहेका बेला बैठकबाटै यसका विरुद्ध संयुक्त रुपमा लड्नुपर्ने उनीहरुको भनाई छ । बुधबार नै पार्टी स्थापना दिवसका अवसरमा अध्यक्षद्धय ओली र प्रचण्डले सांसदहरुलाई बालुवाटार बोलाएर ब्रिफिंग गरेका थिए ।