काठमाडौं : कर्णालीको पर्यटन क्षेत्र अहिले पनि भर्जिन छ । कर्णालीको पर्यटनका बारेमा धेरै बहस अझै हुन सकेको छैन । जति भएको छ, त्यो सैद्धान्तिक र यसको सम्भावनाका विषयमा भइरहेको छ । ती सम्भावनालाई पनि पर्याप्त रुपमा प्रचार प्रसार भएको छैन ।
कर्णालीमा सामान्य घुमघामदेखि बसाईको पर्यटनका बारेमा मात्रै धेरै बहस भएको सुनिन्छ । तर त्यसबारे पनि गहिरोसँग घनीभूत बहस भएको देखिदैन । कर्णाली प्रदेश सरकारले लामो समय लगाएर कर्णालीमा पर्यटनका विभिन्न सम्भावनारे उजागर गरेको देखिन्छ ।
कर्णालीमा जलयात्रा, पदयात्रा, जनयुद्ध पर्यटनदेखि हनिमुन पर्यटनका बारेमा पनि कर्णाली प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरेको देखिन्छ । तर त्यसको प्रचार प्रसार नहुँदा कर्णालीको असीमित पर्यटन सम्भावना ओझेलमै छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीमा १५ वटा पर्यटन सम्भावनाबारेमा केही विवरण सार्वजनिक गरेको छ । गएको वर्ष नै सार्वजनिक गरिएका पर्यटन सम्भावनालाई पर्यटक आकर्षण गर्ने विषयका रुपमा पनि प्रस्तुत गरिएको छ । जुन यसप्रकार छन्ः
कर्णालीका १५ पर्यटन सम्भाव्यता र सम्भावना
१. पद यात्रा पर्यटन
कर्णाली पदयात्राका लागि चर्चित हुन सक्छ । खासगरी कर्णालीका हिमाली जिल्लाहरु पदयात्राका लागि विशेष छन् । नेपालमा पदयात्राका लागि अन्नपूर्ण बेस क्याम्प चर्चित मानिएपनि कर्णालीको पदयात्रा त्यो पनि उत्कृष्ट छ । जसको पर्याप्त सम्भावना र प्रचार भएको छैन ।
कर्णाली प्रदेशमा गरिएको विज्ञहरुको अध्ययनले डोल्पा, हुम्ला, मुगु र जुम्लामा पदयात्रा धेरै नै विकास गर्न सकिने सम्भावना छ । त्यसमध्ये पनि हुम्ला, मुगु र डोल्पा विशेष हुन सक्छ । हुम्लाको मानसरोवर दर्शन गर्न, मुगुको राराताल जान र डोल्पाको फोक्सुन्डो ताल हेर्न अहिले पनि धेरै जना पदयात्रा गर्ने गरेका छन् ।
२. साहसिक पर्यटन
कर्णालीमा सम्भावना भएको अको पर्यटन क्षेत्र हो, साहसिक । जुन पदयात्रा जस्तै हो । कर्णालीको हिमाली क्षेत्रमा चढ्ने, आफूलाई साहस भर्ने र ती अग्ला क्षेत्रमा बन्जी, जीपलाइन जस्ता पर्यटकीय सम्भावनाका क्षेत्रहरु निर्माण गर्न सकिन्छ ।
हप्तौ लगाएर गरिने पदयात्रापछि साहसिक पर्यटनले पर्यटकमा नयाँ उर्जा भर्छ । जसले त्यो पर्यटन क्षेत्रमा फेरि फेरि जाने कारण पनि बनाउँछ । कर्णालीको साहसिक पर्यटनबारे पनि त्यति छलफल र बहस भएको छैन ।
यसका लागि विज्ञहरुले डोल्पा, हुम्ला र रुकुम, कालिकोटलाई उपयुक्त क्षेत्रका रुपमा ठहर्याएका छन् ।
३. खेलकुद पर्यटन
कर्णालीका १० वटै जिल्लामा खेलकूद पर्यटनको सम्भावना नभई वर्तमान अवस्थामै लोकप्रिय हो । सबैजसो जिल्लामा हुने खेलकूद प्रतियोगिता उत्तिकै महत्वपूर्ण र विशेष छन् । खेलकुदमार्फत पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पर्यटनलाई बढाउन सहयोग पुग्छ ।
यसका लागि प्रदेश सरकारले बजेट बढाएर तीन तीन महिनाको बीचमा खेलकुद प्रतियोगिता गर्दा राम्रै हुन्छ । तर यसतर्फ पनि सरकार र सरोकारवालाको ध्यान पुगेको छैन । जति भएको छ । त्यो पर्याप्त छैन ।
४. धार्मिक पर्यटन
कर्णालीका १० वटै जिल्लाहरुमा धार्मिक महत्व र मठ मन्दिर छन् । त्यतिमात्रै होइन बौद्धको विशेष झुकाव र क्षेत्र पनि कर्णालीमा छ । तर त्यसबारेमा पर्याप्त छलफल भएको छैन । हरेक जिल्लामा रहेका धार्मिक क्षेत्रको प्रचार प्रसार र पर्यटन चहलपहल भएको खण्डमा पनि धेरै महत्व बढ्छ ।
खासगरी हुम्ला हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकका लागि कर्णाली नयाँ र चर्चित गन्तव्य हो । त्यसबाहेक हुम्ला, डोल्पा, सल्यान सुर्खेत, दैलेख लगायतको जिल्लामा पनि धार्मिक पर्यटन चर्चित छ ।
५. कृषि पर्यटन
कर्णालीको मार्सी नेपालमा मात्रै होइन, विश्वमै चर्चित छ । जुम्लामा रोपिने मार्सी चामलको पर्याप्त बजार र थप सम्भावना बाहिर ल्याउन जरुरी छ । त्यसबाहेक सबै जिल्लाको कृषि पर्यटनलाई पनि महत्व दिएर आवश्यक प्रचार प्रचार गर्न आवश्यक छ ।
६. जल यात्रा पर्यटन
भेरी र कर्णाली नदी सबैभन्दा धेरै चर्चा हुन्छ । नेपालकै यी लामा र विशेष नदीमा धेरै जस्तो र्याफिटङ हुन्छ । यो पर्यटन अहिलेसम्म सबैभन्दा धेरै विदेशीले प्रयोग गर्दै आएका छन् । स्वदेशीले यस विषयमा धेरै सोचेको, छलफल गरेको व्यवसाय सञ्चालन गरेको कम देखिन्छन् ।
डोल्पाबाट रुकुम, जाजरकोट, सल्यान सुर्खेत भएर बग्ने भेरी नदीमा र्याफिटङ चर्चित छ । यस्तै हुम्लाबाट बग्ने कर्णाली नदी कालिकोट, दैलेख, सुर्खेत हुँदै कैलाली भएर भारतसम्म पुग्छ । नेपालमा सबैभन्दा लामो जलयात्रा कर्णाली नदीमा हुने गरेको छ ।
भेरी र कर्णाली नदीमा जति जल पर्यटन व्यवसाय छ । त्यो सीमित ठाउँमा छ । यसको बारेमा सरकारले सहुलियतपूर्ण अनुदान कार्यक्रम ल्याएर सञ्चालन गर्न आवश्यक देखिन्छ ।
७. साँस्कृतिक पर्यटन
कर्णालीमा आफ्नै किसीमको संस्कृति छ । आफ्नै रहनसहन छ । आफ्नै संस्कृति छ । भाषादेखि लिएर हरेक कुरा कर्णालीको फरक छ । यसका लागि सल्यान, सुर्खेत, हुम्ला, डोल्पा र मुगु विशेष हुन सक्छ । तर यसबारेमा पनि गम्भीर र विशेष छलफल हुन बाँकी छ ।
८. हनिमुन पर्यटन
कर्णालीमा सबैभन्दा धेरै सम्भावना रहेको हनिमुन पर्यटन हो । तर आवश्यक भौतिक संरचना नहुँदा यो पर्यटन ओझेलमा छ । विवाह गरेपछि मानिसहरु एक महिनाका लागि कतै टाढा जाने गर्छन । यसका लागि कर्णाली उपयुक्त गन्तव्य बन्न सक्छ ।
मुगको राराताल, जुम्लाको सिंजा, पाटन, अपर डोल्पो, सल्यान कुपिन्डे ताल हनिमुनका लागि विशेष ठाउँ बन्न सक्छ । तर होटल लगायत संरचनाको विकास नहुँदा यो पर्यटन पनि ओझेलमा छ ।
९. युद्व पर्यटन
माओवादीले सुरु गरेको जनयुद्ध कर्णालीबाट सुरु भएको हो । खासगरी रुकुम, रोल्पा, कालिकोट, जुम्ला र जाजरकोट माओवादीको आधार इलाका हो । जहाँ युद्धका बेला सयौँले ज्यान गुमाएका थिए । त्यसलाई सम्झनाका रुपमा युद्ध लड्दै गरेका सिपाहीको फोटो अहिले रोल्पा र रुकुममा चर्चित छ ।
युद्ध पर्यटन रुकुम, जाजरकोट कालिकोट र सल्यानमा विशेष र फरक बन्न सक्छ । उसो त सशस्त्र द्धन्द्धको मारमा सबैभन्दा धेरै कर्णाली परेको थियो ।
१०. शैक्षिक पर्यटन
सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय छ । केही विभिन्न क्याम्पस छ्न । यस्तै जुम्लामा स्वास्थ्य विज्ञान प्रतिषठन छ । रारामा पर्यटन विद्यालय खोल्न आवश्यक छ । यसरी सुर्खेत, दैलेख, मुगु र जम्लामा शैक्षिक पर्यटन फस्टाउन सकिन्छ । तर त्यसका लागि पनि पर्याप्त रुपमा संरचना विकास गनृ आवश्यक छ ।
११. मेडिकल पर्यटन
मेडिकल पर्यटनका लागि सुर्खेत, जुम्ला, हुम्ला, रुकुम, मुगु र डोल्पा विशेष हुन सक्छ । यसका लागि स्वास्थ्य क्षेत्रको विकास र भवन निर्माण गर्दा त्यसलाई पर्यटकीय ढाँचामा बनाउन आवश्यक छ । सुर्खेतको प्रदेश अस्पताल पछिल्लो समय मेडिकल पर्यटनका रुपमा उदाहरणीय ठाउँ हो ।
१२. गाउँ पर्यटन
कर्णालीका हरेक गाउँको आफ्नो कथा छ । ती कथाहरु विशेष छन् । किनकी ती गाउँका फोटो भूगोल झन् विशेष र सुन्दर छन् । यसकारणले पर्यटन क्षेत्र निकै फस्टाउन सक्छ । कर्णालीका सबै जिल्लालाई व्यवस्थित रुपमा भौतिक संरचना बनाउन सके पर्यटक आकर्षण हुन सक्छन् ।
१३. आन्तरिक तथा वाह्रय पर्यटन
आन्तरिक पर्यटनका लागि सबै जिल्लामा सबै सम्भावना छ । तर बाह्य पर्यटनका लागि मानसरोवर, रारा, फोक्सुन्डा, ज्वाला र सुर्खेतको काँक्रेविहार विशेष छ । यो क्षेत्रको थप विकास र भौतिक संरचना व्यवस्थित गरेको खण्डमा कर्णालीमा बाह्य पर्यटनन झन धेरै फस्टाउन सक्छ ।
१४. साइकल तथा मोटरसाइकल पर्यटन
पछिल्लो समय धेरैजसो पर्यटक बाइक चढेर रारा र फोक्सुन्डो पुग्ने गरेका छन् । कर्णाली मोटरसाइकल पर्यटनको धेरै सम्भावना छ । तर यसले अहिले पनि प्रत्यक्ष रुपमा फाइदा पाउन सकेको छैन । कर्णालीमा जति धेरै विकास गर्न सक्यो । साइकल र मोटरसाइकलका लागि रुट बनाउन सकेको खण्डमा मात्रै पनि पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएर यसले पर्यटक तान्न सक्छ ।
१५. शोध तथा अनुसन्धान पर्यटन
कर्णालीका बारेमा पछिल्लो समय धेरै अध्ययन तथा अनुसन्धान हुने गरेको छ । कर्णालीका विभिन्न सांस्कृतिक क्षेत्रका बारेमा केही विद्यार्थीले पीएचडी गरिरहेका छन् । यो पनि एक सुन्दर सम्भावना हो । त्यसमध्ये विज्ञहरुका अनुसार सल्यान खैराबाङ्ख मन्दिर, दैलेखको दुल्लु, कालिकोटको रास्कोट, पञ्चदेवल, जुम्लाको सिंजा, अपर हुम्ला, अपर डोल्पो, जाजरकोट शिव मन्दिर, दरवार क्षेत्र तथा मुगु क्षेत्र शोध तथा अनुसन्धान पर्यटनका लागि विशेष सम्भावना बोकेका क्षेत्र हुन् ।