काठमाडौँ : सारा नेपालीलाई थाहा छ, तत्कालिन कृषिमन्त्री हरि पराजुलीले कसैमाथि खुलेआम बलात्कार गरेका थिएनन् । कसैको इज्जतमाथि दाग लगाएका थिएनन् । कसैलाई जबर्जस्ती गरेका थिएनन् । रोपाईको दिन उनले हिलो खेल्ने क्रममा रोपारा महिलासँग टाँसिदै रमाएका थिए । तिनै महिलाले पछि त्यो फोटो भिडियो भाइरल बन्नुमा मन्त्रीको गल्ती नभएको भन्दै माइतीघरमा प्रदर्शन गरेका थिए ।
तर पनि तत्कालिन कृषिमन्त्री पराजुलीको पद जोगिएन् । उनले नैतिकताका आधारमा राजीनामा दिन बाध्य हुनुपर्यो । उनले राजीनामा दिए पनि । त्यसयता एमाले नेता समेत रहेका पराजुली सार्वजनिक कार्यक्रममा देखिदैनन् । सायदै भेटिन्छन् । तर पत्रकार देख्नेवित्तिकै उनी मास्कले मुख छोप्छन् । एकान्तमा बस्छन् ।
केही वर्षअघिको कुरा हो, तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्ने नेपाली विद्यार्थी युवतीका बारेमा अशोभाविक टिप्पणी गरे । उनले बंगलादेश पढ्ने जाने नेपाली चेलीले शरिर बेचेर पढ्नुपरेको बाध्यता सुनाएका थिए ।
उनले त्यसलाई नराम्रोगरी प्रस्तुत गरेका थिएनन् । अश्लील शब्द पनि बोलेका थिएनन् । तर विदेशमा पढ्न गएका नेपाली चेलीमाथि मन्त्री भएर गलत शब्द प्रयोग गरेर बोलेको भन्दै उनको चर्को आलोचना भयो । यति धेरै आलोचना भयो कि उनले त्यसलाई थेग्न सकेनन् ।
तर उनको त्यस्तो नराम्रो नियत कहिल्यै देखिएको थिएन् । उनले यसमा माफी समेत मागे । तर पनि आलोचना रोकिएन । अन्ततः उनले सिंहदरबारमै श्रीमती उषाकला राईलाई साक्षी राखेर मन्त्री पदबाट राजीनामा दिए । अनि भने, म हिजो पनि आज पनि र भोलि पनि नारीको सम्मान गर्छु । नारीप्रति गर्व गर्छु । नैतिकता बाँकी राखेर राजनीति गर्छु ।
त्यसरी राजीनामा दिएका तामाङ केही समयअघि फेरि स्वास्थ्यमन्त्री बनेका थिए । तर सर्वोच्चको आदेशका कारण उनी १३ दिने मन्त्री मात्रै बने । अहिले उनी नेकपा एमाले पार्टी कार्यालयको मुख्य सचिव छन् । जसले नेकपा एमालेको राजनीतिमा अहिले पनि छाती फुकाएर इमान र नैतिकताको राजनीति गरिरहेका छन् । उनकी श्रीमति उषाकला राई प्रदेश १ को सामाजिक विकासमन्त्री थिइन् । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै उनी पनि काठमाडौँ फर्किइन् ।
तत्कालिन सभामुख कृष्णबहादुर महराले आफ्नै सचिवालयकी एक कर्मचारीमाथि बलात्कार गरेको घटना बाहिरियो । सञ्चारमाध्यमबाटै बाहिरिएको सो घटनाको चौबिस घण्टाभित्र उनले राजीनामा दिए । छानबिनमा सघाए । पीडितले बयान फेरिन । अदालतमै उनले बलात्कार नभएको भन्दै महरालाई बचाउन खोजिन ।
तर पनि अदालतले उनका कुरा सुनेन । उनीमाथिको कारबाही रोकिएन । अन्ततः महरालाई जेल सजाय भयो । उनले यसबीचमा तनावै तनावका कारण श्रीमति समेत गुमाए । अहिले जेलबाट रिहा भएर उनी माओवादीको राजनीतिमा फर्किएका छन् । हालै माओवादी पार्टीले उनलाई प्रवक्ता बनाएको छ । उनी नैतिकता बाँकी राखेरै राजनीतिमा फर्किएका छन् ।
नैतिकता बाँकी रहेपछि जति पनि राजनीति गर्न सकिन्छ । फेरि फेरि जुन पदमा बसेर पनि शासन गर्न सत्तामा पुग्न सकिन्छ । जनताको सेवा गर्न पाइन्छ । घृणा होइन, सम्मानले शीर ठाडो पारेर हिड्न सकिन्छ । यी केही प्रतिनिधिमुलक घटना हुन् । जो नेपालको इतिहासमा महिलामाथि दुर्व्यवहार गर्ने ? यौन दुर्व्यवहार गर्ने मन्त्री र सभामुख नै भएपनि पदबाट राजीनामा दिएर नैतिकता बाँकी राखेका छन् ।
तर कर्णालीमा दुई वर्ष पहिले एक महिलामाथि यौन दुर्व्यवहार गरेर यसबीचमा पटक पटक पैसामा घटना गुपचुप राख्न खोज्ने कृषिमन्त्री कुर्मराज शाही नैतिक धरातल धुलिसात हुँदा पनि पदमै विराजमान छन् । उनी उल्टै पदबाट राजीनामा किन दिने भन्दै ? जंगिन्छन् ।
यो कुर्मराजका लागि होइन, कर्णाली प्रदेश सरकार र सिंगो जनताका लागि लाजको विषय हो । चिन्ताको विषय हो । दण्डहीनता मौलाएको विषय मात्रै होइन, महिलामाथि खुलेआम यौन दुर्व्यवहार जस्तो गम्भीर अपराध हो । तर यस्तो अपराध एक मन्त्रीले एक महिलामाथि गरेको मात्रै होइन, कर्णालीका सिंगो महिलामाथि भएको अपराध जस्तो हो ।
यस्तो विषय सञ्चारमाध्यममा आउँदा तत्काल प्रतिक्रिया जनाउने, छानबिन समिति गठन गर्ने, त्यतिबेलासम्म मन्त्रीलाई समेत निलम्बन गर्ने र पदबाट राजीनामा दिन सुझाउनुपर्ने अवस्था बन्नुपथ्र्यो । तर एक मन्त्रीको अक्षम्य अपराधको पर्दाफास हुँदा पनि प्रदेश सरकारका मुख्यमन्त्री मुख थुनेर बस्नु कर्णाली प्रदेशका लाखौँ महिलामाथिको अपराध लुकाउनु जस्तै हो ।
यामलाल बोले, जीवन शाही बोले, अब मुख्यमन्त्री बोल्नुपर्यो...
एक महिलामाथि दुर्व्यवहार गरेको घटनाले यतिबेला कर्णाली तातेको छ । मन्त्री शाहीले महिलामाथि दुर्व्यवहार गरेको घटना सार्वजनिक भएकै दिन प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले आरोपित मन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।
तर त्यसलाई सामान्य रुपमा बुझ्न थालेपछि उनले अर्को स्टाट्स लेखे । मन्त्री शाहीलाई तत्काल मुख्यमन्त्रीले बर्खास्त गर्नुपर्ने, घटनाको छानबिन हुनुपर्ने माग समेत राखे । त्यसमा पनि कर्णाली प्रदेश सरकार मौन बस्यो ।
शनिबार मात्रै कर्णालीका नौ वटा मानवअधिकारी र नागरिक समाजका संघ संस्थाले विज्ञप्ति निकालेर महिलामाथि दुर्व्यवहार गर्ने मन्त्रीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरे ।
नौ वटा संघ संस्थाले विज्ञप्ति जारी गरेर भनेका छन्, 'कृषिमन्त्रीले महिलामाथि गरेको यौन दुर्व्यवहारको घटनामा प्रदेश सरकारको धारणा तत्काल सार्वजनिक गर्नुपर्छ । अन्यथा यो घटनालाई प्रश्रय दिएको देखिन्छ ।'
झण्डै एक हप्तापछि उनीहरु बोलेका थिए । त्यसरी महिला र नागरिक समाजका अधिकारकर्मीले विज्ञप्ति निकाल्नेवित्तिकै कर्णाली प्रदेश सरकारका सत्ता साझेदार कांग्रेस नेता जीवन शाहीले समेत यसबारे औपचारिक भनाई सार्वजनिक गरे । उनले फेसबुकमा भएपनि आफ्नो धारणा सार्वजनिक गरे ।
कांग्रेसको धारणा मिडियामा राखे । प्रतिपक्षी दल एमालेका नेता यामलाल कँडेल, सत्ता साझेदार दल कांग्रेस नेता जीवन शाही र अधिकारकर्मीले समेत सरकारको धारणा माग गरिरहेका बेला अब कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले बोल्नुपर्छ ।
उनले यसबारे बोल्ने मात्रै होइन, आरोपित मन्त्रीमाथि आवश्यक कदम तत्कालै उठाउनुपर्छ । विगतमा कृषिमन्त्री पराजुली, स्वास्थ्यमन्त्री तामाङ र सभामुख महराले राजीनामा दिँदा बालुवाटारले कदम चालेको होइन, उनीहरुको राजीनामा माग गरेर समस्या सुल्झाएको हो ।
महराको केशमा त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै उनकै निवासमा पुगेर राजीनामा दिन सुझाएका थिए । लगत्तै उनले राजीनामा पनि दिए । यस्तो गम्भीर अपराधमा पार्टीले, दलका नेताले तत्कालै कदम चाल्नुपर्छ । अन्यथा, यसले सिंगो पार्टी, सरकार र नेता तथा कार्यकर्ताको बदनाम गर्छ ।
त्यो भन्दा पनि धेरै केन्द्रीय राजनीतिको असल संस्कार सिकेर त्यसैलाई नैतिकताको राजनीति गर्नुको साटो सिंगो कर्णाली प्रदेशलाई बदनाम गर्ने अधिकार आरोपित मन्त्री र मुख्यमन्त्रीलाई छैन । त्यसैले पनि अब मुख्यमन्त्री शाही बोल्नुपर्छ ।
र, सबैभन्दा ठूलो कुरा, पीडित महिलाको सुरक्षा गरेर, सत्यतथ्य छानबिन गरेर, न्याय दिलाएर उनको मानवअधिकार सुरक्षित राख्नु प्रदेश सरकारको अनिवार्य दायित्व हो ।