काठमाडौ । प्रचण्डले भैसैपार्टीमा अर्को मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल तथा परामर्श गर्न शीतलनिवास पुगेका छन । बिहीबार बेलुकी उनले राष्ट्रपति भण्डारीसँग देशको पछिल्लो अवस्था, उत्पन्न परिस्थिती र पार्टीका नेताहरुको मागका विषयमा छलफल गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
यसअघि ओली सोमबार दल विभाजनसम्बन्धिको अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेर प्रमाणीकरण भएपछि राष्ट्रपति भण्डारीसँग नियमित भेटघाटका क्रममा शीतलनिवास पुगेका थिए । फेरि बिहीबार पनि प्रचण्डले भैसेपार्टीमा सचिवालयका बहुमत सदस्यको भेला गर्दा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन ।
अहिले सचिवालयमा प्रधानमन्त्री ओली एक्लिदा राष्ट्रपति भण्डारीको भने बलियो साथ छ । सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पारित हुनेवित्तिकै राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेर नेकपा सचिवालय बैठकलाई समेत प्रभावित गरेकी थिइन ।
यसअघि रातारात ल्याइएको अध्यादेश पारित र प्रमाणीकरण दुबै गरेपछि प्रधानमन्त्री ओलीको आलोचना रोकिएको छैन । जसकारण उनी पार्टीमा फेरि पहिलेकै अवस्थामा पुगेका छन । सचिवालयमा ९ जना सदस्यमध्ये स्पष्टसँग ३ जनाको मात्रै साथ पाएका ओलीलाई अध्यादेशले अर्को धोका दिएको छ ।
यस्तो अवस्थामा पार्टी र सरकारको काम कारबाही, नेताहरुको धारणा, अध्यादेशले उत्पन्न गरेको परिस्थिती र अध्यादेश फिर्ता गर्दाको प्रक्रियाबारे राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्डसहितका नेताहरुको दबाब, पार्टीका स्थायी कमीटि र केन्द्रिय सदस्यको माग र चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताइसकेका छन ।