बागलुङः दुई साताअघि यहाँ कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ७०० नाघेकामा अहिले त्यो सङ्ख्या जम्मा २२३ मा झरेको छ । धवलागिरि अस्पतालका अनुसार शनिबार १२४ जनामा कोरोना जाँच गरिएकोमा २९ जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रबार ९४ जनामा कोरोना परीक्षण गर्दा जम्मा २४ जनामा सङ्क्रमण देखिएको थियो । यो आँकडाले नयाँ सङ्क्रमित घट्दै गएको र निको हुनेको सङ्ख्या भने बढिरहेको देखाउँछ । सङ्क्रमण दर बढेपछि जोखिम घटाउन साउन २८ गतेदेखि गत बिहीबारसम्म यहाँ निषेधाज्ञा कडा बनाइएको थियो ।
निषेधाज्ञा कडाइ गर्दा सङ्क्रमणमा केही कमी आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । “भित्रभित्र सङ्क्रमित लुकेका हुनसक्छन्, मानिसमा जाँच्न हिच्किचाउने प्रवृत्ति छ”, उनले भने, “सङ्क्रमित घटे भनेर ढुक्क हुने स्थिति छैन, जाँचको दायरा बढाउनुपर्छ ।”
जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र सर्वसाधारण स्वयं आफैँ सचेत नहुने हो भने पुनः सङ्क्रमण बढ्ने जनस्वास्थ्य अधिकृत खनालको भनाइ छ । केही दिनयता सदरमुकामका चोकचोकमा एन्टिजेन विधिबाट समेत नियमित कोरोना परीक्षण भइरहेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताए ।
सङ्क्रमण दर घटेसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन् । धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा पाँच सङ्क्रमित उपचाररत रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिए । सङ्क्रमण उच्च हुँदा दैनिक ३५÷४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो ।
अहिले अवस्था केही सहज छ । सङ्क्रमणपछि अस्पताल आउनेको सङ्ख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । जिल्लामा हालसम्म सात हजार ४४७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणका कारण ६६ जनाको ज्यान गएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ११५ जना छन् भने तमानखोला गाउँपालिकामा सङ्क्रमण शून्य छ ।
शुक्रबारदेखि निषेधाज्ञा खुकुलो पारिएकाले सङ्क्रमणको जोखिम फेरि बढ्नसक्ने औँल्याउदै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा पालना गर्न स्थानीय प्रशासन र स्वास्थ्यकर्मीले सर्वसाधारणमा आग्रह गरेका छन् ।