जुम्ला : जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ । भदौको पहिलो साताबाट जिल्ला बाहिर स्याउ निर्यात गर्न सुरु भएको हो । जुम्ली स्याउ पाकेर खाना लायकको भएपछि औपचारिक रुपमा बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि विकास कार्यालय जुम्लाले सुचना जारी गरी स्याउ बोटबाट टिप्नका लागि तयार भएपनि निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो ।
स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायकाबीचमा गुणस्तरीय स्याउ बजारमा पठाउनका लागि भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो । कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंचा भएका किसानहरुले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट ट सिफारिस लिनुपर्ने प्रावधान रहेको छ । जुम्ली स्याउको पहिचान बचाउनका लागी जुम्ली स्याउको लागो टाँसिएको कार्टुन ब्यापारिलाई उपलब्ध गराइएको छ ।
स्याउ निर्यातका लागि खुला गरिएपछि जुम्ला जिल्लाबाट मात्र नेपालका विभिन्न जिल्लाहरुमा बिक्रीका लागि २ हजार टन बढी स्यान निर्यात भइसकेको कृषि बिकास कार्यालयका प्रमुख बालक राम देवकोटाले बताए । उनले, ‘जुम्लाबाट ए ग्रेड र बि ग्रेडको स्याउ बाहिर निर्यात गरिएको छ । बाँकी सि ग्रेडको स्याउ जुम्लाका स्याउ प्रसोधन केन्द्रमा बिक्रिका लागि दिइएको छ ।'
३१ हजार अनुदानका कार्टुन वितरण
जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ विभिन्न बजारमा पठाउनका लागी यस वर्ष ३१ हजार ८ सय कार्टुन वितरण गरिएको छ । स्याउ सुपरजोन कार्यालय जुम्लाले १० दश हजार ८ सय र कृषि बिकास कार्यालय जुम्लाले २१ हजार कार्टुन वितरण गरेकोे हो । ।
जुम्लामा उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्न सहज होस् भन्नका लागि ५० प्रतिशत अनुदानमा किसानलाई कार्टून उपलब्ध गराउन थालिएको बताइएको छ । उद्योमी कृषि फोर्म सहकारी कृषक समूहले गरेर ६ सय १५ वटा स्याउ सुपरजोन कार्यालयमा सुचिकृत भएका छन ।
स्याउ सुपरजोन, कार्यालयमा सुचिकृत भएका कृषक समूहको हकमा ५ सय कार्टून र उद्योमीको हकमा एक हजार कार्टुन ५० प्रतिशत अनुदानमा दिने गरिएको स्याउ सुपरजोन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गंगा पोखरेलले बताइन् ।
उनका अनुसार १०केजीको ८ पीएमआइ भएको जुम्लाको लोगो राखिएको कार्टून कृषकलाई दिइएको छ । यसले गर्दा स्याउ उत्पादक केषकलाई सहज हुने बताइएको छ । स्याउलाई गुणस्तरीय र सुरक्षित रुपमा बजारमा ल्याउनका लागि जिल्ला कृषि विकास कार्यालयले कृषकको निवेदनको आधारमा एक सयदेखि ४ सयसम्मको कार्टुन अनुदानमा दिदै आएको कृषि बिकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार स्याउको पटेक क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
यस पटक स्याउ व्यापारिलाई लक्षित गरी अनुदानका कार्टुन वितरण गरिएको बताइएको छ । तातोपनी , गुठीचौर , सिँजा , र पातारासीका स्याउ व्यापारीलाई अनुदानका कार्टुन दिइएको हो ।
जुम्लाका स्याउ कृषक सरोज शाहीले, ‘ ५० प्रतिशत अनुदानमा दिइने कार्टुनले आर्थिक भार कम भएको’ भने । यसले गर्दा जुम्ली स्याउको पहिचान समेत जोगिएको छ । कृषक शाही भन्छन्, 'जुम्ली अर्गानिक स्याउको लोगो टाँसिएको कार्टुनले जुम्लाको नाम चोरी गरी अन्य ठाउँको स्याउ बिक्री वितरण गर्ने व्यापारीलाई समेत सचेत गराएको छ । '
कृषक शाहीका अनुसार बाहिरबाट कार्टुन खरिद गर्दा एक वटा कार्टुनको २ सय रुपैया सम्म पर्ने गरेको छ । अनुदानको कार्टुन ४६ रुपैया किसानले पाउने गरेका छन । व्यापारीको नागरिकता र निवेदनको आधारमा कार्टुन वितरण गर्ने निर्णय भए अनुसार वितरण भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लामा १५ हजार बगैंचा
जुम्लामा मात्र १५ हजार स्याउ बगैंचा स्थापना भएको तथ्यांक छ । जिल्लाको कूल १८ हजार घरधुरी मध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना भएको कृषि बिकास कार्यालयको तथ्यांकमा उल्लेख छ । ३ हजार ८०० हेक्टरमा स्याउ खेती भइरहेको छ ।
यस वर्ष स्याउ खेतीबाट १६ करोड रुपैयाँ बराबर आम्दानी हुने अपेक्षा राखिएको छ। गतवर्ष झण्डै १२ करोड रुपैयाँ बराबरको स्याउ बिक्री वितरण भएको तथ्यांक छ । व्यापारीले कृषकको बारीमै पुगेर प्रतिकेजी ५० देखि ६० रुपैयाँमा खरिद गर्ने गरेका छन् ।
सुर्खेत र नेपालगञ्जमा भने जुम्लाको स्याउ प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ । यतिबेला स्याउ परिपक्क र गुलियोपन भरिएर रातो रंग दिएकाले निर्यातका लागि उपयुक्त भएको कृषि विज्ञहरुले बताएका छन् । बाहिर जिल्लामा प्रतिकेजी १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गर्छ ।