म्याग्दी : विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो ।
विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए । अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ । विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ । आइतबार अपराह्न झरी परिरहेका अवस्थामा कार्यकक्षमा अँध्यारो भएपछि उन मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै थिए । कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अतिआवश्यक काम हातले लेखेर गरिरहेका थिए ।
बागलुङ र पर्वतका सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा विद्युत् आपूर्ति बन्द भएको थियो । जिल्लामा विद्युत् आपूर्ति अनियमित हुने समस्या छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेबाट श्रीमतीको नागरिकता बनाउन आउनुभएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको गुनासो गरे । “सानो बच्चासहित श्रीमतीलाई लिएर मध्याह्न१२ः३० मा आएका थिऔँ”, उहाँले भन्नुभयो, “बिजुली छैन भनेर दिनभरि काम गरेनन् । आज बिदा छ । आइतबारै काम सकेर फर्कने योजना थियो । मङ्गलबारसम्म बेनी बस्नुपर्ने भयो । जनजातिको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देवीस्थानकी हेमा रानामगरले दिनभरि कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गरेका छन् ।
“बिजुली छैन भनेर काम गरेनन्, वैकल्पिक व्यवस्था रहेनछ । यस्तो महत्वपूर्ण कार्यालयमा विद्युत् आपूर्तिको विकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।” नागरिकताको प्रतिलिपि बनाउन आएका देवीस्थानकै सुरत पुनले पनि कामै सम्पन्न नभइ फर्कनुपरेको गुनासो गरे । नागरिकता वितरण, सिफारिस, संस्था दर्ता, नवीकरणलगायतका काम लिएर प्रशासनमा पुग्ने सर्वसाधारण मर्कामा परेका छन् । संवेदनशील विषयमा हुने सूचना आदानप्रदान गर्न पनि समस्या भएको कर्मचारीले बताएका छन् ।
करिब एक महिनादेखि विद्युत् आपूर्तिमा समस्या भएको बताइएको छ । विसं २०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इन्भटर बिग्रिएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । “वारेन्टीको म्याद अझै दुई वर्ष रहेछ । आपूर्तिकर्तालाई तत्कालै मर्मत गर्न निर्देशन दिएका छौँ । सोलारबाट चार्ज गरेर ब्याट्री र इन्भटर बनाउन घाम नलागेपछि प्राविधिक हिसाबले समस्या भयो । रासस