काठमाडौँ : आइतबार सुर्खेतमा नारा लाग्यो, 'बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर । कर्णाली सरकार मुर्दावाद ।'
यी नारा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले मुख्मयन्त्री महेन्द्रबहादुर शाहीको निवास अगाडी लगाएका हुन् । सामाजिक सञ्जालमा आएका आन्दोलनको भिडियो हेर्दा कृषिमन्त्री कुर्मराज शाहीमाथि लागेको यौन दुर्व्यवहारको आरोपले कर्णाली प्रदेश सरकारको नैतिकता जोगाउन हम्मेहम्मे छ ।
त्यति ठूलो माग र मुख्यमन्त्री कार्यालयकै अगाडिी भएको नाराबाजी पनि मुख्यमन्त्रीले नसुन्ने हो भन्ने कर्णाली प्रदेश सरकारको नैतिकता लिलामीमा रहेको बुझ्न सकिन्छ । तर यसका लागि उनी गम्भीर छलफल तथा परामर्शमा छन् ।
हिजो आफ्नै सरकार जोगाउन एमाले छाडेर फ्लोर क्रस गरेका कृषिमन्त्री शाहीलाई एक वचनमै मन्त्रीपदबाट बर्खास्त गर्न पनि मुख्यमन्त्री चाहदैनन् । फेरि अब यति ठूलो विरोध, आलोचना र सरकारकै नैतिकतामाथि प्रश्न उठेपछि मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बाध्यतामा पनि उनी पुगेका हुन् सक्छन् ।
तर घटना बाहिरिएको एक हप्ता, विरोध चर्किएको र निवास नै घेराउ भएको समयसम्म पनि मुख्यमन्त्री शाहीले कुनै कदम चालेका छैनन । न उनले यो घटनाबारे छानबिन गर्ने संकेत गरेका छन् न त पीडितलाई संरक्षण र पीडकलाई कारबाही गर्ने योजना देखाएका छन् ।
यसले ढिलोचाँडो कर्णाली प्रदेश सरकारकै नैतिकतामाथि प्रश्न उठ्ने मात्रै होइन, दण्डहीनता फैलाउने काम समेत सरकार पक्षबाट भएको देखिन्छ । यसबीचमा महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन, मन्त्रीलाई बर्खास्त गरेर सरकारले पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् ।
तर यस विषयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री अझै गैरजिम्मेवार देखिन्छन् ।