विसं २०६२÷०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सर्यो ।
भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरुको अवरोधका कारण प्रभावित बन्यो । केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले समेत सम्झाउन नसकेपछि आयोजना निर्माणस्थल दोधारा चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा प्रस्ताव गरिएको छ । “सुख्खा बन्दरगाह बन्ने भनेपछि यहाँ जग्गाको मूल्य छोइनसक्नुभयो, स्थानीयले पनि सुखद् दिन आउने अनुभूति गरे तर आयोजनाको काम भने फिल्डमा देखिएन ।
दोधारा चाँदनीका स्थानीय प्रेमबहादुर भट्टले भने सुख्खा बन्दरगाह बनाउन अब बहानाबाजी बनाएर ढिलाइ गर्नहुन्न् ।” उहाँले सुख्खा बन्दरगाहको निर्माणले दोधारा चाँदनीको मुहार फेरिने बताए । यहाँ स्थापना हुने सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिरहेको जानकारी दिए । उनले बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का लागि परामर्शदाता छनोट गरिसकेको जानकारी दिए । “हामीले इआइएका लागि परामदर्श दाता छनोट गरेर सम्झौताको चरणमा छौँ ।साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि पनि पदामर्शदाता छनोटको काम अगाडि बढेको छ ।
उनले उक्त बन्दरगाहको डिपिआर बनाउन छ महिनादेखि नौ महिनासम्म लाग्ने बताए । तीन वर्ष दश महिनाभित्र बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सुख्खा बन्दरगा हबभित्र कष्टम, एडमनि ब्लक, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्र्याक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेल्वे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायतका संरचना बन्नेछन् ।
बन्दरगाहका रेलमार्ग भने दोस्रो चरणमा तयार गर्ने योजना रहेको छ । बन्दरगाह प्रस्तावस्थल वरपर भने जग्गाको किनबेच निकै बढेको छ । “कुनै बेला लाख रुपैयाँ कट्ठा बेच्न खोेज्दा पनि यहाँ ग्राहक पाउन मुस्किल हुन्थ्यो ।” दोधारा चाँदनी नगरपालिका–१ का विस्ने सुनारले भने अहिले त प्रतिकट्ठा रु ८० लाखसम्म पनि किनबेच गाउँमा भएको छ ।” उनले पनि सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकाका रुपमा हेरिएको क्षेत्रमा बन्दरगाह बने समृद्धिको सपना साकार हुने बताए । “सुख्खा बन्दरगाह पछि आएको महाकाली नदीको चार लेन सकिने बेला भइसक्यो । विसं २०६४ तिर बनाउने भनेको सुख्खा बन्दरगाह खै कहाँ पुग्यो ? ” त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा बन्ने अर्को सुदूरपश्चिमकै ठूलो आयोजना हो, दैजी छेला औद्योगिक क्षेत्र ।
झण्डै २५ वर्षअघि बेदकोट –२ मा बनाउने भनेको औद्योगिक क्षेत्रको कामको गति पनि सुस्त नै छ । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रको काम भने अझै सन्तोषजनकरुपमा अघि बढेको छैन् । “दुई वर्षभित्र स्थापना गर्ने औद्योगिक क्षेत्र बनाउने भनेको २५ वर्ष भइसक्यो ।” बेदकोटका स्थानीय रघुवीर पन्तले भन्नुभयो, “यहाँ ठूला विकास गर्ने र मुहार फेर्ने विषयमा गफ बढी भए ।
औद्योगिक क्षेत्र स्थापनास्थलमा रुख छपानको काम थालिए पनि त्यो कोरोना कहरले प्रभावित बन्यो । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट क्षेत्रीय कार्यालय नेपालगञ्जले उक्त कामको रेखदेख गरिरहेको छ । सो क्षेत्रको ३०० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । बेदकोट–२ का वडाध्यक्ष एवं प्रवक्ता नरेशबहादुर सिंहले औद्योगिक क्षेत्रको काम प्रभावकारी नभएको बताए ।
शिलान्यासपछि रुख छपानको काम केही समय भयो । अझै ५० प्रतिशत रुख छपान बाँकी नै छ ।” औद्योगिक क्षेत्र स्थापना गर्ने योजना विसं २०५१ मा सुरु भएको थियो । रासस