कालिकोट : कर्णाली आफैमा एक सुन्दर प्रदेश हो । कर्णालीको सुन्दरताले जो कोहीलाई आकर्षण गर्छ । प्राकृतिक वातावरणले गर्दा कर्णालीमा स्वस्थ्य हावा पानीले गर्दा आकर्षण थपिएको हो । सुन्दरतासंगै कर्णालीको संस्कृति र चालचलनले पनि धेरैको ध्यानाकर्षण गर्छ ।
राम्रो सबैलाई मन पर्छ । सुन्दरताले गर्दा जो सुकै घुम्न जान्छन् । सुन्दरताले नै हो, सबैको मनमा रंग भर्ने, पिडा भुलाउने, दुुःख सुख बाड्ने । सुन्दरताले गर्दा पुन त्यही ठाउँ घुम्न मन लाग्ने धेरै छन् कर्णालीमा ।
पछिल्लो समय कर्णाली जो कोहीको मुटुमा बसेको छ । यहाँको सुन्दरतासंगै जडीबुटीले गर्दा धेरैको मनमा एक चोटी कर्णाली घुम्नै पर्ने ठाउँमा पर्छ । सबैको मनमा एक किसिमको कौतुहलता जागेको छ ।
कर्णालीका हर कोहीलाई कर्णाली घुमेपछि एकपटक स्वर्ग पुगेको महसुस हुनु स्वभाविक हो । तर रारा, फोक्सुन्डो, हुम्लाको लिमी भ्याली घुमेकालाई यो महसुस भएपनि वास्तविक स्वर्गीय आनन्द हुने कर्णालीको पचाल झरनामा जो कोही पुगेकै छैन ।
यदि कोही पुगेको छ भने यसको स्वर्गीय आनन्द फरक छ । कर्णालीको पचाल झरना एशियाकै अग्लो झरना पनि हो । सदरमुकाम मान्मादेखि १८ कोस उत्तर पूर्वमा यो झरना अवस्थित छ । साविकको राम्नाकोट अहिलेको पचाल झरना गाउँपालिका पर्छ ।
पचाल झरना ३ सय ८१ मिटर अग्लो झरना हो भएको गाउँपालिकाको दाबी छ । ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको पचाल झरना रहेको दाबी जिल्ला प्राविधिक कार्यालयले गरेको थियो । जसलाई आवश्यक रुपमा उपयुक्त ठानिएको छ ।
तत्कालिन पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले कालिकोटको पचाल झरनालाई नेपालकै अग्लो झरनाका रुपमा घोषणा गरेका थिए । उनी हेलिकोप्टर दुर्घटनामा परी बितेपछि भने यो झरनाको प्रचार प्रसार गर्ने काम रोकिएको हो ।
जंगलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक भय पनि पर्यटकीय विकास नहुदा ओझेलमा परेको छ । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली अञ्चलको चर्चित धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।
जिल्लाकै ऐतिहासीक रमणीय पर्यटकियस्थल भएपनि गुमनाम रहेको पचाल झरना पर्यटन बोर्डको सहयोग, जिल्ला समन्वय समिति कालिकोटको समन्वय तथा जिल्लाको रास्कोट नगरपालिका निवासी युवा विद्यार्थी यशोदा बराल र जिल्ला विकास समितिको प्राविधिक टोलीले पचालझरनाको नाप नक्सा गरी ४ सय १५ मिटर रहेको बताएको हो ।
पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टि प्राविधिक रुपमा भएपनि नेपाल सरकारले यसको प्रचार प्रसारमा कन्जुस्याई गरेको देखिन्छ । नेपालको मात्र नभएर यो झरना एसियाकै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ ।
यदि यो झरनाको थप प्रचार प्रसार र नयाँ ढंगबाट यसको वरिपरी भौतिक संरचनाको विकास गर्ने हो भने कर्णालीलाई समृद्ध बनाउन यो झरनाले ठूलो सहयोग गर्ने निश्चित छ ।