डा. रवीन्द्र पाण्डे
अहिले संसारभर कोरोना भाइरसको संक्रमण छ । युरोप र अमेरिकामा धेरै जनाले ज्यान पनि गुमाएका छन । तर कोरोना संक्रमणको भन्दा यो संक्रमणको भ्रमले धेरै नागरिक चिन्तित छन् । सहि सुचना नै मानसिक तनाव न्यून गर्ने प्रमुख कारक हो । तसर्थ यी तथ्यलाई आत्मसात गर्यौं भने कोरोना संक्रमणबाट धेरै आत्तिनु जरुरी छैन ।
कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ प्रतिशत साधारण लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ प्रतिशत मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुन्छन् ।
बाँकी ७ दशमलव ५ प्रतिशतलाई आइसीयु वा भेन्टिलेटरको आवश्यकता पर्न सक्छ । सघन उपचारपछि ७ दशमलव ५ प्रतिशतमा आधा निको भएर घर फर्किन्छन् । बाँकी ३ प्रतिशतको मात्र मृत्यु हुन्छ । बालबालिका, युवा तथा बयस्कको मृत्युदर एकदमै न्युन छ । त्यसैले धेरै आत्तिन जरुरी छैन ।
बच्ने र बचाउने कसरी ?
जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ । जोखिम वर्गमा पर्दछन् । जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप १ तथा कम्प्लिकेशन भएको मधुमेह, क्यान्सरको तेस्रो र चौथो स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन ।
जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गर्नुपर्दछ, बाहिरी वातावरणबाट बचाउनुपर्दछ । सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० प्रतिशतबाट घटेर ३ प्रतिशतमा पुगेको छ । अस्पताल जानुपर्ने बिरामीको अनुपात घटेको छ । नयाँ संक्रमित घट्दै गएका छन् ।
कोरोनापछि असर : जसले आफै उत्पादन गर्छ, उ नै धनी बन्नेछ !
सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ । मध्यमवर्गका नागरिकको आय र व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् । धनी व्यक्तिहरु आफ्नो व्यवसाय धरासायी भएकोमा चिन्तित छन् । अर्थात हरेक वर्ग चिन्तामा छन् । त्यो चिन्ता पनि समयले निको गर्नेछ । जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्नेछन ।
कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाएको छ, बनाउनेछ । जसले आफै उत्पादन गर्छ । उ नै धनी र सम्मानित बन्नेछ । बाँझो जमिनमा मोतिका दाना फल्नेछन् । कृषि तथा पशापंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदय हुनेछ । हरेक देश आत्मनिर्भरको गोरेटोमा हिड्नेछन् ।
खोप आएपछि कोरोना इतिहास बन्नेछ !
विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ । अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन । खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ । त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचाइभी ्एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन् ्र यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् ।
भारतको म्याक्स लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड १९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन् । प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो । यो थेरापी नेपालका अस्पतालहरुमा पनि लागु गर्न सकिन्छ । यो सस्तो तथा प्रभावकारी छ ।
घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाव नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम अत्यन्तै न्युन हुन्छ ।
नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् । अरु संक्रमितको अवस्था सामान्य छ । कसैलाई पनि आइसीयु र भेन्टिलेटरमा राख्नुपरेको छैन । ती मध्ये आधिभन्दा धेरै भारतीय हुन् ।
(पाण्डे जनस्वास्थ्य विज्ञ हुन ।)