सिमकोट : लामो समय बन्द रहेका जिल्लाभरका सामुदायिक विद्यालयमा सावधानी अपनाएर पठन पाठन सुचारु गर्ने डीसीसीएमसीले निर्णय गरेको छ । कोरोना संक्रमणको दर कम भएको र विद्यालय खुलाउनु पर्ने माग सबैतिरबाट आइरहेको बेला सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले खुलाउने निर्णय गरेको हो ।
डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आइरहेको र कोरोना संक्रमणको दर पनि घटेको देखिएपछि विद्यालय खुलाउने निर्णय गरेको बताए ।
उनले, ‘ विद्यालय सावधानी अपनाएर मात्र विद्यालय सुचारु गर्नु पर्ने ’ बताए । कोरोनाको कारण लामो समय विद्यालय बन्द रहेको थिए । उनले सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेकोले केन्द्रको बैठकमा छलफलपछि विद्यालय खुलाउने निर्णय गरेको जानकारी दिए ।
अब जिल्ला प्रशासन कार्यालयले सातवटै गाउँपालिकामा विद्यालय खुलाउने पत्र लेख्ने र त्यसपछि अवस्था विश्लेषण गरी गाउँपालिकाले विद्यालय सुचारु गर्ने बाटो खुल्नेछ ।
सबै क्षेत्र खुला रहेको बेला बिद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आइरहेको थियो । प्रजिअ आचार्यले ‘स्मार्ट लकडाउन’ कार्यविधि २०७८ ले पनि सामाजिक तथा आर्थिक गतिविधि संञ्चालन गर्न सकिने कुरा उल्लेख गरेको कारण केन्द्र जिल्लामा विद्यालय खुलाउने निष्कर्षमा पुगेको बताए ।
केन्द्रको निर्णयपछि गाउँपालिकाले विद्यालय खुलाउँदा कोरोनाको अवस्था मुल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरणमा तयार भएपछि विद्यालय सुचारु गर्न सक्ने बाटो खुलेको छ ।
हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा १३७ वटा सामुदायिक विद्यालय रहेका छन् । भने, केही नीजि विद्यालय पनि रहेका छन् । यता नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई वटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरु सुचारु रहेका थिए ।
केन्द्रको बैठकमा समितिका सदस्य र संघीय सांसद रंगमित शाही तथा कर्णाली प्रदेश सभा ख नम्बर क्षेत्रका सासद जीवन बहादुर शाहीको पनि उपस्थिती रहेको थियो ।