काठमाडौ । भारतमा रोजगारीका क्रममा दुर्घटना भएर हात गुमाएका घाटगाउँका दाने सुजीलाई कोरियामा रहेका युवाले १७ हजार रुपैयाँ सहयोग गरेका छन ।
रोजगारीका लागि दक्षिण कोरिया पुगेका पाँच जना युवाहरुले पठाएको रुपैयाँ शुक्रबार चौकुने गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष नवराज आचार्यले सुजीलाई हस्तान्तरण गरेका हुन ।
कोरियामा रहेका आशाराम ढुंगाना, प्रवीण शाही, प्रशान्त शाही, शिव शाही र भक्त खनालले सुजीलाई १७ हजार उपलब्ध गराएका हुन । सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष आचार्यले थोरै रकम भएपनि आय आर्जन गर्न सहज हुने बताए ।
साथै उनले सुजीलाई आर्थिक सहयोग गर्ने कोरियामा रहेका घाटगाउँका युवालाई धन्यवाद पनि दिएका छन । कोरियामा रहेका युवाहरुले यसअघि घाटगाउँकै कविराम ढुंगाना, प्रदीप परियार लगायतलाई पनि आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
काम गर्ने हात गुमाउनुको पीडा
सुजी यसअघि रोजगारीका लागि भारतको हैदरावादमा थिए । हैदरावादको एउटा कम्पनीमा काम गर्ने क्रममा उनको दुर्घटना हुँदा हात भाचिएको हो । हात भाचिएपछि लामो समय अस्पतालमा उपचार गराएका उनी काममा फर्किएपनि हातले साथ दिएन ।
काम गर्ने हात नभएपछि उनले कम्पनी छाड्नुपर्यो । हैदरावादमा अन्त पनि काम नभएपछि उनी पुना पुगे । तर पुनामा पनि उनले कतै काम पाएनन् । घाटगाउँमा रहेका अरु युवाले उनका लागि काम खोज्ने प्रयास नगरेका होइनन । तर एउटा हातले काम नहुने भएपछि बेरोजगार बस्नुपर्यो ।
कतै काम नभेटेपछि उनले ६ महिना कष्टकर जीवन बिताउनु परेको थियो । यसरी धेरै दिन परदेशमा अलपत्र पर्नुभन्दा घरै गएर केही सानो तिनो काम गर्न पुनामा रहेका घाटगाउँका युवाले सुझाएपछि उनी घर फर्किएका हुन ।
घर फर्किदा उनलाई पुनामा रहेका घाटगाउँका युवा तथा आफन्तले आर्थिक सहयोग समेत दिएका थिए ।