काठमाडौँ : नेपालमा पछिल्लो समयका चर्चित नाम हुन्, गगन थापा र रामकुमारी झाँक्री । थापा नेपाली कांग्रेसका नेता हुन् । झाँक्रीले विगतमा लामो समय एमालेकै राजनीति गरेपनि अहिले उनी नेकपा समाजवादीकी नेतृ हुन् ।
दुवै नेता तथा नेतृ विद्यार्थी राजनीतिबाट उदाएका हुन् । गगन थापाले आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । अनि झाँक्रीले नेकपा समाजवादीमा प्रभावशाली नेतृको परिचय बनाएकी छन् ।
झाँक्रीले एमालेमा हुँदा नेतृत्वको डटेर विरोध गरिन् । जतिबेला विद्यार्थी नेताहरु नेपालमा प्रजातन्त्रको पुनर्बहाली गर्दा राजा महेन्द्र र वीरेन्द्रको विरोध गर्थे । गगन थापा कांग्रेस नेता भएपनि उनले थुप्रैपटक सभापतिको चर्को विरोध गरेका छन् ।
हालै गगन थापाले आफ्नै दलका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संसदमै प्रश्नको वर्षा गराएका थिए । उनले मन्त्रिपरिषद किन विस्तार नगरेको ? दार्चुलाका युवाको हत्या गर्ने एसएसबीलाई कारबाही गर्न किन खुटटा कमाएको भन्दै प्रश्न गरेका थिए ।
त्यतिमात्रै होइन, प्रतिपक्षमा हुँदा राष्ट्रिय एजेन्डामा गगन थापा प्रतिपक्षबाट उठेर सरकारसँग उभिन्थे । प्रतिगमनका कारण दुई तिहाई सरकार चलाउन नसकेर बालकोटको बार्दलीमा पुगेका केपी ओलीलाई झस्काउने गरी गर्जिन्थे ।
भारतसँगको सीमा फिर्ता ल्याउन गगन थापा ओलीसँग उभिएका थिए । तर बाँकी पूरा ओली सरकारका उनी कडा प्रतिपक्षी नेता थिए । ओली सरकारमा हुँदा कांग्रेस निरीह प्रतिपक्षी बन्यो । तर गगनले त्यसलाई कहिल्यै कमजोर हुन दिएनन् ।
उनले सकेसम्म प्रतिपक्षीको भूमिका निर्वाह गरे । युवा नेताको दायित्व मात्रै होइन, देश चलाउन सक्ने क्षमता युवाहरुमा भएको प्रमाण पेश गरे । सरकारलाई हल्लाए । आफ्नै पार्टीलाई पनि जिम्मेवार हुन सिकाए । यदि गगन थापाले चाहेको भए देउवा सरकारमा उनी अहिलेसम्म मन्त्री भइसक्थे ।
तर उनले सरकाको होइन, दलको नेतृत्व गर्न चाहेका छन् । त्यही भएर कांग्रेस महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यता सिंगो एमालेमा ओलीको प्रतिगमनले कम्युनिष्ट इतिहास धरापमा परेका बेला रामकुमारी झाँक्रीले विद्रोह गर्ने हिम्मत गरेकी छन् ।
माधव नेपालको विद्रोह गर्ने हिम्मतमा झाँक्रीले दह्रो साथ दिइन् । बाँकी सबै नेताहरु चाकरीमा सीमित भए । एमालेका युवा र विद्रोही भनिएका नेताहरु अन्ततः एमालेमा विलय भए । यो आफैमा ठूलो राजनीतिक विचलन हो । तर झाँक्रीले युवा नेताहरुलाई प्रेरित गर्ने गरी राजनीति गरिरहेकी छन् ।
गगनजस्तै काग्रेसमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुङ, कल्याण गुरुङ पनि युवा नेता हुन् । तर गगन जति दम र प्रतिभा भएका नेता बन्न उनीहरु सकिरहेका छैनन् । यस्तै एमालेमा झाँक्री जस्तै घनश्याम भुसाल, योगेश भटट्राई लगायतका नेताहरु छन् । तर उनीहरु एमालेमा ओलीका कार्यकर्ता मात्रै बने । झाँक्रीले एमालेमा गरेको विद्रोह जस्तो सशक्त बन्न सकेनन् ।
यस्तै माओवादीमा लेखनाथ पौड्याल, हिमाल शर्मा जस्ता नेताहरु मूलधारको नेतृत्वमा आउन सकेनन् । उनीहरु अहिले निष्क्रिय जस्तै छन् । तर गगन र झाँक्री जस्तो परिआएको समयमा निर्णय गर्ने क्षमता उनीहरुमा देखिएको छैन ।
कर्णालीमा पनि विभिन्न पार्टीका गरी शुशिल थापा, दानसिंह परियार, ठम्मर बिष्ट, नन्दसिंह बुढा, धर्मराज रेग्मी सांसदविहीन लगायतका नेताहरु छन् । तर उनीहरु नेतामै सीमित छन् । सरकार, सत्ता र पार्टीमा आवश्यक परिवर्तन तथा विद्रोहका लागि उनीहरु अग्रमोर्चामा भन्दा पदका लागि चाकरी गर्ने नेतामा सीमित भएका छन् ।
कर्णालीमा अहिले यौन दुर्व्यवहार तथा बलात्कारको आरोप लागेका कृषिमन्त्री कुर्मराज शाही राजीनामा दिन मानिरहेका छैनन् । अनि मुख्यमन्त्री महेन्द्र शाही पनि कानमा तेल हालेर सुतेका देखिन्छन् । एमालेको विरोध गर्न सडकमा युवा संघ र अनेरास्ववियु उतारेको छ ।
तर इमान्दारिता, नैतिकता र सम्भावनाको पाठ सिकाउने जोशिला युवा नेता कर्णालीमा देखिएका छैनन् । जसकारण हिजो, आज र भोलि पनि कर्णालीमा गगन थापा र रामकुमारी झाँक्री जस्ता युवा नेता र नेतृको खोजी भइरहेकै छ ।