म सोह्र घण्टा बालुवामा पसिना बगाइरहेको छु ।
परिवार अनि देशका लागि आम्दानी गरिरहेको छु ।।
रहर त मलाई पनि आफ्नै देशमा रमाउने थियो ।
आमाको काखमा लडीबुडी गर्ने मन थियो ।
आखिर मेरो वेदना फरक भयो ।
त्यही उकाली, ओराली गर्दा गर्दै
‘बा’ दमको व्यथाले थलिन थाले ।
आमा बा’कै व्यथाले थलिन थालिन् ।
विस्तारै विस्तारै घर धन्दा चलाउँन पनि गाह्रो भयो ।
‘बा’को त्यो व्यथा झन् झन् साह्रो भयो ।।
छिमेकीले पैँचो चलाउन मानेनन् ।
हाम्रा दिन आउँलान भन्ने कहिले ठानेनन् ।
आमाको त्यो पटुकी भित्र छिरेको भोको पेटले मलाई गिज्याइरहेको थियो ।
जहाँबाट मेरो उत्पत्ति भएको थियो ।।
‘बा’को त्यो कानको वरिपरिबाट आड दिइरहेका घुँडाहरुले मलाई गिज्याइरहेका थिए ।
जो मेरो बाल्यकालमा आमाको अतिरिक्त भरोसा अनि आत्मियताको मियो बनेका थिए ।।
मलाई यस्तो लाग्न थाल्यो आमाको अनुहारमा खुसी हराउँदै थियो ।
‘बा’को मन हडबडाउँदै थियो ।
दाजुहरु जागिर गर्न शहरमा गएका थिए,
भाउजुहरु उतै बस्ने रहरमा गएका थिए ।
दिदिहरु पनि टाढा टाढा थिए, म लाठे भइसके ।
छिमेकीले कुरा काट्न थाले साहुहरुले डाँटन थाले
अनि म सँग विकल्प के नै थियो र ।
एकदिन बिहान पर्दै थियो, म झन मस्त निन्द्रामा थिए,
आमा एक्कासी कराउँदै थिइन्, ‘बा’लाई सुनपानी चढाउँदैै थिइन् ।
म पनि त्यही घोप्टो परेर बेसरी रोए ।
मेरो त्यो रुवाइको कुनै मुल्य थिएन् ।
त्यो शरिरले कुनै सुन्नेवाला थिएन् ।
त्यो शरिरमा मेरा ‘बा’ थिएनन् ।
र, ‘बा’ले मेरो खुसी हेर्न पाएनन् ।
आमाले जसो तसो गरेर १२ सम्म पढाइन् ।
अलिअलि आँखा देख्ने गराइन् ।
रोजगारी त मेरो देशमा कहाँ पाउनु र ?
सानो तिनो जागिर खोज्दै कहाँ कहाँ धाउनु र ?
तर मेरो लागी अन्तिममा एउटैै विकल्प हात लाग्यो त्यो हो विदेश ।
अनि दिदिले गाउँको साहुलाई कुरा गरिछिन् ।
भिनाजुलाई लुकाएर ऋण कारिछिन् ।
त्यहीं ऋणले मैले पासपोर्ट बनाए ।
विदेश जानेकुरा आमालाई जनाए ।
आमाको मन त मलाई विदेश पठाउने पटक्कै थिएन ।
घरमा बसी आमाको सेवा गर्ने मेरो भाग्यले दिएन ।
अनि आमालाई एउटा साथि चाहियो रे ।
बुढेसकालमा खेलाउने नाती चाहियो रे ।
समय १ महिना मात्र बाँकी थियो ।
बिहे गर्ने चाँजोपाँजो गरियो ।
आमाको हातमा बुहारी सुम्पिए ।
म विदेशको यात्रामा लम्किए ।
बुढेसकालमा आमाको साथ छोड्दाको पीडा ।
खुलेर श्रीमतीलाई अँगालोमा कस्न नपाउँनुको पीडा ।
त्यो भयङ्कर जहाजबाट आफ्नो देशको जमिन छोड्दै गर्दाको पीडा ।
असंख्य घाउहरु चहर्याउँदै थिए ।
यो बिरानो मुलुकमा म आफुलाई चिनाउँदै थिए ।
काम पनि अप्ठेरो छ दाम पनि कम छ ।
उता साहुको ऋण तिर्नु छ ।
घरमाथिको खर कुहिएको छ रे ।
यसपालीको वर्षातमा एक पट्टिको बान्नो भत्किएको छ रे ।
त्यो पुरानो घरको मुहार फेर्नुछ ।
उता श्रीमतिलाई भिडियो कल गर्ने मोबाइलको रहर थियो ।
पहिले उनको इच्छा पुरा गर्नु थियो ।
अनि फेसबुकले उनको अतृप्त इच्छा पुरा गरेछ ।
आमाको रहर सबै मरेछ ।
मलाई भिडियो कल गर्ने उनको योजना फेरिएछ ।
त्यो कोमल अनि भर्खरै फक्रिएको उनको वदन
अर्कैको अँगालोमा बेरिएछ ।
मलाई झट्कामाथि अर्को झट्का लागिरह्यो ।
बुढेसकालमा ‘बा’को शेषपछि एक्लिएकी मेरी आमा ।
मेरो विदेशको यात्राले झन् टुटेकी थिइन् ।
त्यसमाथि मेरो अनुपस्थितिमा नाती नातिना खेलाएर मन भुलाउने मेरी आमाको सपना
पुरा हुन नपाउँदै तुहिएको थियो ।
हन्डर र ठक्करहरुको बीचबाट पनि पीडाहरुलाई दबाउँदै
हिजो धौ धौ खोले पाक्ने भाँडोमा मसिनो चामल पकाउने सपना पुरा गर्न संघर्ष गरिरहेछु ।
माटोले लिपेको घरको भित्तामा सिमेण्ट लगाउने, खरको छानो फालेर जस्ताले छाउने सपना पुरा गर्न संघर्ष गरिरहेछु ।
यस्तै यस्तै अनगिन्ति सपनाहरु पुरा गर्नका लागि डबल ड्यूटी गरिरहेको छु ।
थोरै बाँकी समय निकालेर समाचार सुन्ने मेरो बानी
झनै आजकाल मलाई अर्को पीडा थपिदिएको छ ।
भ्रष्टाचारीहरु दिनानुदिन फस्टाउँदै छन् ।
दुःखी, गरिब अनि अन्यायमा परेकाहरुको आशा अनि भरोसाहरु अस्ताउँदै छन् ।
नेताहरु ठेकेदार बन्दै, कार्यकर्ताहरु दलाल बन्दै छन् ।
कर्मचारीहरु घुसिया बन्दै, चिया पसलदेखि सिंहदरबारसम्म कमिशनको ‘बार्गेनिङ’ चलाउँदै देश बेचिरहेका छन् ।
के यसरी देश बन्छ ? के यसरी समृद्धि हाँसिल हुन्छ ?
हामी परिवार बिगारेर देशका लागि खुनपसिना बगाइरहेका छौं ।
सरकार आखिर कहिले सम्म ?
के हामिलाई आफ्नो देशमा आफ्नो परिवारसँग बसेर जीवनयापन गर्ने अधिकार छैन ?
प्रेमपुञ्ज, काठमाडौं
र, यो पनि पढौं..