बाग्लुङै । जिल्ला बाहिर रहेका धमाधम गाउँ फर्किन थालेपछि स्थानीय तह असन्तुष्ट छन् । आफूहरुसँग सल्लाह नै नगरी काठमाडौँ पोखरालगायतका शहरमा बस्ने गाउँ भित्र्याइएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् ।
“हामी पहिलो चरणमा ‘लकडाउन’को कार्यान्वयन गराएर अब ढुक्क छौँ भन्ने अवस्थामा थियौँ, तर एकाएक मान्छे बाहिरबाट आएका छन्”, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, “लकडाउनको उल्लङ्घन गरेर मान्छे पठाएको पटक्कै चित्त बुझेको छैन् ।” उनले आफ्ना नागरिकलाई गाउँ आउन नपाउने भन्न नमिल्ने भन्दै आएकालाई सुरक्षित कसरी राख्ने भन्ने समस्या रहेको बताए ।
“काठमाडौँबाट मान्छे हिँडेपछि समन्वय गर्न भन्दै फोन आयो, कसरी व्यवस्थापन गर्न सकिन्छ”, गैरेले भने, “क्वारेन्टाइनमा राख्नु भन्ने छ, हामीसँग १८ वटा क्वारेन्टाइन श्यया छन् तर मान्छे सयौँ ।” जो जहाँ छन् त्यही रहेर सावधानी अपनाउनुपर्नेमा हुलका हुल मान्छे गाउँ भित्रिएको उनले गुनासो गरे ।
जैमिनी नगरपालिकाले पनि देशका ठूला शहरबाट आएका नागरिकका कारण कोरोना सङ्क्रमण रोक्न थप चुनौती खडा भएको जनाएको छ । जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन “रोगको गाम्भीर्यतालाई ख्याल नगरेर मानिसको ओसारपसार गरिरहेका स्वघोषित समाजसेवीका कारणबाट गाउँमा जोखिमको मात्रा ह्वात्तै बढ्यो, झनै सचेत बनौँ, बाहिरबाट भित्रिएकाले अनुशासनको पालना गरौंँ ।”
ठूला शहरबाट लकडाउनकै अवधिमा उद्धारका नाममा घर पठाउने काममा प्रदेशसभा सदस्यलाई समेत चित्त बुझेको छैन । “सङ्कटमा परेका मजदूरको उद्धार गरेर गन्तव्यमा पु¥याउनु ठिकै हो तर एक महिना काठमाडौँमा बस्न निस्सायौँ भनेर गाउँ फर्कनु र फर्काइँनु गलत हो”, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भने, “देशभित्रै भएका नागरिकले त सहयोग गर्नुपर्ने बेला हो यो ।” उहाँले लकडाउन र सङ्क्रमणको त्रासलाई चुनौती दिने काम भइरहेको टिप्पणी गरे ।
कोरोना सङ्क्रमणको त्रासले लकडाउनपछि सुनसान बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो । खचाखच मान्छे बोकेका सवारीसाधन बिहान ४ः०० बजेदेखि ७ः०० बजेसम्म यो सडकमा ताँती नै देखिने गरी गुडिरहे ।
बाग्लुङ र पर्वतको सिमाना मालढुङ्गास्थित प्रहरी चेकपोष्टमा गरिएको सवारी दर्ताअनुसार, यो बीचमा यात्रु बोकेका दर्जनौँ सवारी जिल्ला भित्रिएका छन् । सवारीमध्ये अधिकांश ठूला बस छन् । बसबाहेक अत्यावश्यक काम देखाएर जिल्ला भित्रिने र बाहिरिनेको साना सवारीको सङ्ख्या धेरै छ ।
प्रहरी पोष्टका अनुसार, शुक्रबार मात्रै यात्रुले भरिएका १८ ठूला बस मालढुङ्गा चेक पोष्टबाट भित्रिए । साना सवारीको सङ्ख्या त्योभन्दा बढी रहेको प्रहरी सहायक निरीक्षक रामबाबु शाह बताउँछन । काठमाडौ मात्रै होइन पोखरा, नारायणगढ, गैँडाकोटलगायतका ठाउँबाट पनि जिल्लावासी घर फर्केका शाहले बताए । उनका अनुसार एक हजारभन्दा बढी सर्वसाधारण जिल्ला प्रवेश गरेका छन् ।
“हरेक बसमा ६० भन्दा धेरै आएका छन्”, शाह भन्छन । जिल्ला प्रवेश गरेकामध्ये मजदूर, विद्यार्थी र पेशा व्यवसायका लागेका छन् । काठमाडौँबाट जिल्लाको गलकोट, जैमिनी, ढोरपाटन र बागलुङ नगरपालिकाका धेरै नागरिक जिल्ला प्रवेश गरेका मालढुङ्गा प्रहरी पोष्टले जनाएको छ । त्योबाहेक काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका पनि धेरै प्रवेश गरेका छन् ।