राजविराजः अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेका छन ।
पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बनकि छन खातुन । उनले हालै एमबिबीएस उत्तीर्ण गरेकि छन । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिएकि खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गरेकि छन ।
एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय भने उनी आफ्ना आमाबुबालाई दिन्छन । “शायद उनीहरुले नपढाएको भए आज चिकित्सक बन्ने थिइनँ”, उनी भन्छिन, “बल्ल मेरो सपना पूरा भएको छ ।” आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउछिन । नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उनी बताउछिन । त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लगिन खातुनले ।
उनले विसं २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भएलगत्तै उनले मेडिकल प्रवेश परीक्षाका लागि तयारी थालिन । परीक्षा त दिइन तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । उनी भन्छिन, “तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाए ।”
एमबिबीएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छन । उनका बुबा कल्याणपुर बजारका व्यवसायी हुुन भने आमा खड्क नगरपालिकाका उपप्रमुख हुन । आमाबुवाले सधैँं आफूलाई प्रोत्साहन दिँदै सहयोग गर्दै आएकै कारण आज आफूले एमबिबीएस उत्तीर्ण गरेको उनी बताउछिन ।
इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उनले सोच बताएकी छन । “जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु”, उनले भनिन्। एमबिबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उनले राखेकी छन ।
छोरी पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्दै उनी हरेक छोरीलाई पढाउनुपर्ने बताउछन । “हरेक छोरीमा कुनै न कुनै गुण हुन्छ, प्रतिभा हुन्छ”, उनी भन्छिन, “तर सानै उमेरमा विवाह गरिदिएपछि ती प्रतिभा प्रष्टफुटित हुन पाउँदैन । उनीहरुको सपना तुहिन्छ ।” प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरुक बन्दै जाने उनको विश्वास छ ।
जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहेकी छन । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहेकी छन । तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनी बताउछिन । “म चाहन्छु हरेक अभिभावकले आफ्ना छोरीलाई पढाउन् र विश्वास गरुन्” उनी भन्छिन, “आज मेरो अभिभावकले ममाथि विश्वास नगरेको भए म अगाडि नै बढ्ने थिइनँ, मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेसमा तुलनात्मकरूपमा मुस्लिम महिला सामाजिकरूपमा पछाडि नै छन् । अरुले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनुपर्छ ।”
मुस्लिम समुदायबाट जेवाले एमबिबीएस उत्तीर्ण गरेपछि उनका छरछिमेक पनि खुशी छन् । छिमेकी अनवर अलीले यो सफलता उनको मात्र नभई मुस्लिम समुदायकै पनि भएको बताउछन । “जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले पनि त्यसमा साथ दिनुपर्छ”, उनी भन्छिन, “यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ ।” रासस