काठमाडौँ : कर्णाली प्रदेश सरकारका कृषि, भूमि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कर्णाली प्रदेश यतिबेला तरंगित छ । दुई वर्षअघि एक महिलालाई यौन दुर्व्यवहार गरेको भिडियो अहिले सार्वजनिक भएपछि कर्णाली प्रदेश सरकार पूर्ण रुपमा तरंगित भएको हो ।
यसअघि मन्त्री शाहीले महिलालाई बलात्कार गरेको तथ्य बाहिरिएको थियो । तर अहिले भिडियो नै सामाजिक सञ्जाल फेसबुकका मेसेन्जरमा भाइरल भएपछि यसबारे गम्भीर प्रश्न उठेको छ । कृषिमन्त्री शाहीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भएपनि उनले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
तर मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि नै राजीनामा र बर्खास्तको माग चर्केको छ । जसले गर्दा यतिबेला आरोपित मन्त्रीलाई राजीनामा दिनुपर्ने मागलाई बेवास्ता गरिरहेको मुख्यमन्त्री कार्यालय आफैमा जनताको नैतिकको कठघरामा उभिएको छ ।
फ्लोर क्रस गरेर आफ्नो पद बचाईदिएका मन्त्री शाहीलाई बर्खास्त गर्न यतिबेला मुख्यमन्त्री शाही हच्किएका छन् । तर यसको बदलामा उनले मन्त्रीलाई संरक्षण गरेर मुख्यमन्त्रीकै नैतिकता धुलिसात गरिरहेका छन् । यसको अर्थ कर्णाली प्रदेश सरकारकै नैतिकता उनले लिलामीमा राखेको पनि प्रस्ट देखिएको छ ।
मन्त्रीलाई बलात्कार जस्तो गम्भीर आरोप लाग्दा पनि यस विषयमा छानबनि गर्ने, वास्तविकता बुझ्ने, पीडितको संरक्षण गर्ने काममा मुख्यमन्त्री शाही गैरजिम्मेवार मात्रै होइन, इतिहासमै महिलाहिंसाको संरक्षणमा लागेको देखिन्छ ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि मन्त्री शाहीलाई तत्कालै बर्खास्त गर्नुपर्ने माग चर्कोसँग उठेको छ । तर अहिलेसम्म पनि मुख्यमन्त्री शाहीले एक शब्द बोलेका छैनन् । त्यति मात्रै होइन, सत्ता सहयात्राी कांग्रेसले पनि यसबारे सरकारको धारणा माग गरिरहेको छ । तर पनि मुख्यमन्त्री शाही र उनका सरकारका कोही पनि मन्त्री बोलिरहेका छैनन ।
सबैभन्दा ठूलो कुरा त भिडियो भाइरल भएपछि पीडित महिलाको संरक्षण सबैभन्दा टड्कारो बनेको छ । तर पनि मुख्यमन्त्री शाहीले त्यतातिर ध्यान दिएका छैनन् । कर्णालीका धेरै सामाजिक संघ संस्थामा कार्यरत महिला र अधिकारकर्मीले पीडित महिलाको संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् । तर पनि मुख्यमन्त्री शाहीले त्यसलाई बेवास्ता गर्दै आइरहेका छन् ।
मुख्यमन्त्री शाहीले औपचारिक बोली सार्वजनिक नगरेपनि प्रदेश सरकारकी प्रवक्ता सीता नेपालीले आरोपित मन्त्रीलाई तत्कालै बर्खास्त गर्न नसकिने धारणा मिडियामा आएको छ । पीडित महिलाले उजुरी नदिएको, बलात्कार आफैमा प्रोपोगाण्डा भएकाले यही आरोपमा मन्त्रीलाई बर्खास्त गर्न नसकिने धारणा उनको छ ।
यद्यपी भिडियो बाहिरिएपछि भने थप प्रतिक्रिया आएको छैन । यसरी हेर्दा कर्णाली प्रदेश सरकारले आरोपित मन्त्रीको संरक्षण गरेर प्रदेश सरकारका अरु मन्त्रीको पदीय धरातल पनि कमजोर बनाइदिएको छ । यसले कर्णाली प्रदेश सरकारले अझै धेरै आलोचना, अझ ठूलो नैतिक धरातलको पतन र पीडित तथा जनताको सुरक्षामा गैरजिम्मेवार सरकारको उपमा पाइरहनेछ ।
र, यो पनि पढौँ....