बागलुङ : यसै त पाठक पाउन छाडेका पुस्तकालय कोरोना महामारीका कारण थप सङ्कट झेल्न बाध्य छन् । मङ्गलबार परेको १४औँ राष्ट्रिय पुस्तकालय दिवससमेत नमनाई बित्यो । ज्ञानको भण्डार पुस्तकालयका ढोकामा महिनौँदेखि ताल्चा झुण्डिएका छन् ।
पाठकको आउजाउ छैन । सङ्क्रमणको जोखिम हुन नदिन पुस्तकालय खोल्न स्थानीय प्रशासनले रोक लगाएको छ । पुस्तकालय मात्र होइन, सबैखाले शैक्षिक संस्था सञ्चालनमा बन्देज छ । विसं २००३ मा खुलेको यहाँको प्रतिष्ठित विद्यामन्दिर पुस्तकालय अहिले सुनसान छ । महामारी भित्रिएदेखि नै यसको सेवा प्रभावित बनेको हो । पहिलो लहर मत्थर भएपछि बीचमा केही समय खुले पनि दोस्रो लहर सुरु भएसँगै गत वैशाखयता पुनः बन्द गर्नुपरेको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताए । “निषेधाज्ञाका कारण पुस्तकालय नियमित खोल्न सकिएको छैन, स्थिति सहज हुँदासाथ सञ्चालनमा आउँछ । मानिस भेला हुन नपाइने भएपछि पुस्तकालय दिवसलाई पनि औपचारिकता मात्रै दिइएको छ ।
कोरोनाअघि सप्ताहव्यापी कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने चलन थियो । पाठक घटिरहेको र पठन संस्कृतिमा पनि ह्रास आइरहेका बेला पुस्तकालय नै बन्द गर्नुपर्ने दुःखद् अवस्था निम्तिएको उनको भनाइ छ । सदरमुकाममै रहेको ज्ञानोदाय भगवती पुस्तकालयले लामो सङ्कट व्यहोरेपछि गत वर्षदेखि तङ्ग्रिँदै थियो । स्थानीयवासीले दुरवस्थामा पुगेको पुरानो पुस्तकालयको साख फर्काएका थिए । भवनको जीर्णोदार र नयाँ व्यवस्थापनपछि नियमित सञ्चालनमा आउन थालेको उक्त पुस्तकालय पनि कोरोनाका मारमा परेको छ ।
पुस्तकालयका सचिव लोकेन्द्र केसीले निषेधाज्ञाका कारण बन्द गर्नुपरेको सुनाउनुभयो । “पुस्तकालयले नयाँ स्वरुप लिएको छ, व्यवस्थित बनाएका छौँ, तर खोल्न पाइएको छैन । प्रशासनले अनुमति दिएपछि पुस्तकालय नियमित खुल्छ ।” विसं २०२१ मा स्थापित उक्त पुस्तकालय संरक्षण अभावमा जीर्ण स्थितिमा पुगेको थियो । पुस्तकालय अधोगतितिर लागेपछि पुस्तकालयप्रेमी र समुदाय मिलेर पुनःनिर्माणसँगै व्यवस्थापनमा जुटेका थिए । स्थानीय तहसहित सरकारका निकायले आर्थिक सहायता दिएपछि पुस्तकालय जोगिएको छ ।
यी दुई सदरमुकामस्थित नाम चलेका सार्वजनिक पुस्तकालय हुन् । यहाँका अन्य क्षेत्रमा रहेका पुस्तकालय पनि अहिले बन्द छन् । ती कहिले खुल्छन् ठेगान छैन । कतिपय पुस्तकालय शैक्षिक संस्थामातहत छन् । शैक्षिक क्षेत्र निर्वाधरूपमा नखुलेसम्म पुस्तकालय सञ्चालनमा आउने छाँटकाँट छैन । यही स्थिति अझै लम्बिँदै जाँदा पाठकले पुस्तकालय नै बिर्सने हुन् कि भन्ने चिन्ता छ । पुस्तकालय बन्द हुँदा व्यवस्थापनले नयाँ पुस्तकलगायत ज्ञानवद्र्धक सामग्री थप्न पाएका छैनन् । रेखदेख र सरसफाइ नहुँदा पुस्तकालय भवन नै बिरुप देखिन थालेका छन् ।
कोरोनाको दोस्रो लहर चलेपछि गत वैशाख २१ गतेयता यहाँ निषेधाज्ञा छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिए पनि कतिपय क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सङ्क्रमणदर घट्दै गएकाले क्रमशः सबै क्षेत्र चलायमान हुनेमा आशा जागेको छ । रासस