काठमाडौँ : कर्णालीमा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एस)ले प्रभाव बढाउँदै गएको छ । प्रकाश ज्वाला नेतृत्वको नेकपा समाजवादीले सुरुमा केही सांसदमो मात्रै विश्वास पाएपनि विस्तारै सबैतिर प्रभाव बढाउँदै गएको हो ।
तत्कालिन रुपमा कर्णालीमा ज्वालासहित दैलेखकी सांसद पार्वती विशंखे, राजबहादुर शाही , गोपाल बम लगायत छन् । यस्तै कर्णालीमा नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही छन् । शाही पछिल्लो समय यौन विवादका कारण विवादित रहेकाले उनी मन्त्री पदबाट बर्खास्त हुने सम्भावना धेरै छ ।
कर्णालीमा तत्काल स्थानीय तहका जनप्रतिनिधि हच्किएपनि सांसदहरुको संख्या भने एकपछि अर्को गरी समाजवादीमा लाग्ने सम्भावना रहेको छ । स्थानीय तहमा नेकपा एमालेमै रहनेको लहर चलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीबाट पर्याप्त अवसर नपाउने डरले पनि समाजवादीमा लाग्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
मन्त्रीका लागि रस्साकस्सी
माधव नेपालको नयाँ पार्टीमा यतिबेला मन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । केन्द्रमा पनि माधव नेपालले देउवा सरकारमा राम्रै भाग पाउने भएकाले काठमाडौँको नयाँ बानेश्वरस्थित होटल अर्यालमा दैनिक मन्त्रीका लागि नेता तथा सासंसदहरुको रस्साकस्सी चलिरहेको हो ।
मन्त्रीका लागि कर्णालीकै सांसद पार्वती विशंखे, राजबहादुर शाही, गोपाल बम लगायतको तीव्र लबी चलिरहेको छ । यस्तै कर्णालीमा पनि कुर्मराज शाही बर्खास्त हुने सम्भावना बढेपछि मन्त्रीका आकांक्षी बढेका छन् ।
अहिले विगतमा फ्लोर क्रस गरेकाहरु मात्रै माधव नेपालको समाजवादी पार्टीमा लागेपनि मन्त्री बन्न पाउने भएपछि कर्णालीमा फेरि पार्टी क्रस गर्ने सम्भावना बढ्दो छ । यसका लागि भित्रभित्रै छलफल चलिरहेको पनि नेताहरुले बताएका छन् ।
विगतमा कर्णालीमा माधव नेपालले राम्रो पकड जमाएकोले पनि अहिले धेरैजसोले माधव नेपालप्रति अनुदार जनाएका छैनन । पार्टी फुटसम्म जान नसकिने भन्दै धेरै नेताहरुले अन्तिम समयमा माधव नेपालको साथ छाडेका हुन् । कर्णालीका १० जिल्लामध्ये आधाभन्दा बढीमा विगतमा आफ्नो प्रभाव जमाएका माधव नेपाल अहिले खुम्चिदो अवस्थामा छन् ।
तर यसलाई विस्तारै पद, आगामी चुनावी गठबन्धन, त्यसबाट प्राप्त हुने अवसरलाई समात्न पनि नेताहरु माधव नेपालको पार्टीमा लाग्ने सम्भावना बढेको हो । यद्यपी अहिले काठमाडौँ र कर्णालीमा खुलेर माधव नेपालको समाजवादीमा लाग्नेको संख्या भने न्यून छ ।