काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन । बालुवाटार पुगेर बामदेवले अध्यादेशले पार्टीभित्र र बाहिर शाख खस्किदै गएको भन्दै पदबाट राजीनामा दिएर बस्न ओलीलाई सुझाव दिएका हुन ।
मधेसी दल फुटाउने भनेपनि नेकपा नै फुटाउने गरी अध्यादेश ल्याइएको भन्दै बामदेवले यो गम्भिर गल्ती र क्षमा गर्न नसकिने अपराध भएको ओलीलाई सम्झाए । नेकपा नेताहरु केही समझदार बनेको भन्दै धैर्यता र एकताकै कारण पद जोगिएको पनि ओलीलाई बामदेवले वास्तविकता बताए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले प्रधानमन्त्री फेर्न चाहेको वास्तविकता पनि बामदेवले ओलीलाई सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने, सक्ने भए प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौति दिएको पनि वामदेव निकट स्रोतले जनाएको छ ।
अध्यादेश फिर्ता लिएपनि नेकपामा प्रधानमन्त्री ओलीप्रतिको विश्वास र भरोसा नेताहरुमा टुटेको छ । सधै अपरिपक्व निर्णय गरेर पार्टीलाई बदनाम गराउने प्रयास भइरहेको भन्दै नेकपा शीर्ष नेताहरु प्रधानमन्त्री फेर्ने तयारीमा छन । त्यो संकेत पाएका ओलीले प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा र बामदेवसँग परामर्श गरिसकेका छन ।
तर पनि उनले सत्ता सुरक्षित भएको महसुस गर्न सकेका छैनन् भने नेकपाका शीर्ष नेता ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने दाउमा लागेका छन ।