काठमाडौ । अध्यादेश राजनीतिले सत्ताको कुर्सी हल्लिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट हटाएर देखाउन आफ्नै पार्टी नेकपाका नेताहरुलाई धम्की दिएका छन । शनिबार बालुवाटारमा उपाध्यक्ष बामदेव गौतममार्फत ओलीले सक्ने भए प्रधानमन्त्री पदबाट हटाएर देखाउन नेकपाको सचिवालयका बहुमत सदस्यलाई धम्की दिएका हुन ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलसँग भेटेर सम्बन्ध सुधार्नुका साथै अध्यादेश राजनीतिबाट सेफल्याण्डिंग खोजेका ओलीले शनिबार भने बामदेवमार्फत आफ्नो पुरानै हठ र दम्भ प्रस्तुत गरेका छन । जुन ओलीका लागि अर्को घातक हुने संकेत देखिएको भन्दै नेकपा नेताहरुले यो अभिव्यक्तिलाई गम्भिर रुपमा लिएका छन ।
दुई तिहाई बहुमतको सरकार र लाखौ कार्यकर्ता भएको पार्टी चलाउने नेकपाको सचिवालयमा ओली अल्पमतमा छन । उनी अल्पमतमा मात्रै होइन । नेताहरुले चाहेको खण्डमा प्रधानमन्त्रीको कुसी छाडेर ओली घर फर्किनुपर्ने बाध्यतामा पुगिसकेका छन ।
तर पनि ओलीमा दम्भ कम छैन । उनलाई सजिलै सरकारबाट कसैले हटाउन नसक्ने भ्रम छ । आफ्नै नेतृत्वमा चुनाव जितेको, माओवादीलाई एमालेमा विलय गराएर सरकारमा ल्याएको भन्दै ओली पार्टीभित्र र बाहिर कसैलाई पनि सुन्ने र गन्ने अवस्थामा झनै छैनन् । जसको परिणाम हो अध्यादेश राजनीति ।
उस्तै परे नेकपाबाट एमाले चोइट्याएर प्रधानमन्त्री र अध्यक्ष बनिरहने दाउमा ओली थिए । जसका लागि उनलाई संविधान नै सच्याउनु थियो । संसदमा झन बहस र छलफल हुने भएपछि उनले चोरबाटोबाट अध्यादेश मात्रै ल्याएनन् । गुटमा पनि सबैभन्दा नजिक र विश्वासिली पात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट १५ मिनेटमै प्रमाणीकरण गराउन सफल भए ।
यसको तत्कालै प्रयोग उनले मधेसवादी दल राजपा र समाजवादी पार्टीमा गर्न चाहन्थे । सत्ताको लोभ देखाएर दुबै पार्टीलाई पहिलो फुटाउने अनि पछि नेकपालाई नै विभाजन गरेर अझै कम्तीमा १० बर्ष नेपाली राजनीतिको केन्द्रमा बसिरहने ओलीको चाहना थियो ।
तर ओलीको त्यो दम्भ र भ्रम नेकपाबाट भन्दा बढी मिडियाबाट तोडियो । लगातार एकपछि अर्को गरी अध्यादेशका बारेमा नेकपाका असन्तुष्ट नेताहरुको सहयोगमा ओलीको दम्भ मिडियाले पातालमा पुर्याएपछि उनी डराएनन् मात्रै । यसै विषयलाई उचालेर भोलि सरकार छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यादेश फिर्ता लिन सहमत भए । यसले तत्कालका लागि उनको प्रधानमन्त्री कुर्सी भने जोगिएको छ ।
अध्यादेश जारी गरेको चार दिनमै फिर्ता लिएका ओलीले पार्टीभित्र आफू अब बाघ नभई बिरालो भएको पनि स्पष्ट संकेत पाएका छन । यसअघिदेखि नै पेलेरै निर्णय गर्न बानी परेका ओलीलाई यसपटक अर्का अध्यक्ष प्रचण्डले बामदेव गौतम, माधव नेपाल र झलनाथ खनालसँग मिलेर भित्तामा पुर्याएका छन ।
प्रचण्डको यो राजनीतिक रणनीतिले ओलीको प्रधानमन्त्री कुर्सी कतिबेला फुत्किने हो पत्तो छैन । तर दुई तिहाई सरकारको नेतृत्व गरेका ओलीलाई उनकै नेतृत्वमा चुनाव जितेकाले सजिलै हटाउन भने गाह्रो छ ।
स्थायी समितिलाई टार्ने, केन्द्रिय समिति बैठक सार्ने !
कोरोना संक्रमणमा कमजोर व्यवस्थापन, एकपछि अर्को विवादास्पद गतिविधि र कसैसँग पनि छलफल नगरी हचुवामा निर्णय गर्ने प्रधानमन्त्री ओलीको कार्यशैलीले नेकपाका नेता मात्रै होइनन । उनलाई भोट दिएर प्रधानमन्त्री बनाएका जनता र कार्यकर्ता पनि दिक्क भइसके । सानैदेखि निकै दम्भी स्वभावका प्रधानमन्त्री ओलीलाई बेला बेला एमालेका अरु नेताले बलियो साथ दिएर सम्हाल्दै आएका छन ।
तर यसपटक ओलीको छत्रछायामा रमाएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि चुकेका छन । पार्टी महासचिवको जिम्मेवारी पाएका विष्णु पौडेलका कुरा सुन्न ओली तयार छैनन् । सबैजसो युवा भनिएका तर कमिशनमै रमाएका सल्लाहकारहरुको पनि गतिलो सुझाव आत्मसात नगर्ने बानीले ओली आफ्नो लोकप्रियता दिनदिनै गुमाइरेका छन ।
ओलीसँगै पार्टीकै आलोचना र बदनाम बढेपछि नेकपाका नेताहरुले तत्काल स्थायी समिति बैठक र केन्दिय समिति बैठक बोलाउन माग गरेका छन । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष बामदेव गौतमले बालुवाटार नै पुगेर स्थायी समिति बैठक बोलाउन ओलीसँग माग गरेका हुन ।
यसअघि अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, भीम रावल, युवराज ज्ञवाली लगायतका २० जना नेताहरुले लिखित पत्र नै लेखेर प्रधानमन्त्री ओलीलाई कोरोना र अध्यादेशबारे गम्भिर छलफल गर्नका लागि स्थायी समिति बैठक तत्काल बोलाउन माग गरिसकेका थिए । दुई दिनअघि मात्रै भैसेपार्टीमा भएको बहुमत सचिवालय सदस्यको प्रचण्ड भेलाले पनि अध्यादेश फिर्ता लिनुका साथै स्थायी समिति बैठक र केन्द्रिय समिति बैठक बोलाउन माग गरेको थियो ।
तर ओलीले भने अध्यादेश फिर्ता लिएसँगै स्थायी समिति बैठक बोलाउन आलटाल गरिरहेका छन । उनी यसरी नै स्थायी समिति बैठक टार्ने र केन्द्रिय समिति बैठक सार्ने योजनामा छन । कोरोना बाहना देखाउँदै दुबै बैठक तत्काल सम्भव नहुने ओलीको धारणा छ ।
कोरोना र अध्यादेश राजनीतिले दुबै बैठकबाट आफ्नो आलोचना झन चुलिने निश्चित भएका ओली त्यो सामथ्र्य जुटाउन सकिरहेका छैनन् । यदि आफ्नै पार्टीका नेताहरुको यो मागबाट ओली भाग्दै जाने हो भने भोलिका दिनमा अर्को संकट व्यहोर्नुपर्ने अवस्था पनि आउन सक्छ । जुन ओलीले सोचेको छैनन् ।
ओलीले नछाड्ने, प्रचण्डले पछार्ने !
आफैले पार्टीको उपाध्यक्ष बनाएका बामदेव गौतममार्फत ओलीले सत्ता नछाड्ने स्पष्ट बताएका छन । कसैले भनिहाल्दैमा प्रधानमन्त्री पदबाट राजीनामा दिने आफू कमजोर र डरछेरुवा नेता नभएको ओलीको अडान छ । साथै उनले सक्ने भए प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौति पनि दिइसकेका छन ।
ओलीले चुनौति नै पेश गरेपछि अध्यक्ष प्रचण्डकासहितका नेताहरुले ओलीलाई बालुवाटारबाट हटाउने औपचारिक कसरत शुरु गरेका छन । यसका लागि शुरुमा स्थायी समिति बैठक बोलाउन लगाउने, त्यहाँ ओलीको सबै घमण्ड झार्ने र पदबाट राजीनामा दिन दबाब दिने, त्यसपछि केन्द्रिय समितिबाट पनि त्यही नियती दोहोर्याउने प्रचण्डको योजना छ ।
माधव नेपाल र झलनाथ खनालले समेत ओलीलाई नरुचाएका कारण यो चलखेल प्रचण्डका लागि अवसर पनि हो । यसअघि आलोपालो सरकार चलाउने सहमतिबाट पछि हटेका प्रचण्ड त्यसैलाई फेरि निहुँ बनाएर ओलीसँग पौठेजोरी खेल्न तयार भइसकेको पूर्वमाओवादी नेताहरुको दाबी छ ।
ओलीको अहिलेको कार्यशैली नसुध्रिएमा जेठ वा असारसम्ममा सके आफै प्रधानमन्त्री हुने नसके माधव नेपाललाई भएपनि प्रधानमन्त्री बनाउने प्रचण्डको तयारी छ । यसमा नेकपा सचिवालय सदस्यका बहुमत सदस्यको साथ, सहयोग र समर्थन पनि छ ।
तर अझैपनि ओलीलाई सुधार्ने, सही निर्णय गर्न लगाउने र पार्टी एकतालाई टुंगोमा पुर्याउने अन्तिम विकल्प भने खुल्ला राख्ने प्रचण्डको भैसेपार्टी भेलाको निष्कर्ष हो । यसअघि सोही भेलाले ओलीलाई सचिवालयमा कमजोर बनाएको थियो भने अध्यादेश ल्याउन बाध्य पारेको पनि हो ।
तर दम्भी र घमण्डी स्वभावका ओलीले अझै कार्यशैली नफेरे कोरोना कहरसँगै नेपालमा सत्ता पल्टिने लगभग निश्चित छ ।