सिमकोट : हिमपातपछि भत्केको लिमी लाप्चा जाने पर्यटकीय सडकको मर्मत कार्य धमाधम भइरहेको छ । पर्यटकीय सिजन सुरु भएको कारण गाउँपालिकाले आफ्नै पहलमा सडक मर्मत कार्य अगाडी बढाइएको हो ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले हिउँदबाट भत्केको सिमकोट लिमी सडकको मर्मत कार्य केही दिनयता भएर अन्तिम चरणमा पुगेको जानकारी दिए ।
हिउँ र वर्षाले भत्काएको सडक मर्मत हुन नसक्दा यातायात सुचारु हुन सकेको थिए । वडाध्यक्ष तामाङ पनि डोजरसँग सडक मर्मत स्थलमा खटिएका छन् । उनले ८० भन्दा बढी स्थानमा भत्केको सडकको मर्मत कार्य अधिकांश सम्पन्न भएको र अब बाँकी पनि दुई दिनमा सम्पन्न हुने बताए ।
सडक मर्मत भएका स्थानसम्म गाडी पनि सुचारु हुन थालेका छन् । पाँच हजार मिटर अग्लो स्थानसम्मको सडकलाई हिम पहिरो र हिमपातले भत्काएको नौ महिनापछि मर्मत सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले सेजीदेखि सल्ली हुँदै तुम्लिङसम्मको सडक मर्मतको कार्य गाउँपालिकाले मेशिन परिचालन गरेर गरिरहेको जनाए । उक्त सडकको मर्मतको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयले बजेट अभावमा गर्न नसकिने जनाएपछि गाउँपालिका आफैले गर्नु परेको हो ।
नेपाली भुमि लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने सिजन सुरु भएको कारण पनि गाउँपालिका आफैले मर्मत कार्य गरि रहेको हो । वडा नम्बर १ को हेक्पा खोलाबाट सेजीसम्म भने निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालयले मर्मत कार्य गरेको थियो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले यसपटक बजेट अभावको कारण सिमकोट लाप्चा क्षेत्रको नब्बे किलो मिटर सडकमा भत्किएको सडकको मर्मत गर्न नसकिएको स्वीकार गरे । यद्यपि उनले भएको बजेटबाट थोरै भाग भएपनि सडकको मर्मत गरिएको र अब आगामी दिनमा मर्मतका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको बताए ।
सिमकोट लिाप्चा सडक नब्बे किलोमिटर लम्बाई रहेको छ । यसअघि नै उत्तरी हुम्ला खण्डमा पर्ने कर्णाली करिडोरमा हिल्सा सिमकोट सडक आयोजनाले मर्मतको अपनत्व लिने र सिमकोट लिमी सडकको मर्मत कार्य पूर्वाधार बिकास कार्यालयले गर्ने निर्णय भएको थियो । भत्केको सडकको मर्मतपछि लाप्चा क्षेत्रबाट कैलाश मानसरोवरको दर्शनमा सहजता आउने छ ।