काठमाडौ। लकडाउनपछि भारतबाट फर्किएर झापा र मोरङमा अलपत्र परेकाहरुको उद्धारका क्रममा सुर्खेतको चौकुने गाउँपालिकाले पैसा असुलेको गुनासो बाहिरिएको छ । गएको बैशाख ४ गते भारतबाट फर्केका चौकुनेका २० जना युवासहित ३१ जनाको चौकुने गाउँपालिकाले दुई वटा माइक्रोबस पठाएर उद्धार गरेको थियो ।
तर उद्धारका क्रममा गाडीमा इन्धन हाल्ने भन्दै २० हजार रुपैयाँ असुलिएको उद्धार भएका युवाहरुले गुनासो गरेका छन । उद्धार भएको झण्डै दुई हप्तापछि एक युवाले आफूहरुबाट पैसा लिएर उद्धार भएको बताएका हुन । उनले नाम नखुलाएपनि सामाजिक सञ्जालमा उद्धार गरेकाहरुबाट पैसा असल्नु गलत भएको भन्दै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको आलोचना गरेका छन ।
सामाजिक सञ्जाल फेसबुकमा विष्णु धमाला लेख्छन, 'गाउँपालिकाले अलपत्र युवाको उद्धार गरेकामा मनमा खुशी छाएको थियो । तर पैसा लिएर उद्धार गरिएको रहेछ । आखिर किन यस्तो काम गरियो ?'
धमाला जस्तै सामाजिक सञ्जालमा अरुले पनि स्टाट्स हाल्दै उद्धार गरिएकाहरुबाट पैसा लिनु गलत रहेको बताएका छन ।
गाउँपालिकाले पैसा असुलेको छैन, भ्रममा नपरौ : अध्यक्ष शाही
यता गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले गाउँपालिकाले पैसा लिएको नभई गाडीको चालकले इन्धन हाल्न पैसा लिएको स्पष्ट पारेका छन । उनले गाउँपालिका, गाडी चालक र उद्धार भएका युवाहरुको त्रिपक्षीय समझादारीअनुसार इन्धनको पैसा उठाइएको तर त्यो गाउँपालिकाले नलिएको स्पष्ट पारे ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा आलोचना बढेपछि गाउँपालिका अध्यक्ष शाहीका प्रेस सहयोगी नन्दाराम खनालले पनि यो आरोप झुटो रहेको दाबी गरे । उनले अलपत्र युवाको उद्धार गर्दा पैसा असुलिएको विषयमा गाउँपालिकाको कुनै संलग्नता नभएको पनि स्पष्ट पार्न खोजेका छन ।
उनका अनुसार युवाहरुले गाडी माग गरेका कारण सुर्खेतका गाडीधनीसँग समन्वय गरेर गाडी पठाइएको हो । तेल हाल्ने विषयमा उद्धार गरिने युवाहरु आफै हाल्न तयार रहेको भनेपछि त्यो पैसा उनीहरुले गाडी चालकलाई दिएको र तेल हालेर उनीहरुलाई दुई वटा माइक्रोमा चौकुने ल्याइएको खनालले बताए ।
साथै उनले कोरोनाको महामारीबाट जोगिनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बेला अनावश्यक भ्रम नराख्न पनि आग्रह गरेका छन ।
यो पनि पढ्नुहोस :
प्रदेश १ मा अलपत्र युवाको चौकुने गाउँपालिकाद्धारा उद्धार