सिमकोट : पहिलो पटक छनौट विधि अपनाएर शिविरमा उपचार गरिएका मध्ये पन्द्र जना बिरामीको जिल्ला बाहिर उपचार हुने भएको छ । विशेषज्ञ सेवासहित जिल्लामा सञ्चालन भएको चार दिने शिविरमा उपचार नहुने देखिएपछि विशेषज्ञ चिकित्सकको सुझावमा रिफर गरिएको हो ।
ग्रामीण स्तरबाट छनौट गरेर शिविरमा उपचार गर्न आएका विरामी मध्ये पन्द्र जनालाई जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । शिविरको आयोजक गोरखाको वेल्फेटार ट्रष्टका प्रवन्धक जय लिम्वुका अनुसार चार दिनसम्म सञ्चालन भएको शिविरमा उपचार गरिएका मध्य जटिल र जिल्लामा उपचार हुन नसक्ने पन्द्र जनालाई जिल्ला बाहिर रिफर गरिएको छ ।
यसरी रिफर गरिएका बिरामीहरु मध्ये केहीको नेपालगञ्ज र केहीको भने काठमाडौंमा उपचार हुनेछ । प्रवन्धक लिम्बुले जिल्ला बाहिर रिफर गरिएका बिरामीहरुको आर्थिक अवस्था हेरि यातायात, खाना र उपचार खर्चको ब्यबस्था गरिने बताए । शिविरमा उपचार गर्दा जटिल देखिएका बिरामीको जिल्ला बाहिर रिफर गरी थप उपचारमा आयोजकले नै आर्थिक सहयोग गर्न लागेको गरिएको पहिलो पटक हो ।
यसका लागि ट्रष्टले सातदेखि आठ लाख खर्च लाग्ने अनुमान गरेको छ । शिविर अवधिभर ६५० जना जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य चौकीले प्राथमिक चेकजाँच गरेर सिफारिस गरेका बिरामीहरुको उपचार गरिएको हो ।
शिविरमा ३३० जना महिला र ३१३ जना पुरुषको सिफारिस गरिएको थियो । भने, १७ जना जिल्लामै आएका व्यक्तिको उपचार भएको थियो । कुल उपचार गरिएका बिरामीहरुमा २९३ जना कान, २९५ जना आँखाका र बाँकी अपांगता भएका बिरामीको उपचार भएको हो ।
शिविरका क्रममा विशेषज्ञ चिकित्सकबाट चेकजाँच गरिएका कानका बिरामी मध्ये १४० जनालाई श्रवण यत्र निःशुल्क वितरण गरिएको, ४२ जनालाई कृत्रिम अंग वितरण र ५४ जनाको मोतिया बिन्दुको अप्रेशन गरेर चस्मा वितरण गरिएको थियो ।
यसका लागि तीनवटै रोगका लागि विशेषज्ञ चिकित्सक सहित १८ जना नर्सिङ स्टापहरुले उपचार गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
गाउँपालिकाले पनि सेवाग्राहीको आर्थिक अबस्था, बिरामीको जटिलता र बिरामी संख्याका आधारमा छनौट गरेर शिविरमा बिरामी पठाएका थिए ।
यसका लागि ट्रष्टका प्रवन्धक जय लिम्वु र डाक्टर देउमान लिम्वुको टोली जिल्लामा आइपुगेको थियो । शिविरमा आउने प्रत्येक बिरामीको कोरोना परिक्षण गरेर मात्र उपचार भएको थियो ।
योसँगै चेकजाँच गरेर उपचाररत बिरामीको फ्लोअप पनि जिल्ला अस्पतालको चिकित्सकको समन्वयमा ट्रष्टले गर्ने छ । शिविर सञ्चालन गर्न कुला साठीदेखि सत्तरी लाख लागत लागेको जनाईएको छ ।