काठमाण्डौ । ग्लोबल स्टार नेपालका सन्दीप लामिछाने एसिया ११ टिममा परेका छन । विराट कोहलीको कप्तानीमा रहेको एसिया ११ बाट सन्दीपले विश्व ११ टिमसँग दुई खेल खेल्नछन ।
बंगलादेश क्रिकेट बोर्ड बीसीबीले आफ्ना संस्थापक शेख मुजीव रहमानको १०० औँ जन्मजयन्तीका अवसरमा दुई वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट आयोजना गर्न लागेको हो । बीसीबीका अध्यक्ष नज्मुल हरसका अनुसार विश्वका उत्कृष्ट खेलाडीलाई बंगलादेशमा बोलाएर क्रिकेट खेलेको हेर्नका लागि यो अवसर जुराइएको हो ।
कोहलीको कप्तानीमा एसिया ११ टिममा भारतकै लोकेश राहुल, शिखर धवन, रिसभ पन्त, मोहम्मद शामी, कुलदिप यादव, बंगलादेशका तमिम इकवाल, लिटोन दास, मुसाफिकर रहिम, मास्तफिजुर रहमान, श्रीलंकाका थिसरा परेरा, लासिथ मालिंगा र अफगानिस्तानका रसिद खान तथा मुजिर उर रहमान छन । यी मध्ये ११ जनाले मात्रै खेल्न पाउनेछन ।
एसियाका उत्कृष्ट क्रिकेटरलाई समेटेर एसिया ११ टिम निर्माण गरिएको बिसीबीले जनाएको छ ।
विश्व ११ का कप्तान डुप्लेसिस !
दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसको कप्तानीमा विश्व ११ टिम छ । जहाँ एसिया बाहेकका उत्कृष्ट खेलाडीलाई समेटिएको छ । डुप्लेसिसले भने हालै दक्षिण अफ्रिकाको ट्वेन्टी ट्वेन्टी र टेस्ट क्रिकेटको कप्तानीबाट राजीनामा दिएका छन ।
विश्व ११ टिममा युनिभर्सल बोस वेष्ट इण्डिजका क्रिस गेल, निकोलल पुरन, किरोन पोलार्ड, शेल्डोन कटट्रेल, दक्षिण अफ्रिकाका लुंगी नेग्डी, इंग्ल्याण्डका एलेक्स हेल्स, जोनी बे्रश्चो, आन्द्रे टाइ, मिचेल म्याक्लेघन, ब्रेन्डन टेलर छन ।
विश्व ११ र एसिया ११ का खेलाडीमध्ये सन्दीप सबैभन्दा कान्छा खेलाडी हुन । यसअघि सन्दीपले बेलायतको लड्स मैदानमा वेष्ट इण्डिजविरुद्ध शाहिद अफ्रिदीको कप्तानीमा विश्व ११ का तर्फबाट खेलेका थिए । त्यसबेला एक ओभर मात्रै बलिंग गर्न पाएका सन्दीपले १३ रन खर्चिएका थिए ।