जुम्ला : जुम्लाका कोभिड प्रभावित व्यवसायीको पुनर्स्थापनाका लागि किर्डाक नेपालले करिब एक करोड बढी बजेट लगानी गरेको छ । एकीकृत पोषण तथा उत्थानशिल परियोजनामार्फत व्यवसाय पुनर्स्थापनका लागि पातारासी, तिला र तातोपानीमा गरी एक करोड ४० लाख १४ हजार आठ सय रुपैयाँ लगानी गरिएको फिल्ड कार्यक्रम प्रवन्धक भेषबहादुर रावलले बताए ।
उनका अनुसार व्यवसायको प्रकृति अनुसार १६ हजार देखि ५० हजारसम्मको सामग्री सहयोग गरिएको छ । पोषणस्थिति सुधार आयआर्जन वृद्धिका लागि जुम्लाका चार सय ४२ जना किसानलाई ७० लाख ७५ हजार बराबरको कृषि सामग्री वितरण गरिएकोसमेत रावलको भनाइ छ ।
जुम्लाका एक हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सयबराबरको राहत उपलब्ध गराइएको छ । किर्डान नेपालको तथ्यांक अनुसार कोभिड प्रभावित एक सय ९७ खुद्रा साना व्यापारी, १६ वटा होटेल व्यवसाय, एक ग्रिल उद्योग, ६ वटा फलफूल प्रशोधन, ११ वटा फर्निचर उद्योग, चार वटा फ्रेस हाउसलाई पुनर्स्थापना गर्न लगानी गरिएको हो ।
त्यस्तै, ५६ जना बाख्रा पालन व्यवसायीलाई ५० हजार दरका हिसाबले सहयोग गरी व्यवसाय पुनर्स्थापना गरिएको छ । पाँचवटा आरन व्यवसाय, चारवटा भैँसी पालन व्यवसाय, २१ जनाको सिलाइ कटाइ व्यवसाय, स्याउ नर्सरी, इलेक्ट्रोनिक, मोबाइल मर्मत लगायत १९ प्रकारका व्यवसायको पुनर्स्थापनाका लागि लगानी गरिएको छ ।
कोरोना संक्रमणका कारण दुई वर्षदेखि थलिएका साना व्यापार व्यवसाय गर्ने व्यवसायीलाई दाताले अनुदान प्रदान गरेको छ । कोरोना प्रभावित व्यवसायी पुनर्स्थापना गर्नका लागि अनुदान प्रदान गरिएको पातारासी गाउँपालिका– ५ ल्होर्पगाउँका रमेश बुढाले बताए । वर्ल्डभिजनको सहकार्यमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित एकीकृत पोषण तथा उत्थानशील परियोजनामार्फत कोरोनाबाट प्रभावित जुम्लाका तीन सय ५५ जना व्यवसायीलाई पुनर्स्थापना गरिएको छ ।
परियोजना सञ्चालन भएको पातारासी, तातोपानी र तिला गाउँपालिकाका तीन सय ५५ जना कोभिड प्रभावित व्यवसायीलाई पुनर्स्थापना गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत महेन्द्रजङ शाहीले बताए । कोभिड प्रभावित व्यवसायीलाई वडाको सिफारिसमा सहयोग गरिएको हो ।
सामग्री सहयोगसहित व्यापार सञ्चालन र लेखाजोखासम्बन्धी तालिमसमेत प्रदान गरिएको छ । कोभिड प्रभावित पुनर्स्थापित भएका व्यवसायहरूको अनुगमन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले व्यवसाय प्रवर्द्धन, स्थानीयको आयआर्जन वृद्धि तथा पोषण स्थितिमा सुधार, उत्पादन वृद्धिका काममा लगानी गरेको बताए ।