एजेन्सी : हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न हुँदैन र गरिँदैन पनि । किनकी हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न मिल्दैन । गोत्र समान हुदाँ परिवारको सम्बन्ध एकै कुलको मानिन्छ ।
जसको कारण केटा र केटीको सम्बन्धलाई भाई र बहिनी रुपको लिईन्छ । यसकारण उनीहरुको बीच वैवाहिक सम्बन्धलाई मान्यता दिइँदैन । विशेष गरि यो चलन ब्राह्मण र क्षेत्री जातीमा रहेको छ।
हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा बिभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ । वैवाहिक सम्बन्ध राम्रो हुँदैन ।
विवाहमा गोत्रको ठूलो महत्व छ र विवाह गर्नुअघि वा बर बधुको विवाहको कुरा चलाउनु अघि एउटै गोत्र पर्छ कि पर्दैन सबै बुझेर मात्र हाम्रा अग्रजहरुले कुरा चलाउँनु हुन्छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै बर वा बधु सहगोत्री छन्÷छिन् भने विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन । कतिपय अवस्थामा केटा केटीको मन परापर भएर प्रेम हुने, प्रेमपछि विवाहको कुरा चल्दा गोत्र एउटै भएर विवाह रद्ध हुने अवस्था पनि आउँदछ ।
त्यसैले विवाह छिन्ने समयमा गोत्रको ख्याल गर्नुपर्छ । गोत्रको सम्वन्ध रगतले निर्धारण गरेको हुन्छ अर्थात जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री, पुरुष, भाइबहिनी हुन् र उनीहरूका बीच विवाह हुनु भनेको हाडनाता भित्र विवाह हुनु हो ।
मत्स्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ । यस्ता जोडीबाट सन्तान पनि गतिला जन्मदैनन् । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।