हुम्ला : सिमकोट गाउँपालिकाका विद्यालयहरु आगामी भदौ २७ गतेबाट सञ्चालन हुने भएका छन् । गाउँपालिकाको शिक्षा समितिको बैठकले कोरोना संक्रमण केही मत्थर भएको निष्कर्ष निकाल्दै विद्यालयहरु सुचारु गर्ने निर्णय गरेको हो ।
समितिको बैठकमा छलफल गरी भदौ २७ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।
कोरोना संक्रमण न्यून हुँदै गएको देखिएपछि समिति यो निष्कर्षमा पुगेको हो । यसका लागि विद्यालयहरुले स्वास्थ्य मापदण्ड भने पुर्ण रुपमा अपनाउनु पर्नेछ । सिमकोट गाउँपालिकामा २३ वटा सामुदायीक विद्यालय र चार वटा नीजि विद्यालयहरु रहेका छन् ।
यसअघि लामो समय बन्द रहेका जिल्ला भरिका सामुदायिक विद्यालयमा निक्कै सावधानी अपनाएर पठन पाठन सुचारु गर्ने जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीसीएमसी)ले निर्णय गरेको थियो । कोरोना संक्रमण केही कम भएको र विद्यालय खुलाउनु पर्ने माग सबैतिरबाट आइरहेको बेला केन्द्रको केही दिन अगाडी बसेको बैठकबाट सो निर्णय भएको थियो ।
सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेकोले केन्द्रको बैठकमा छलफलपछि विद्यालय खुलाउने निर्णय गरेको थियो । निर्णयपछि जिल्ला प्रशासन कार्यालयले सातवटै गाउँपालिकामा विद्यालय खुलाउने पत्र लेखेको थियो ।
सबै क्षेत्र खुला रहेको बेला बिद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आइरहेको थियो । केन्द्रको निर्णयपछि गाउँपालिकाले विद्यालय खुलाउदा कोरोनाको अवस्था मुल्याङ्कन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरण तयार भएपछि विद्यालय सुचारु गर्न सक्ने बाटो खुलेको थियो ।
जिल्ला अन्य छ वटा गाउँपालिकाहरुले भने विद्यालय सञ्चालनबारे कुनै निर्णय लिन सकेका छैनन् । हुम्लामा पठन पाठन गर्ने उपयुक्त समय हो ।