जुम्ला : आन्तरिक राजस्व कार्यालय जुम्लाले हेल्प डेस्कको नाममा चर्को शुल्क असुल्ने गरेको छ । आन्तरिक राजस्व कार्यालय करदातालाई सहज बनाउने भन्ने बहानामा सञ्चालन गरेको हेल्प डेस्कले चर्को शुल्क असुल्ने गरेको हो ।
उद्योग बाणिज्य संघ जुम्लाले करदातालाई कर तिर्नको लागि सहज हुने भन्दै संञ्चालन गरेको डेस्कले चर्को शुल्क असुली गरेको नागरिकले गुनासो गरेका छन ।
पछिल्लो समयमा आन्तरिक राजस्व कार्यालय जुम्लाले सबै काम डिजिटल बनाएको छ । उद्योग वाणिज्य संघ जुम्लाले आन्तरिक राजस्व कार्यालय परिसर भित्र हेल्प डेस्क स्थापना गरेर सेवाग्राहीबाट चर्को शुल्क लिदै आएको छ।
हेल्प डेस्कले भ्याट – प्यान दर्ता, भ्याट थप, कर चुक्ता लगायतका काम गर्ने गरेको छ । जसमा भ्याट – प्यानको दर्ताको फम भरिदिए बापत ५०० लिने गरेको छ । भने कार्यलय बाहिर रहेका प्राइभेट फर्मले ३५० रुपियाँ मात्र लिने गरेका छन् ।
यस्तै, भ्याट थपको लागि प्राइभेटले ५० रुपियाँ मात्र लिदा उद्योग वाणिज्य संघले संञ्चालन गरेको डेस्कले ३०० रुपियाँ लिने गरेको छ । कर चुक्ताको लागि भने १०० रुपियाँ लिने गरेको हेल्प डेस्कमा कार्यरत कर्मचारी रोजिना रावतले बताइन् ।
आन्तरिक राजस्व कार्यालय प्रमुख नाराद प्रसाद शर्माले भने बाहिर २०००–२५०० माग्ने गरेको सेवाग्राहीको गुनासो आएपछि हेल्प डेस्कमा बस्ने कर्मचारीको लागि न्युनतम शुल्कमा गर्नको लागि उद्योग वाणिज्य संघको पहलमा हेल्प डेस्क स्थापना बताए ।
यस्तै, उद्योग वाणिज्य संघले भने अहिले आन्तरिक राजस्वका सम्पुर्ण काम अनलाइनमार्फत गरिने भएकोले सेवाकै लागी पहिले देखि नै संघको कार्यलयबाट थोरै शुल्कमा यी कामहरु गर्दै आएको बताएको छ । तर पछिल्लो समय आन्तरिक राजस्व कार्यलयमा सेवाग्राहीको भीड बढेपछि कार्यालय भित्रै हेल्प डेस्क स्थापना गरिएको बताइएको छ ।