खलंगा : जुम्लाको पातारासी गाउँपालिका – ३ छुम गाउँका कालीबहादुर महतारा घर नजिकै मोटरबाटो पुगेपछि खुसी भएका छन् । पातारासीका हरेक गाउँ बस्ती सडक सञ्जाल जोडिदा महतारा मात्रै होइनन् अन्य स्थानीय पनि खुसी भएका छन् ।
सडक जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषि जन्य बस्तु लिन सहज भएको महताराले बताए । अहिले जुम्ला सदरमुकाम खलंगादेखि दुई बस र चार वटा जीप सञ्चालनमा छन् ।
सवारी साधनको आवत जावतसँगै यहाँका नागरिकले घण्टौँ सम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता हटेको छ।
सडक जोडिएपछि यहाँका नागरिक निकै खुसी भएका हुन् । अहिले व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न छुममा पुग्ने गरेका छन् । सदरमुकामदेखि उर्थुचौतारासम्म त अटो समेत चल्न थालेका छन ।
सडक पुगेको भएपनि कच्ची सडकका कारण वर्षातको बेला यातायात सञ्चालनमा असहजता आउने गरेको ना ४ ख ८३२४ नम्बरका गाडी चालक कृष्ण बिष्ट बताउँछन् ।
उनले, ‘‘पातारासीको गाउँ बस्तीसम्म सडक पुगेको छ । जसले यहाँका नागरिकलाई आवत–जावत गर्न निकै सहज छ । बिरामीलाई एम्बुलेन्सबाट ल्याउन सकिने भएको छ’ भने ।
रानारावत र उर्थु गाउँ सडक जोखिमपुर्ण
चन्दननाथ नगरपालिकाको रानारावत र उर्थु गाउँ नजिकै गाडिहरुले जोखिमपुर्ण यात्रा गर्नुपर्ने भएको छ । पहिले बाटो राम्रो थियो, यात्रा सहज थियो। अहिले स्तरोन्नति लागि ठेकेदारले जिम्मेवारी लिएपछि सडक अस्तव्यस्त बनेको स्थानीय बताउँछन् ।
बनाएका संरचना ध्वस्त भइसकेको चालक कृष्णले भने, ‘तत्काल सडक स्तरोन्नपत गरेर यातायात सेवा सञ्चालनमा ल्याउन जरुरी छ। अनि मात्र यहाँको यातायात सेवा सहज हुनेछ।’
गाडी सञ्चालनको लागि रुट प्रमिट पनि छैन । यो सडक उर्थु हुदै राराताल जोड्ने सडक भएकोले स्तरोन्नतिको आवश्यक देखिएको छ । ‘पातारासी गाउँपालिकामा १६ वटा गाउँ छन् ।
सबै गाउँमा गाडी पुगिसकेको छ । एम्बुलेन्स सबै गाउँमा पुग्छ’ ‘प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘सडक स्तरोन्नति गर्न बाँकी छ । यो पनि चालु आर्थिक वर्षभित्रै काम सुरु हुन्छ। ’
सडक पुग्दा स्थानीय खुसी
स्थानीय सरकार आएपछि गाउँ गाउँमा सडक पुग्दा निकै खुसी भएको छुमका स्थानीयहरु खुसी भएका छन् । दुर्गम बस्तीमा सडक पुगेसँगै घरमै उत्पादित फलफुल अन्नपात सबै बजारसम्म लिन सहज हुने भएको स्थानीय बताउँछन् ।