काठमाडौं : जतिबेला कर्णालीमा माओवादी नेतृत्वको सरकार ढल्दै थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल हुन्थ्ये । तत्कालिन नेता कँडेलले घर झगडा मिलाउन नसकेपछि सत्ताबाट प्रतिपक्षीमा झरे ।
तत्कालिन कर्णालीमा माओवादी अल्पमतमै थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको (एक सांसदलाई पदमुक्त पारेर) १२ सिट, सभामुख राजबहादुर शाहीसहित २० सिट एमाले, नेपाली कांग्रेसको ६ र राप्रपाको १ सिट थियो । एकल बहुमत एमालेकै थियो ।
माओवादी नेतृत्वको सरकार ओरालो लागेको थियो । मुख्यमन्त्री शाहीको कुर्सी चैट भइसकेको थियो । गएको बैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्ने थियो । उनले विश्वासको मत पाउने कुनै चान्स थिएन । किन भने, एमालेको २० सिट थियो । माओवादी १२ सिटमा खुम्चिएको थियो । अल्पमतमा थियो ।
तैपनि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने विश्वास लिएका थिए । यसकारण कांग्रेससँगको सहकार्यमा । केन्द्रमा शेरबहादुर देउवासँग माओवादी अध्यक्ष प्रचण्डको सहकार्य भएसँगै कर्णालीमा पनि तटस्थ बस्ने भनेको कांग्रेस माओवादीसँग सहकार्य गर्न पुग्यो ।
अनि, मुख्यमन्त्री शाहीलाई कुर्सी जोगिने आशा जाग्यो । तर, कुनै हालतमा उनको सरकार जोगिनेवाला थिएन । किन, माओवादी र कांग्रेस मिलेर पनि प्रदेश सभामा १८ सिट मात्रै पुग्थ्यो । उता एमालेको २० सिट थियो । बहुमत एमालेकै थियो ।
राजनीतिमा लाजसरम अपराध भन्ने हुँदैन । एमालेबाटै चार जनालाई ‘फ्लोर क्रस’ गराए । उनले विश्वासको मत पाए । फ्लोर क्रस गर्ने तत्कालिन एमाले माधव समूहका थिए । ‘फ्लोर क्रस’ गरेको दुई दिनमै माधव समूहका तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्रीपद उपहार दिए ।
जुन, उपहार पाउनेमा तत्कालिन डोल्पाका सांसद नन्दसिंह बुढा, दैलेखका सांसद अमरबहादुर थापा र कालीकोटका सांसद कुर्मराज शाही परे । बाँकी ‘फ्लोर क्रस’को डिजाइनर प्रकाश ज्वालाले भने कुनै पद पाएनन् । उनको लडाइँ एमाले संसदीय दलका नेता यामलाल कँडेलसँगै थियो ।
मुख्यमन्त्री शाहीले कुर्सी जोगाइदिने माधव समूहलाई मन्त्री पद उपहार दिए । कुर्सी जोगाइ दिने कांग्रेस बाँकी थियो । तत्कालिन महेन्द्र शाहीको कांग्रेस नेता जीवन शाहीसँग ६ महिनापछि सत्ता सहकार्य गर्ने भनेर सहमति भएको थियो । अर्थात् जीवन शाहीले आफुलाई मुख्यमन्त्री बनाउने सहमति भयो । ओरालो लागेको सत्ता बच्यो । मुख्यमन्त्रीको कुर्सी जोगियो । सत्ता अहिलेसम्म चलिरहेको छ ।
अब भने महेन्द्र शाहीले मुख्यमन्त्रीको कुर्सी छोड्नु पर्ने भएको छ । कुर्सीमा जीवन शाहीलाई आउने भएका छन् । अर्थात् कर्णाली सरकारको मुख्यमन्त्री जीवन शाही बन्न लागेका हुन् । जीवन शाहीलाई मुख्यमन्त्री बन्न सहज भएको छ ।
माओवादीसँग पहिले नै सम्झौता भइसकेको छ । बाँकी एमाले हो । एमाले घर झगडाका कारण अल्पमतमा झरेको छ । २० सिट मध्ये एमालेले फ्लोर क्रस गर्ने (हाल एकीकृत समाजवादी पार्टीमा लागेका) चार जनालाई पदमुक्त पारिसकेको थियो ।
बाँकी रह्यो, १६ सिट । उक्त मध्ये तीन जना सांसद एकीकृत समाजवादी पार्टीमा लागिसकेका छन् । अब एमालेमा १३ सांसद मात्र छन् । सरकार गठन गर्नको लागि १८ सिट चाहिन्छ ।
माओवादी र कांग्रेसको सत्ता सहकार्य भने ६ महिनासम्म भएको हो । माओवादीले कांग्रेसलाई कात्तिक १५ गतेभित्र सत्ताको नेतृत्व हस्तान्तरण गनुपर्ने हो । तर, उक्त सहकार्य अगाबै जीवन शाही मुख्यमन्त्री बन्दै छन् ।
एक माओवादी नेताका अनुसार केन्द्रको राजनीतिक घटनाक्रमले सातभित्रै सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने भएको हो । सत्ता हस्तान्तरण भएसँगे मुख्यमन्त्री कुर्सीमा जीवन शाही आउने छन् ।
हालका मुख्यमन्त्री महेन्द्र शाहीको पद आयु कम भएको हो । अबको एक साता भित्रै कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्न लागेको हो ।