काठमाडौ उपत्यकाको सुरुवाती इतिहासका कुरा गर्दा बागमती नदीको महत्व सबैभन्दा पहिले आउँछ । बागमतीको पूण्यको कथा इच्छुमती (टुकुचा)को संगम कालमोचन घाटबाट सुरु हुन्छ । मञ्जुश्रीले स्थापना गरेको शहर मञ्जपाटनको सीमा मानिन्छ् । त्यसपछि बागमती र विष्णुमतीको दोभान टेकू दोभानको आउँछ ।
पवित्र तीर्थस्थलको रुपमा लिइने टेकू दोभानलाई नेपालको नामाकरणका प्रमुख कारणको रुपमा लिइने ‘ने’ मुनी ऋषीको बासस्थानका रुपमा लिने गरिन्छ । बागमतीको पवित्र ठाउँ भएको हुँदा यहाँ घाटहरु पनि धेरै छन् ।
थापाथली नजिकै चन्द्र घाट, कालमोचन घाट, पुरेत घाट, हनुमान घाट, पञ्चनारी घाट लहरै घाटहरु छन् । साथै पवित्र मन्दिरहरु पनि छन् । भन्ने नै हो भने पशुपति भन्दा पवित्र ठाउँ हो टेकू दोभान ।
तर यहाँ न त सरकारले संरक्षणको चासो दिएको छ न त त्यहिका स्थानियले नै महत्व बुझेको छ । उपत्यकाको बस्ती बिकासको ३००० वर्ष देखि चोखो र निर्मल पानी बहदै आएको बागमतीमा पछिल्लो ५० वर्षमा बागमतीको दूर्गती भएको छ ।
न त यहाँ चोखो पानी बग्ने गर्दछ न त यहाँको वातावतरण नै शुद्ध भएको छ । नदी यसरी प्रदूषित हुन थाल्यो कि बस्ती नदी किनार पनि दूर्गन्धित हुन थालेको छ । उपत्यकाको महत्वपूर्ण नदीका बिभिन्न स्थानमा चन्द्रशम्शेरको शासनकालमा पक्की झोलुङ्गे पुलहरु बने ।
तर टेकूको कालो पुल भने चन्द्रशम्शेरको समयमा बनेको थिएन । यो पुल भने जुद्धशम्शेरले बनाउन लगाएका थिए । पाटनबाट कृषकहरुले आफ्नो उत्पादित तरकारी बिक्रीको लागि सहजै काठमाडौमा ल्याउन तथा पवित्र तिर्थहरुको दर्शन गर्न सहज होस भनेर पनि यो पुल बनाइएको थियो ।
थापाथलीमा रातो रङ लगाएको हुँदा रातो पुल अर्थात ह्याउँ ताँ भनिए झै टेकूको पुलमा कालो रङ लगाइएको हुँदा यसलाई कालो पुल अर्थात हाकु ताँ भनिने गरियो । हुन त धोबीखोलामा पनि ज्ञानेश्वरबाट सिफल जाने बेलामा चन्द्रशम्शेरले नै विसं. १९६३ मा बनाइएको पुललाई पनि कालो पुल भन्ने गरिन्छ । तर यो पुलको नामाकरण भने पछि भएको हो ।
शुरुमा स्कटल्याण्डको एबरडीन शहरबाट लुइस एण्ड हार्पर कम्पनीबाट स्टीलका सामग्रीहरु ल्याएर स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा आधुनिक पक्की झोलुङ्गे पुल बनाउन शुरु गरिएको थियो ।
पछि जोन एम हेन्डरसन कम्पनी, एबरडीनबाट सामग्रीहरु ल्याएर झोलुङ्गे पुलहरु निर्माण गर्न थालियो । चन्द्रशम्शेरको शासनकाल पछि भने स्कटल्याण्डबाट सामग्री ल्याएर झोलुङ्गे पुलको निर्माण गर्ने कार्य रोकियो ।
विसं. १९९५ फागुनमा जुद्धशम्शेरले टेकू दोभान नजिकै बागमती नदीमा झोलुङ्गे पुल बनाउन जमर्को गरे । ४०० फुट लामो आधुनिक पक्की झोलुङ्गे पुलमा काठमाडौबाट पचली भैरवको पारी ललितपुर तर्फ राज तीर्थमा नुहाउन जानेहरु धेरै हुन्थे ।
पहिले पक्की पुल नहुँदा निकै समस्या थियो । हिउँदे मौसममा बनाइने काठे पुल वर्षातमा भत्किने गर्दथ्यो । जसले गर्दा बलियो पुलको आवश्यकता हुँदा जुद्धशम्शेरले थापाथलीमा जस्तै पुल बनाउने जमर्को गरे ।
तर यस पटक भने पुलको निर्माण सामग्री स्कटल्याण्डबाट होइन फ्रान्सबाट ल्याइयो । टेकू दोभानको पाटन तर्फ रहेको घाटलाई राज घाट भनिन्थ्यो । यहि राज घाटलाई राज तीर्थ पनि भनिन्थ्यो ।
शाहवंशका राजाहरुको मृत्यु पश्चात १३ दिने कृया यसै घाटमा गर्ने गरिन्थ्यो । क्रियापुत्रीले यसै घाटमा बसेर सम्पूर्ण विभि पुरा गर्दथे । यही राज घाटमा एक कुण्ड थियो जसलाई राज कुण्ड भनिन्थ्यो ।
यस कुण्डमा बिरेनूनको स्वाद आउने पानी आउने गर्दथ्यो । बिरेनूनको औषधिय गुणको कारणले सो कुण्डमा नुहाउँदा पुरानो घाउँ खटिरा, दाद दूबी तथा अन्य छालाको रोगहरु निको हुने हुँदा सो कुण्डमा नुहाउनेहरुको भीड नै लाग्ने गरेको थियो । साथै दशैको टीकामा मेला नै लाग्दथ्यो । यही कुण्डमा नुहाउन जानेहरुको सहजताको लागि पनि जुद्धशम्शेरले पक्की झोलुङ्गे पुल बनाइदिएका थिए ।