काठमाडौँ : डोल्पाको माझफलमा जन्मे हुर्केका हुन्, प्रेम बोहरा । उनी सानैदेखि संघर्षशिल थिए । गाउँकै स्कुलमा पढेपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ आएका हुन् । जब उनी काठमाडौँ आए, उनले संसार चियाउने मौका पाए ।
कर्णालीमा शिक्षा र पुस्तकालय अभियान चलाएका बोहरा पछिल्लो एक दशकयता चर्चामा आए । उनी शिक्षा अभियान्ताका रुपमा चर्चित भएपनि पछिल्लो समय राजनीतिमा लागेका छन् । काठमाडौँमा उनले राजनीतिशास्त्र पढेपछि एउटा पुस्तक समेत निकाले ।
डोल्पाकै शब्दमा कोग्ले नामक पुस्तक लेखेका उनी पछिल्लो समय लेखकका रुपमा पनि चिनिएका छन् । डोल्पामा विकास निर्माणको अभियान र भ्रष्टाचार विरोधी अभियान्ताका रुपमा चिनिएका बोहरा एक नयाँ, उर्जावान र सपना देख्ने युवा हुन् । जसले कर्णालीमा केही नयाँ र फरक गर्ने काम समेत अगाडि बढाएका छन् ।
पोखेपानीमा सडक बनाउने प्रयास
डोल्पाको पर्यटकीय क्षेत्र पोखेपानीमा सडक बनाउने प्रयास सुरु गरिएको छ । जनता समाजवादी पार्टी जसपाका युवा नेता तथा लेखक प्रेमबहादुर बोहराको नेतृत्वमा पोखेपानीमा सडक बनाउने पहल सुरु भएको हो ।
पोखेपानीमा पर्यटकीय गन्तव्यका लागि आकर्षण र प्रचुर सम्भावना छ । भेरी नदी, पाखापखेरा, डाँडा, हिमाल, गाउँबस्ती, चरनक्षेत्र, यार्चा पाटन, स्थानीय स्वादको खानापिना र तीर्थस्थल तथा सांस्कृतिक तामझाम्ले पोखेपानी सम्भावनाले भरिएको ठाउँ हो ।
तर सडक नहुँदा अलपत्र परेको यो ठाउँ ओझेलमा छ । पालांगदेखि पोखेपानी हुँदै माझफाल गाउँसम्मको सडक निर्माण गर्न सकिए पोखेपानीमा हजारौँ पर्यटक आउने युवा नेता बोहराको भनाइ छ ।
सडक बनाउन सकेमा हजारौं तीर्थालु र पर्यटकहरु सहजै हिमाली पर्यटकीय स्वाद लिन पोखेपानी पुग्ने उनको विश्वास छ । यस्तै डोल्पाको सदरमुकाम दुनै लगायत जिल्लाका विभिन्न गाउँबस्तीहरुका फलफुल, जडीबुटी र अन्नबाली उत्पादनहरु बाहिरी बजारमा पुर्याउन सहज र छिटो यातायात सुविधा हुने स्थानीयको विश्वास छ ।
यस्तै ठुलिभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकालाई पर्यटकीय केन्द्र बनाई चारैतिर अर्थात डोल्पाभित्रै र डोल्पा बाहिरका पर्यटकीय स्थलहरु सडक तथा पदमार्गले जोड्ने र कर्णालीको एक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन सकिने युवा नेता बोहराको भनाइ छ ।
यसका लागि नगरपालिका र वडाको सिफारिस लिएर काठमाडौँ आएका नेता बोहरा सडक निर्माणका लागि सिंहदरबार धाइरहेका छन् । स्थानीय जनप्रतिनिधिले साथ सहयोग गरेमा छिट्टै सडक बनाउन सकिने उनको भनाइ छ ।
यति मात्रै होइन, डोल्पाको विकासका लागि मैदानमा होमिएका युवा नेता हुन प्रेम बोहरा । जसले डोल्पाको भ्रष्टाचार अनियमितता विरुद्ध अभियान चलाएका छन् । सडक, खानेपानी, बिजुली लगायत पूर्वाधार विकासका लागि स्थानीय सरकारदेखि संघीय सरकारसम्म पनि धाइरहेका छन् ।
उनले कोग्ले नामक पुस्तक समेत लेखेका छन् । कर्णालीमा शिक्षाको अभियान चलाएर चर्चामा आएका बोहरा कर्णालीको हिमाली जिल्ला डोल्पाको मुहार फेर्न लागि परेका छन् ।