लोकेन्द्र विश्वकर्मा
जाजरकोट । विश्वव्यापी महामारी कोरोनाको जोखिमबाट बच्न क्वारेन्टाइन बनाइन्छ । खाने, बस्ने, नुहाउने, आराम गर्ने र निश्चित दुरी कायम गर्नका लागि क्वारेन्टाइनको आवश्यकता पर्ने विश्वव्यापी मान्यता छ ।
तर जाजरकोटको बारेकोटमा निर्माण गरिएको क्वारेन्टाइन नाम मात्रैको छ । न सुत्ने कपडा छ । न खाने व्यवस्था गतिलो छ । न त सुत्ने र दुरी कायम गर्ने अवस्था नै ।
बारेकोट गाउँपालिका वडा नं. ६ मा रहेको श्री सीता माध्यामिक विद्यालयको क्वारेन्टाइनको आधा वास्तविकता माथिको तस्बिरले नै बताउँछ ।
व्यवस्थापन निकै फितलो छ भने क्वारेन्टाइनको निर्माण गरेका जनप्रतिनिधि पनि बेखबर छन । उल्टै भारत लगायतका देशबाट आएकाहरु क्वारेन्टाइनबाटै आफूलाई कोरोना सर्ने हो की ? भन्ने चिन्तामा छन ।
क्वारेन्टाइनमा अहिलेसम्म १६ जना छन । ४ जना काठमाडौंबाट आएका, २ जना नेपालगञ्जबाट, ६ जना सुर्खेतबाट, २ जना धादिङबाट र १ जना जाजरकोट तथा अर्का एक जना म्याग्दीबाट आएका १६ जना क्वारेन्टाइन बासमा छन ।
तर सुरक्षाका लागि बसेको क्वारेन्टाइन असुरक्षित छ । क्वारेन्टाइनमा बसेकाहरुको अवस्था बेहाल भन्दा पनि खासै फरक छैन । उनीहरुले यसबारे खुलेर गुनासो गर्न पनि थालेका छन ।
ज्वरो आउँदा सिटामोल पाइदैन, स्वास्थ्यकर्मी छैनन् !
गएको शुक्रबार सुर्खेतबाट खिम महतारा क्वारेनटाइनमा आए । उनलाई आकस्मिक ज्वरो पनि आयो । तर क्वारेन्टाइनमा स्वास्थ्यकर्मी थिएनन् । ज्वरो आउँदा स्वास्थ्यकर्मी समेत नपाएपछि उनले घरमा दिदीलाई फोन गरे । दिदी घरबाट दौडिदै सिटामोल लिएर आएपछि बल्ल आफू सुरक्षित भएको उनले महसुस गरे ।
‘ज्वरो आउँदा सिटामोल पाइदैन भने क्वारेन्टाइनको के अर्थ ? यो भन्दा बरु घरमै सुरक्षित छ । कम्तीमा राम्रो खान, बस्न र सुत्न त पाइन्छ ।’ उनले गुनासो पोखे ।
क्वारेन्टाइनमै बसेका अर्का व्यक्ति डम्बर विश्वकर्माको गुनासो पनि उही छ । नेपालगञ्जबाट आएका उनको अवस्था पनि महताराको भन्दा पृथक छैन । सामान्य ज्वरो, रुघाखोकी लागेपनि सिटामोल नपाउँदा क्वारेन्टाइनमा बस्नुको अर्थ नरहेको उनको धारणा छ ।
‘यो समस्या हामीले स्थानीय सरकारलाई धेरै सुनायौ । कतिपटक यहाँ आएका बेला भन्यौ पनि । तर सुनुवाई भएन’ उनले वास्तविकता सुनाउदै भने, हामी ६ जना एउटै ठाउँमा सुत्नुपर्ने बाध्यता छ । अनि कसरी सुरक्षित भइन्छ ।’
स्थानीय सरकार बेखबर !
क्वारेन्टाइनमा बसेका अर्का युवा नरेन्द्र कार्की आफूले जति गुनासो सुनाउँदा पनि स्थानीय सरकारका जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो गर्छन । जिम्मवार बन्नुपर्ने स्थानीय सरकार मौन छ ।
‘क्वारेन्टाइनमा हामीलाई दुई वटा कुराको आवश्यकता छ । एउटा स्वास्थ्य परामर्श र अर्को सेवा सुविधा’ कार्कीले गुनासो गरे, ‘तर दुई वटै कुरा छैनन् । हात धुने साबुन पनि एउटै छ । यसबारे जति गुनासो गर्दा पनि स्थानीय सरकार सुन्दैन ।’
क्वारेन्टाइनमा राखेकाहरुसँग जनप्रतिनिधिले कुनै समन्वय नगरेको पनि उनीहरुको गुनासो छ । कम्तीमा सुख दुःख बुझ्ने, वास्तविकता सुन्ने र गनासो सम्बोधन गर्ने प्रयास जनप्रतिनिधिले नगरेको युवाहरुको भनाई छ ।
सुर्खेत नेपालगञ्ज जस्तो क्वारेन्टाइन होइन – वडासदस्य चलाउने
यसबारे स्थानीय सरकारका जनप्रतिनिधिसँग हामीले जिज्ञासा राख्यौ । तर बारेकोट गाउँपालिका वडा नं. ६ का वडासदस्य देवबहादुर चलाउनेले सकेजति राम्रो व्यवस्थापन गरिरहेको दाबी गरे ।
‘कोरोनाबाट बच्न हामीले क्वारेन्टाइन निर्माण गरेका हौ । पहिलो कुरा त यो नै एउटा विशेष प्रयास हो’ उनले भने, ‘भर्खरै क्वारेन्टाइन बनाएकाले सकेको गरेका छौ । सबै व्यवस्थापन गर्न बाँकी छ ।’
साथै उनले सुर्खेत र नेपालगञ्जको जस्तो क्वारेन्टाइनको आश नगर्न पनि आग्रह गरे । गाउँमा सबै सेवा सुविधा पुर्याउन गाह्रो भएकाले जति छ, त्यसैमा चित्त बुझाउनुपर्ने उनको भनाई छ ।
‘हामीलाई व्यवस्थित र सबै मापदण्डले भरिपुर्ण क्वारेन्टाइन चाहिन्छ । त्यो स्वभाविक पनि हो’ उनले भने ‘तर गा्रमीण भेगमा सुर्खेत नेपालगञ्जमा भएको जस्तो क्वारेनटाइन बनाउन सम्भव छैन । जति छ, त्यसैमा चित्त बुझाउन आग्रह छ ।’