काठमाडौं । नेपाल ट्रष्टले सार्वजनिक गरेको श्वेतपत्रमा सरकारको बचाउ गरिएको छ । र विरोधी खेमाका नेतालाई विवादित यति प्रकरणमा मुछिएको छ । गोकर्ण रिसोर्टको झण्डै ६ वर्ष अवधि बाँकी छँदा नै लिज अवधि थप गर्ने निर्णयको बचाउ गरिएको हो ।
त्यसबेला नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक अर्थात प्रधानमन्त्री र को अध्यक्ष अर्थात गृहमन्त्री थिए भन्ने कुरा नखुलाउनु सरकारको बचाउ हो । हालै सरकारले नेपाल ट्रस्टको संरक्षकमा प्रधानमन्त्री र अध्यक्षमा रक्षामन्त्री राख्ने निर्णय गरेको छ । तर त्यसअघि गृहमन्त्री अध्यक्ष रहने व्यवस्था थियो ।
माधव नेपाल बाहेक पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको यतिसँग 'साइनो' !
अध्यक्षमा मन्त्रीको नाम फेरिएसँगै गोकर्ण रिर्सोट यतिलाई जिम्मा लगाउने निर्णय श्वेतपत्रमा बचाउ गरिएको छ । यसअघि रहेको व्यवस्थाअनुसार पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई मात्रै यति प्रकरणसँग जोडिएको छ । जसमा पूर्वप्रधानमन्त्री स्व.शुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको नाम मुछिएको छ ।
साथै ट्रष्टको अध्यक्ष रहने तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा प्रभाकरको नाम पनि श्वेतपत्रमा उल्लेख गरिएको छ । तर पूर्वप्रधानमन्त्री रहेका माधव नेपालको नाम भने श्वेतपत्रमा छैन । माधव नेपालसँगै वर्तमान प्रधानमन्त्री ओली र रक्षामन्त्री पोखरेललाई समेत श्वेतपत्रमा बचाइएको छ ।
तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रपोर्टी, रोयल प्यालेस र एलएम सुभिर ब्रदर्स नेपाल प्रालीबीच ३१ साउन २०५२ मा गोकर्ण राजनिकुञ्जको जग्गाको लिजमा दिने सम्झौता भएको थियो । निकुञ्जको २७९२-०-३-१ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्न ३० वर्षका लागि लिजमा दिइएको थियो ।
संविधानसभा चुनावपछि बसेको पहिलो संविधानसभा बैठकले गणतन्त्री घोषणा गरेसँगै राजपरिवारका सदस्यहरुको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाममा आयो । ५ वैशाख २०६७ मा सुभिर ब्रदर्स र नेपाल ट्रष्टबीच मुख्य सम्झौता भयो । हो, त्यही दिन गोकर्ण रिसोर्टमा यती होल्डिङ्सको प्रवेश मात्र भएन, त्रिपक्षीय पुरक सम्झौतामा लिज अवधी समाप्त हुनु अगावै दुवै पक्षको आपसी सहमतिमा लिज अवधि नवीकरण गर्न सकिने व्यवस्था थप भयो ।
श्वेतपत्रमा उल्लेख भएको यो विवरण हेर्दा प्रष्ट हुन्छ गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने कुरा त्यहीबेला तय भएको थियो । तर त्यसबेला ट्रष्टको संरक्षक प्रधानमन्त्री र अध्यक्ष गृहमन्त्री सम्बन्धी व्यवस्था के थियो भन्ने श्वेतपत्रमा उल्लेख गरिएको छैन ।
नेकपाको गुट फेरिने संकेत !
यसरी घुमाउरो शैलीमा नाम गायब पार्नुलाई यति प्रकरणमा निकै विवादित बनेका प्रधानमन्त्री ओली र रक्षामन्त्री पोखरेललाई बचाउन खोजिएको छ । अनि गुट बलियो पार्दै लगेका नेकपाका अर्का अध्यक्ष प्रचण्ड, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई विवादमा ल्याउन खोजिएको छ । जसमा प्रचण्ड गुटमा सामेल भएका बामदेवलाई पनि छाडिएको छैन भने जनार्दन शर्मालाई पनि श्वेतपत्रमा नाम राखेर विवादमा ल्याउन खोजिएको छ ।
तर अहिले प्रचण्ड गुटमा रहेका माधव नेपालको नाम गायब पारेर ओलीले आफ्नो गुटमा ल्याउन खोजेको सन्देश श्वेतपत्रमार्फत दिएका छन । यति प्रकरणले फेरिएको नेकपाको राजनीतिक गुट फेरि एकचोटी ३६० डिग्रीमा फेरिएला ? भनेर अनुमान लगाउनुपर्ने बेला आएको छ ।
हेर्नुहोस नेपाल ट्रष्टको श्वेतपत्र
नेपाल ट्रष्टको श्वेतपत्र