काठमाडौ । प्रधानमन्त्री र अध्यक्ष पद दुबै धरापमा परेपछि केपी शर्मा ओली बालुवाटारमा छटपटिएका छन । विगतमा कुनै बेला आफूलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने बेला पनि प्रस्तावक बनेका सारथी माधव नेपाललाई भित्तामा पुर्याएका ओलीले अहिले उनैसँग पद र प्रतिष्ठा जोगाईदिन रोईकराई गरिरहेका छन ।
राजनीतिमा झण्डै ५ दशक गुजारिसकेका माधव नेपाल अनुभवी राजनीतिज्ञ हुन । तर उनी बेला मौकामा ठोस निर्णय गर्न भने सक्दैनन् । इतिहासकै सर्वशक्तिमान दुई तिहाई सरकारको नेतृत्व छटपटिएको बेला सत्ताको 'बल' माधव नेपालको 'कोर्ट'मा छ ।
तर पनि उनले आफ्नो माग स्पष्ट रुपमा ओलीसँग राख्न सकेका छैनन । गएको सोमबार दल फुटाउने अध्यादेश ल्याएका ओलीले त्यो फिर्ता लिएर सफल 'सेफल्याण्डिंग' गर्ने प्रयासमा छन । यसका लागि सबैभन्दा ठूलो सहयोग उनलाई अहिले माधव नेपालको चाहिएको छ ।
'एक पद, एक व्यक्ति' एजेन्डामा नरम !
हुन पनि यतिबेला ओलीलाई बचाउन सक्ने एकमात्रै पात्र उनै नेपाल मात्रै हुन । अर्का अध्यक्ष प्रचण्ड पूर्वमाओवादी भएकाले उनलाई ओलीको माया छैन । सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाट पछार्न प्रचण्ड अड्डी कसेर लागेका छन । प्रचण्डको यो 'गेमप्लान'मा माधव नेपाल पनि सहभागि छन ।
तर सोमबार निर्णायक भनिएको ओली-नेपाल वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । माधव नेपालले बाहिर जतिसुकै घुर्की लगाएपनि ओलीसँग खास छलफल गर्न असफल रहेको ओली पक्षका नेताहरुले बताएका छन । केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद जोगाउन माधव नेपालसँग साँझ बिहान बार्तामा छन ।
प्रचण्डले चालेको चाल सफल हुन नदिन नेपाललाई विश्वासमा लिनैपर्ने बाध्यता ओलीलाई छ । यो राम्ररी बुझेका माधव नेपालाई ओलीबाट आफूले चाहेको पद र स्वार्थ पूरा गर्न अहिले सहज पनि छ । तर उनले यसअघिदेखि भन्दै आएको 'एक पद, एक व्यक्ति' एजेन्डाका विषयमा ओलीसँग नरम भएको ओलीनिकट स्रोतले जनाएको छ ।
उधारो सहमति : भविष्यमा पार्टी अध्यक्ष !
सोमबारको छलफलमा माधव नेपाल पक्षले ओलीलाई सहयोग गर्न तयार रहेको बचन दिएको छ । तर कुन सर्त र सहमतिमा बचन दियो भनेर माधव नेपाल पक्षले खास अडान नराखेको ओली पक्षका एक नेताले बताए । उनका अनुसार भविष्यमा पार्टी अध्यक्ष बनाउन माधव नेपाललाई सहयोग गर्ने बचन दिएर ओली पक्ष विश्वस्त बनेको छ ।
जबकी नेपाल यसअघि ओली प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफुलाई दिनुपर्ने बताउँदै आएका थिए । सोमबार झण्डै १० घण्टा चलेको बैठकमा ओलीले पद दिन्छु नभनेपनि माधव नेपालले सहयोग गर्ने र दुर्घटना हुन नदिने बचन दिएका छन । जुन माधव नेपालका लागि फेरि पनि उधारो सहमति हो । ओलीका लागि 'चियर्स' ।
प्रचण्ड अलमलमा !
पार्टीमा छलफल नै नगरी दल फुटाउने अध्यादेश ल्याएपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले चरणबद्ध रुपमा ओलीमाथि आक्रमण शुरु गरेका छन । शुरुमा सचिवालय बैठक माग गरेका उनीहरुले अहिले स्थायी समिति बैठक बोलाउन माग गरेका छन ।
तर माधव नेपालको प्रत्यक्ष सहयोग र बचन नपाई कुनै बैठक बोलाउन ओली तयार छैनन् । मावध नेपालले सोमबार ओलीलाई सहयोग गर्ने तर कुनै निर्णय गर्दा अब सल्लाह गर्नुपर्ने भनेपछि ओलीले सचिवालय बैठक बोलाएको नेताहरुले बताएका छन ।
अब मंगलबारको बैठकमा ओलीले नेताहरुको चित्त बुझाउन सकेमा अहिलेको दुर्घटना टर्नेमा ओली पक्ष विश्वस्त बनेको छ । माधव नेपालले ठोस अडान र पद माग गर्न नसकेपछि प्रचण्ड भने अलमलमा परेका छन ।