काठमाडौं : नेपाली लोक दोहोरीमा ब्राण्ड बनेको नाम हो, विष्णु माझी । उनी गायिका हुन् । तर गीतमा उनको स्वर भएकै कारण पछिल्ला केही वर्षयता गीत चल्ने गर्छन् । धेरै गीत संगीतका गायक गायिका पनि यही भन्छन् ।
निकै महंगो मूल्यमा गीत गाउने उनी पछिल्लो दुई दशकदेखि नेपाली लोकदोहोरी क्षेत्रमा राज गर्दै आएकी छन् । उनको स्वर जति सुन्दा पनि धित मर्दैन् । फेरि फेरि सुन्न मन लाग्छ । त्यसैले त उनी नेपाली लोकदोहोरी क्षेत्रकी ब्राण्ड हुन् ।
उनले सयौं गीत गाइसकेकी छन् । उनका सबै गीतहरु दर्शक रुचाउने गरेका छन् । अझै भन्दा दर्शकको मुखमै झुण्डिएका छन् । उनका गीत पार्टी प्यालेसदेखि विहे, व्रतबन्ध, गाडी, दोहोरी साँझ, डान्सबार लगायत प्राय ठाउँमा बजेको सुनिन्छ ।
विष्णु माझीले दर्शकको दुःख, पिडा र दर्शकको पीर मर्का गीत गाउने भएर पनि होला । उनी दर्शकमाझ गायिका मात्रै होइनन्, लोकप्रिय र सर्वाधिक सफल स्वर भएकी गायिका हुन् । युवादेखि बृद्धसम्म उनी लोकप्रिय छन् । उनका गीत सबै पुस्ताका मान्छेले सुन्ने गरेका छन् । युवा देखि बृद्धसम्म सबै उनको गीतको प्रतीक्षा गरेका हुन्छन् ।
उनका थुप्रै गीत छन् । हालै सार्वजनिक भएको तीज गीतले पनि उनको गायकीको चर्चा छ । चरी जेलैमा तीज गीतले यतिबेला सामाजिक संजाल टिक टक, फेसबुक, युट्युब मात्र नभएर गाडी देखि सबैको घरमा चर्चा पाइरहेको छ । सबैले तीज गीत यसैलाई बनाइरहेका छन् ।
उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द संगीत रहेको गीतले बजार पिटिरहेको छ । दुई हप्ता अघि सपना म्युजिक कम्पनीद्धारा सार्वजनिक भएको यो गीतले करोड बढी भ्युज पाइरहेको छ ।
यो गीत बाहिर आएपछि धेरैले यो विष्णु माझीको कथा व्यथा भएको पनि भनिरहेका छन् । उनका श्रीमानले उनीमाथि गरेको शोषण, महिला अधिकारको अपमान गरेको भनेर पनि टिप्पणी हुने गरेको छ ।
उनले वास्तविक जीवनमा भोगेको पीडा यस गीतमा पोखिएको पनि धेरैले बताउँछन् । नेपाली समाजमा नारीले भोगेको पीडा, यातना, दुःख र मनका रहर यो गीतमा समेटिएका छन् । जसले नेपाली समाजमा तीज जस्तो नारीहरुको महान पर्वमा पनि घरमै पीजडाको चरीजस्तो भएर बस्नुपरेको कथन छ ।
विष्णु माझीको रहस्य
स्याङ्जा घर भएकी विष्णु माझी पछिल्लो एक दशकदेखि भूमिगत छन् । सुन्दरमणि अधिकारीले उनलाई भूमिगत बनाएर नेपाली लोकदोहोरी क्षेत्रमा सर्वाधिक महंगी गायिका बनाएकी हुन् ।
स्वरकी धनी गायिका तर अहिलेसम्म पनि धेरै दर्शकले उनको अनुहार देख्न पाएका छैनन ।
आज भन्दा धेरै वर्ष अघि सार्वजनिक भएको फोटो मात्र देखिन्छ । दर्शकले उनको अनुहार हेर्न खोजेका छन् । धेरैको मनमा कौतुहलता छ । उनको अनुहार हेर्ने । त्यसैले होला केहि वर्ष पहिले उनका बुवा आमाले कास्की प्रहरीमा उजुरी दिएका थिए ।
तर त्यहाँ प्रहरी सामु आफुलाई आफ्नो श्रीमानले नजर बन्दमा राखेको नभई आफै बाहिर देखिन नचाहेको बताइन् । तर अहिले यो गीतले फेरी उनको व्यक्तिगत जीवनलाई लिएर दर्शक र मिडियाले प्रश्न गरेका छन् ।
उनका श्रीमान सुन्दरमणि अधिकारी हुन् । उनीहरुको बिहे भएदेखि नै यो सबै भइरहेको हो । अन्तरजातीय बिहेका कारण उनलाई नजर बन्दमा राखेको केही गायक गायिकाले बताउने गरेका छन् । विष्णु माझीलाई नजरबन्दमा राखेर सुन्दरमणिले व्यापार गरिरहेको पनि बताइन्छ ।
गीत सार्वजनिक भए लगतै बिष्णु र उनका श्रीमानको नजिक भएका कलाकार देखि आफन्तसम्म सोधपुछ पनि नगरिएको होइन । तर, अहिले सम्म वास्तविकता बाहिर आउन सकेको छैन ।
उनका बुवा आमासँग सोधपुछ गर्दा आफ्नो छोरीको अनुहार नदेखेको १५ बर्ष भएको बताइरहेका छन् । आफ्नो छोरीको अनुहार नदेखेरै मरिन्छ कि भनेर रुँदै अन्तर्वार्ता दिएको भिडियो पनि मिडियामा छन् । छोरीको स्वतन्त्र जीवन हेर्न चाहेको उनीहरुको भनाइ छ ।
बाल्यकालदेखि सर्वाधिक लोकप्रिय गायिकासम्म
बिष्णु माझीको बाल्यकाल स्याङ्जाको छपकोटमा बितेको हो । उनी सानै देखि गायन क्षेत्रमा रुचि राख्थिन् । जिल्लामा प्रत्यक दोहोरी कार्यक्रममा सहभागि हुने क्रममा उनको गायन यात्रा सुरु भएको हो ।
उनी सहभागि भएका कार्यक्रममा उनले नै उपाधि जित्ने गरेकी थिइन् । हुने बिरुवाको चिल्लो पात भने झैँ उनी लोकदोहोरी गीत भनेपछि सबै काम छोडेर गाउने गर्थिन् । यसरी उनको गायनले विस्तारै स्याङ्जा बाहिर पनि चर्चा पाउन थाल्यो ।
गायन प्रतियोगिताकै क्रममा विष्णु माझीको भेट सुन्दरमणि अधिकारीसँग भएको हो । उनको पहिलो गीत शीतल दिने दिने पीपल स्वामी हो । त्यसपछि उनले गाएको डाइभर दाई मन पर्यो मलाई गीतले सर्वाधिक चर्चा पायो ।
त्यसपछि उनले गाएका लालुपाते, पूर्वको मेची नि हाम्रै हो, रुमाल हल्लाई हल्लाई लगायतका गीतले धेरै चर्चा र सफलता पाए । २०७६ सालमा सालको पात टपरी हुनी गीतले लोक दोहोरी गीतकै रेकर्ड ब्रेक गरिदियो । त्यतिबेला पनि विष्णु माझीको खोजी भएकै हो ।
तर जवाफ पाइएन । उनी भित्रभित्रै खुशी छन् या दुःखी त्यो विष्णु माझीलाई मात्रै थाहा छ । तर सुन्दरमणिको संरक्षकत्वमा उनको व्यवसायिक सफलता भने लोभलाग्दो र खोजलाग्दो छ । तर यो क्रम कहिलेसम्म हुन्छ ? अझै पत्तो छैन ।
तर विष्णु माझी अहिले यति महंगी र सफल गायिका हुन् की उनले एउटै गीत गाए एक लाखदेखि दुई लाखसम्म लिने गरेकी छन् । जुन नेपाली मनोरञ्जन क्षेत्रमा फिल्म खेल्ने कलाकारसम्मले पनि यति धेरै पारिश्रमिक पाउँदैनन् । सफलताको चुचुरोमा रहेकी गायिका विष्णुको भूमिगत जीवनले पनि उनको व्यावसायिक क्षेत्रमा नयाँ सफलताको रहस्य खोल्ने गरेको छ ।