दैलेख : हरेक युवाले राजनीति बुझ्न जरुरी छ । गर्न जरुरी छ । राज्यको नीतिमा युवाको भुमिका हुन जरुरी छ । हरेक संगठनमा युवा पुस्ताका प्रवेश हुन जरुरी छ । राजनीतिमा युवा पुस्ताको प्रवेश पछिल्लो समय बढ्दो छ । यसै क्रममा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पनि युवा आउने क्रम जारी नै छ । युवा पुस्ताहरु कांग्रेसको राजनीतिमा सक्रिय बन्दै गएका छन् ।
यसै क्रममा १९ वर्षीय स्वस्तिका महत दैलेख जिल्लाको दुल्लु नगरपालिका – ३ मा नेपाली कांग्रेसको वडा सभापति भएकी छन् । सबैको ध्यान स्वष्तिकातिर गएको छ । स्वस्तिका हिम्मत राख्ने किशोरीको सुचिमा परेकी छन् । उनी नेपाली कांग्रेसमा कान्छी वडा सभापति बनेकी छन् ।
उनलाई बधाई दिनेको ओइरो लागिरहेको छ । यस्तो उमेरमा वडा सभापति बन्दा । सानै उमेरमा राजनीतिमा प्रवेश गरेकी स्वस्तिका को हुन् त चासोको विषय बन्न पुगेको छ । राजनीतिक परिवारमा जन्मेकी स्वष्तिका सामाजिक कार्यमा सानैदेखि रुचि राख्ने गर्ने गरेकी थियन् । उनी पढाइमा अब्बल छन् ।
उनका बुबा स्वर्गीय भुपेन्द्रजंग महत कांग्रेस दैलेखमा अघिल्लो कार्यकालमा उपसभापति भएका थिए । त्यसअघि उनी नेपाल विद्यार्थी संघका पूर्वजिल्ला सभापति, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सभापति भइसकेका थिए । उनी एक कार्यकाल पार्टीको कोषाध्यक्ष समेत बनेका थिए । उनको डेढ वर्ष पहिले मात्रै भारतको मुम्बईमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बुबा राजनितिज्ञ भएकै कारण पनि आफु राजनीतिमा आएको उनी बताउँछिन् । उनी, ‘म बुवाको सपना पुरा गर्न राजनीतिमा आएको हुँ ’ भन्छिन्, ‘सुरुमा त म सभापतिको उम्मेद्धार बन्छु भन्दा कोही कसैले विश्वास गर्नु भएन । त्यसमाथि केटी मान्छे पढ्दै छौं, पढाइ नबिगार भन्नु भयो, सबैसँग आफ्नो कुरा राखेपछि आदरणीय नेता र पार्टीले स्वीकार गर्यो । अनि सभापति बनेको हुँ ’ ।
उनले, ‘बुवाले दैलेखमा राजनीति गरेर समाज परिवर्तन गर्ने सपना देख्नुभएको थियो । उहाँको सपना पुरा गर्न म राजनीतिमा होमिएकी हुँ । समाजमा रहेका विकृति विसङ्गति, महिलाको हक अधिकारको बारेमा आफुले सामाजिक सेवा मार्फत परिवर्तन गर्न खोजेको छु’ भनिन् ।
सानैदेखि समाज सेवा गर्न रुचाउने उनी स्वास्थ्य क्षेत्र हेल्थ असिस्टेन्ट (एचए) अध्ययन पुरा गरेकी छिन् । जसरी पनि आफनो गाउँ ठाउँमा रहेर सेवा गर्नु नै आफना लक्ष्य रहेको उनले बताइन् । नेपाली कांग्रेसको विरासत अनुसार आफ्ना वडावासीको सपना पुरा गर्नका लागि आफु होमिएकी बताइन् ।
‘राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई भन्नुभएको थियो’ उनले भनिन्,‘ त्यहीं अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर यहाँ लागेकी हुँ । सोही बमोजिम मैले वडा सभापतिमा दावी गरेको हुँ । म सँगै दशजना अन्य प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो । सुरुमा मलाई विश्वास नै गर्नु भएन धेरै कुराको खण्डन गरेपछि मात्र मलाई सभापतिमा अवसर दिनुभयो ।’
अहिले पनि आफु बस्ने ठाउँमा बत्ती ,बाटोघाटोको समेत उत्तीकै समस्या रहेको भन्दै यो सपना पुरा गर्ने जिम्मा बुबाको हातमा थियो बुबा नै नरहेपछि आफुले पुरा गर्ने अठोट गरेको बताइन् ।
‘मेरो बुवाले यस जिल्लाको विकास गर्ने, यहाँका नागरिकले सजिलै उपचार पाउन सकून् सबैले शिक्षामा पहुँच राख्न सक्ने अवस्था सिर्जना गर्न सकियोस् । कामका लागि भारत जाने अवस्था अन्त्य गर्न स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकियोस् र आफ्नो जिल्लालाई विकास तथा अन्य दृष्टिले सक्षम जिल्ला बनाउन सकियोस् भन्ने सपना थियो । अब त्यो सपना पुरा गर्न लागि पर्नेछु’ उनले भनिन् ।
अबको योजनामा यहाँका सबै क्रियाशील सदस्यलाई मिलाएरै लैजाने समेत बताइन् । यहाँका सबै राजनीतिक दलसँग सहकार्य गर्दै गाउँका, वडाका समस्या समाधानका लागि आवश्यक पहल गर्ने उनले बताइन् ।
‘जस्तो कि यहाँको विकास निर्माणका कुरा होलान्, स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने छु । अन्य पार्टीका नगर सभापति, जिल्ला सभापतिमार्फत पनि वडाको विकासका लागि पहल गर्न लागिपर्नेछु ।
मैले मेरो बुवाको सपना पुरा गर्नुछ । यहाँका नागरिकहरुको चाहना अनसारको काम गर्नुछ । त्यसका लागि राज्यको उचित निकायमा पुग्न जरुरी छ र त्यसको पहिलो खुड्किलोको रुपमा आगामी वडा पालिकाको चुनावलाई मैले लिएकी छु’ उनले भनिन् ।
उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ । सानै उमेरमा उनी वडाको सभापति जस्तो पदमा सर्वसहमत रुपमा चयन भएकी हुन् । उनको भविष्यको बारेमा समेत विश्लेषण गर्दै सामाजिक सञ्जाल रंगिन बनेका छन् । यो कुरालाई अन्य पार्टी नेता कार्यकर्ताले समेत सकारात्मक सन्देश लिएका छन् ।