फुङ्लिङः ताप्लेजुङका पर्यटकीयस्थलको फोटो सङ्ग्रह प्रकाशित गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीयस्थलका तस्वीर समेटेर फोटो सङ्ग्रह (पुस्तक) प्रकाशित गरिएको हो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित ओझेलमा परेका जिल्लाका १०१ पर्यटकीय गन्तव्यका तस्वीर समावेश गरी फोटो पुस्तक प्रकाशित गरिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चले प्रकाशन गरेको फोटो पुस्तकका लागि एक हजार ३०५ फोटो (तस्वीर) सङ्कलन गरिएको थियो । उक्त सङ्कलित फोटामध्येबाट उत्कृष्ट १०१ छनोट गरी फोटो पुस्तक प्रकाशित गरिएको हो ।
जिल्लाभित्र रहेका पर्यटकीय गन्तव्यको फोटो सङ्कलन गरी प्रकाशित पुस्तक केही समयअघि काठमाडौँमा सार्वजनिक (विमोचन) गरिएको थियो । सो पुस्तकमा समावेश भएका फोटाका विजेतालाई आज पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । सदरमुकाम फुङ्लिङमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पूर्वपर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पुरस्कार वितरण गरेका थिए ।
फोटाका विजेतालाई पुरस्कार वितरण गर्दै पूर्वमन्त्री भट्टराईले जिल्लाको पर्यटन प्रवद्र्धनमा प्रकाशित पुस्तकले टेवा पु¥याउने विश्वास व्यक्त गरे । आवश्यक प्रचारप्रसारको अभावमा पछि परेको जनाउँदै फोटो पुस्तकमार्फत पर्यटकीय गन्तव्यको प्रचार हुने र आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बढ्ने उनले बताए ।
वार्षिक १३ लाख बढी पर्यटक नेपाल भित्रने गरेका तथ्याङ्क रहे पनि ताप्लेजुङमा अत्यन्तै न्यून पर्यटक आउने गरेको उनले सुनाए । पोखरा, चितवन, लुम्बिनीजस्ता नेपालका धेरै पर्यटकीय गन्तव्यमध्ये ताप्लेजुङ पनि पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हुँदाहुँदै पर्यटकको उपस्थिति गराउन नसकिरहेको अवस्थामा प्रकाशित फोटो पुस्तक पर्यटक उपस्थित गराउन र प्रवद्र्धन गर्नमा सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा सहभागी बन्नुभएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले पनि कञ्चनजङ्घा हिमालसहित जिल्लामा थुप्रै सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य रहेका जनाए । पर्यटकीयस्थल साथै यहाँको सांस्कृतिक विविधता तथा प्राकृतिक सुन्दरतालाई समेत फोटो पुस्तक र अन्य माध्यमबाट प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा ठूलो टेवा पुग्ने साम्सोहाङले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँवा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलगायतको उपस्थिति थियो ।
यता पुस्तकका लागि छनोट भएका फोटामध्ये सर्वोत्कृष्ट, उत्कृष्ट, प्रथम, द्वितीय, तृतीय र सान्तवनासम्म छनोट गरी पुरस्कृत गरिएको पत्रकार मञ्चका सचिव चन्द्र पन्दाक (प्रयास) बताए । पन्दाकका अनुसार सर्वोत्कृष्ट छनोट भएको फोटालाई रु २५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्टलाई रु ११ हजार १११, प्रथमलाई रु पाँच हजार ५५५ दोस्रोलाई रु तीन हजार ३३३ र तृतीय रु दुई हजार २२२ का दरले पुरस्कार वितरण गरिएको थियो ।
सान्त्वना पुरस्कार १५ प्रतियोगीलाई रु दुई हजारको दरले उपलब्ध गराइएको मञ्चले जनाएको छ । असी फोटालाई रु एक हजारका दरले पुरस्कार प्रदान गरिएको मञ्चले जनाएको छ । फोटो प्रतियोगितामा ९० प्रतिशत ताप्लेजुङका जिल्लामा क्रियाशील पत्रकारले प्रतियोगितामा भाग लिएका मञ्चका सचिव पन्दाकले बताए । जिल्लाका सर्वसाधारण, जिल्ला बाहिरका पत्रकारले तथा विभिन्न सङ्घस्थाका कर्मचारी समेतले प्रतियोगितामा भाग लिएको मञ्चले जनाएको छ । रासस