सिमकोट : हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका विद्यालयहरुमा पठन पाठन आजबाट सुरु भएको छ । कोरोना संङ्क्रमण कम भएको निष्कर्ष निकाल्दै गाउँपालिकाका शिक्षा समितिको बैठकले पठन पाठन सञ्चालन गर्ने निर्णय गरे अनुसार विद्यालय सञ्चालनमा आउने भएका हुन ।
नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनलाल रोकायाले भदौ २० अर्थात् आजबाट भौतिक रुपमा उपस्थिती भएर पठन पाठन सुरु हुन लागेको बताए ।
कोरोना संङ्क्रमणले लामो समय बन्द रहेका विद्यालयहरुलाई सुचारु गर्ने वातावरण तयार भएपछि १७ वटै विद्यालय सुचारु हुन लागेको गाउँपालिकाले जनाएको छ ।
यसअघि निर्णय भएर विद्यालयलाई पत्राचार समेत भइ सकेको कारण सबै मापदण्ड पुरा गरेर पढाइ सुरु हुने जनाइएको छ । कोरोना संक्रमण न्यून हुँदै गएको देखिएपछि गाउँपालिकाका शिक्षा समिति यो निष्कर्षमा पुगेका हुन ।
यसका लागि विद्यालयहरुले स्वास्थ्य मापदण्ड भने पुर्ण रुपमा अपनाउनु पर्नेछ । नाम्खाका कुल विद्यालय मध्य लिमीका दुई वटा वटा विद्यालयहरुमा भने यसअघि पनि पढाइ जारी रहेको थियो ।
यसअघि लामो समय बन्द रहेका जिल्लाभरका सामुदायिक विद्यालयमा निक्कै सावधानी अपनाएर पठन पाठन सुचारु गर्ने जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको थियो ।
कोरोना संक्रमण केही कम भएको र विद्यालय खुलाउनु पर्ने माग सबैतिरबाट आइरहेको बेला केन्द्रको केही दिन अगाडी बसेको केन्द्रको बैठकबाट सो निर्णय भएको थियो ।
सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेकोले केन्द्रको बैठकमा छलफलपछि विद्यालय खुलाउने निर्णय गरेको थियो । जिल्ला अन्य पाँच वटा गाउँपालिकाहरुले भने विद्यालय सञ्चालन बारे कुनै निर्णय लिई सकेका छैनन् । हुम्लामा पठन पाठन गर्ने उपयुक्त समय हो ।