काठमाडौँः यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ ।
नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।
उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए । उनले भने, “न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।”
कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो । “सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।
एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो । यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहेका उनले जानकारी दिए ।