दैलेख : कृषि विकास कार्यालय दैलेखद्धारा नर्सरीको अनुगमन गरिएको छ । कार्यालयका निमित्त प्रमुख जगविर नेपाली, नाप्रास गणेशबहादुर शाही र कमला योगी लगायतको टोलीले अनुगमन गरेको हो ।
कृषि विकास कार्यालय दैलेखको १ निर्वाचन क्षेत्र १ नर्सरी व्यवस्थापन कार्यक्रम अन्तर्गत मालिका कृषि तथा पशुपंक्षी फर्म र सन्तोष सुन्तला नर्सरी फर्म दुल्लु नगरपालिका–६ मा सञ्चालन भएको हो ।
मालिका कृषि तथा पशुपक्षी फर्ममा ३ वटा पक्की नर्सरी २१ मिटर लम्बार्इमा निर्माण भएका छन् । सन्तोष सुन्तला नर्सरी फर्ममा २ वटा २१ मिटर लम्बार्इका नर्सरी निर्माण भएका छन् ।
५० प्रतिशत अनुदान कृषि विकास कार्यालय र ५० प्रतिशत मालिका कृषि तथा पशुपंक्षी फर्मको गरी जम्मा १२ लाखको बराबरको लागतमा नर्सरी निर्माण कार्य भएको हो । भने, सन्तोष सुन्तला नर्सरी फर्मको ५० प्रतिशत कृषि विकास कार्यालयको र ५० प्रतिशत उक्त फर्मको गरी जम्मा ८ लाखको लागतमा नर्सरी निमार्ण कार्य सम्पन्न भएको हो ।
‘गाउँ गाउँमा मात्र बिरुवा पुर्याउन सकेपछि फलफुल खेतिको व्यवसायिक विकासका लागि यो नर्सरीले टेवा पुर्याउने निमित प्रमुख नेपालीले बताए । फलफुल तथा अन्य जडीबुटी जन्य बिरुवा रोप्नुपरेमा बिरुवाका लागि बनेपा, काठमाडौंसम्म पुग्नुपर्ने अवस्थामा गाउँघरमै नर्सरी स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।
विरुवा ल्याउन नसकेर यस भेगका धेरैले चाहेर पनि फलफुल खेती गर्न सकेका थिएनन्, अब फलफुल खेतिको विकास हुने विश्वास लिइएको छ । नर्सरीलाई व्यवस्थित बनाउँदै गाउँ टोलमा विरुवा बिक्री वितरण गरिने मालिका नर्सरी व्यवस्थापक डम्बर बहादुर खड्काले बताए ।