भोजपुरः कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका ४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बनेका छन । उनि सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषिमा लागेका हुन । बाइस वर्षीय विष्टको दैनिकी कृषिमा बित्छ । उनले उठेदेखि साँझसम्मको समयमा कृषिमा लगाएका छन । विष्टले इलामबाट उन्नत जातका गाई ल्याएर पालन गरिरहेका छन ।
उनले करिब रु १० लाख लागतमा गाईपालन थालेका हुन । सानै उमेरमा व्यवसायमा लाग्नुभएका उनि बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्छन । विष्टको फर्मबाट दैनिक ३५ देखि ४० लिटर दूध भोजपुर सदरमुकाम जान्छ । दूध बिक्रीबाट दैनिक रु दुई हजार आम्दानी गर्दै आएको उनले जानकारी दिए ।
किसान विष्टले पशुपालनबाट निस्किएको मलको सदुपयोग गर्दै चार रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन । आर्गानिक खुर्सानीको बजारमा राम्रो माग रहेको उनले जानकारी दिए । उनले उत्पादन गरेको खुर्सानी फर्मबाट नै रु २५० देखि ३०० मा बिक्री हुने बताए ।
उनले भने, “स्वदेशमा कृषिमा सम्भावाना देखेर कृषिमा लागेको हुँ, पशुपालनबाट निस्किएको मलको प्रयोग गर्दै आर्गानिक तरकारी खेतीसँगै व्यावसायिक रुपमा खुर्सानी खेती गरेको छु, सिजनमा एकपटकमा ७० देखि ८० किलोसम्ममा टिप्ने गरेको छु, किन्नका लागि व्यवसायी फर्ममा नै आउँछन् ।”
आफ्नो फर्ममा उत्पादन भएको खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै रहेको किसान विष्टले बताए । “मैले उत्पादन गरेको खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै रहेको छ, यहाँबाट ठेकेदारले खुर्सानी धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा लैजाने गरेका छन्, खुर्सानीबाट पनि आम्दानी निकै राम्रो छ”, उनले भने ।
त्यस्तै करिब १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिरहेको उनले जानकारी दिए । प्रशस्त मात्रामा प्राङ्गारिक मल हुने भएकाले सुन्तला खेती पनि राम्रो आम्दानीको स्रोत रहेको उनले बताए । विष्टले भने, “मैले सुन्तलाको पनि व्यावसायिक खेती गरिरहेको छु, १४ रोपनी क्षेत्रमा सुन्तलाका बिरुवालाई विस्तार गरेको छु, केही बोटले आम्दानी दिन थालेका छन् भने अन्य बिरुवा हुर्कंदैछन्, भविष्यमा सुन्तलाबाट राम्रो आम्दानी लिने मेरो लक्ष्य छ ।”
स्वदेशमा व्यावसायिक रुपमा कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । राज्यबाट आएको सुविधा तथा प्रोत्साहन भने वास्तविक किसानसम्म पुग्न नसकेको उनको भनाइ छ । उनले कृषिमा हालसम्म रु २० लाखभन्दा बढी लगानी गरिसकेको बताए ।
उनले भने, “राज्यका तर्फबाट अनुदान आएको खबर सुन्न पाइन्छ, त्यस्तो अनुदान वास्तविक किसानसम्म पुगेको छैन, मैले पनि कृषिमा भविष्य देखेर काम थालनी गरेको हुँ, हालसम्ममा राज्यतर्फबाट खास सहयोग पाएको छैन, यहाँ कामभन्दा पनि पहुँचका आधारमा राज्यको अनुदान लिने प्रथा छ, झोलामा बाकेका फर्मले बर्सेनि अनुदान लिएका छन्, हामी जस्ता दुःख गर्ने किसानले त्यस्तो सहयोग पाउने अवस्था छैन ।”
युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक किसान मारमा परेका छन् । पाँच वर्षअघि बाट कृषि व्यवसाय गरिरहेको भए पनि हालसम्म कुनै प्रकारको राज्यको सहयोग नपाएको उनको गुनासो छ ।
कच्ची बाटो हिलाम्य हुँदा एक किलोमिटरसम्म दूधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजाने गरेको उनले दुःखेसो गरे । फर्ममा उनका बुबा तथा अन्य परिवारका सदस्यले सहयोग गरिरहेका छन । जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरे पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेको वास्तविक किसानले बताउँदै आएका छन् ।