भोजपुरः कृषि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नका लागि भोजपुरमा मध्य पहाडी राजमार्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । यहाँका कृषि उपजको विकास गर्दै किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ रु २४ करोड बराबरको कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालनको तयारी गरिएको हो ।
कार्यक्रम अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन हुने गरी कामको थालनी गरिएको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीवास धनकुटाले जनाएको छ । कार्यक्रमका लागि विश्व बैंकको आर्थिक सहयोग रहेको छ । यसले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर गतिवधि सञ्चालन हुने आर्थिक करिडोर कार्यालयका कृषि अधिकृत सन्तोष थापाले बताए ।
ग्रामीण क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन तथा उत्पादित वस्तुको व्यवस्थापन एवं भण्डारणमा समेत सहयोग गर्ने कार्यालयले जनाएको छ । यो कार्यक्रम भोजपुरसँगै प्रदेश नं १ का पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङगा र उदयपुरमा सञ्चालन हुने करिडोर कार्यालयका प्रमुख हर्षहाङ राईले बतए ।
प्रमुख राईले भने, “मध्यपहाडी राजमार्गले छोएका स्थानीय तहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिनेछ, यस क्षेत्रमा उत्पादित वस्तु सङ्कलन केन्द्र स्थापना, भण्डारण, प्याकेजिङ गरी बजारसम्म पुर्याउनमा समेत सहयोग गर्नेछ ।” लक्षित क्षेत्रमा पर्ने स्थानीय तहसँगको सहकार्यमा सहकारी तथा किसान समूहमार्फत कार्यक्रम सञ्चालन गरिने कार्यालयले स्पष्ट पारेको छ ।
यस आर्थिक वर्षमा जिल्लाका चार स्थानीय तहका कृषि तथा पशु शाखा, किसान समूह र कृषि सहकारीहरुलाई आयोजना तर्जुमा तथा व्यावसायिक योजना तयारीसम्बन्धी क्षमता अभिवृद्धि तालिम, स्थानीयस्तरमा मूल्य शृङ्खला, पूर्वाधार निर्माणलगायतको कार्यक्रम हुने बताइएको छ । त्यसपछि छनोट तथा प्राथमिकतामा परेका किसान, कृषि समूह, कृषि सहकारीमार्फत कामको सुरुआत हुने जानकारी दिइएको छ ।
कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच २०७७ सालमा सम्झौता भएको कार्यालयले जनाएको छ । कार्यक्रमले कोभिड-१९ कारण उत्पन्न भएको असहज परिस्थितिका कारण ग्रामीण अर्थतन्त्रको पुनस्र्थापना तथा रोजगारीको अवसरको विकास गर्ने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।